२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३९०

धनलक्ष्मी गुफाले लोभ्याउँदै पर्यटक

अनिश तिवारी

सिन्धुपाल्चोक — वरीपरी फराकिलो जंगल, बीचमा चिटिक्कको मन्दिर, अनि त्यसको तल्लो भागमा लोभलाग्दो गुफा । कलात्मक शैलीमा कुदिएका ढोका, झ्याल, अनेकन आकृतिका प्वाल । कुनै ढुंगेयुगको कलात्मक दरबारझै लाग्छ बाह्रबिसे नगरपालिका–७ खोलेखर्कस्थित ओमपार्कको धनलक्ष्मी गुफा ।

धनलक्ष्मी गुफाले लोभ्याउँदै पर्यटक

बाह्रबिसे–७ का अध्यक्ष मीनबहादुर श्रेष्ठका अनुसार करिब एकहजार वर्षअघि तामाङ समुदायले पत्ता लगाएको गुफामा अनेक दैविक चमत्कार हुने विश्वास छ । गौरीशंकर, जुगल, गणेशसहित दर्जनौ तिब्बती हिमशृंखला देख्न सकिने धनलक्ष्मी गुफामा सेल्फी र टिकटक खिच्नेको लर्को लागेपछि स्थानीय दंग छन् । ‘यो कुनै प्राचीन दरबारझै लाग्छ, यसबारे धार्मिक विश्वास त छ नै । अन्य खोज अनुसन्धान हुन जरुरी छ,’ श्रेष्ठले भने ।

बाह्रबिसे बजारबाट करिब ३० किलोमिटरको सडक जोडिएको खोलेखर्कको जंगली क्षेत्रको गुफाबारे अनेक किस्सा छन् । मन्दिरक्षेत्रको कुनै वस्तु आफूसँग लैजान नमिल्ने, लगिएमा अनिष्ट हुने, मागेको कुरा पुरा हुने, त्यहाँ ध्यान गर्दा भव्य दरबारको दृश्य आउनेजस्ता धेरै जनश्रृति गुफाबारे सुन्न पाइन्छ । ओम पार्क नेपालका अगुवा बिना श्रेष्ठका अनुसार १३ करोडको लागतमा बन्न लागेको ओमपार्क वरिपरिको देवीदेवताको संरचना धमाधम ठड्याइँदै छ ।

‘३१ फिट अग्लो ओम पार्कको तल्लो संरचनाको काम धमाधम भइरहेको छ, यसलाई चाँडै अन्तिम रूप दिनेछौं,’ नेपालले भनिन् । यहाँ बनाइँदै गरेको संरचनाले पनि घुम्न आउनेलाई आकर्षित गरेको छ । ‘यहाँको सुन्दरता देखेर एकदमै दंग पर्‍यौं, ओमपार्क बनेपछि यहाँको रंग अर्कै हुन्छ,’ काठमाडौंको टोखाबाट घुम्न आएका व्यवसायी रामकुमार थापाले भने ।

प्रकाशित : माघ ६, २०७८ १०:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुख्खा मौसम सुरुभएसँगै डढेलो र आगलागी घटना व्यापक बढेका छन् । वर्षेनी हुने यस्ता घटनाबाट धेरै क्षति हुन नदिन के गर्नुपर्छ ?