जिल्ला प्रशासनभित्रै स्वास्थ्य मापदण्ड उल्लंघन- वाग्मती - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जिल्ला प्रशासनभित्रै स्वास्थ्य मापदण्ड उल्लंघन

आफैंले जारी गरेको आदेश उल्लंघन गर्दै प्रशासन
केदार शिवाकोटी

दोलखा — कोरोना संक्रमण तीव्र रुपमा फैलिरहँदा दोलखा जिल्ला प्रशासन कार्यालयमा भने नागरिकता लिनेहरूको बाक्लो भीड लागेको छ।

सरकारले २५ जनाभन्दा बढी उपस्थित हुन बन्देज गरेको छ । साथै सार्वजनिक स्थानमा सामाजिक दूरी कायम गर्न भनेको छ । तर बुधबार स्वास्थ्य मापदण्ड विपरीत दोलखा जिल्ला प्रशासनमा नागरिकता लिन ठूलो संख्यामा भीड देखिएको छ ।

कार्यालयमा नागरिकता वितरण हुने काउण्टरमा सेवाग्राहीको घुइँचो नै लागेको थियो । वरपर पनि भीड उस्तै थियो । टाढाबाट आएका अधिकांश सेवाग्रहीहरू यातायात छुट्ने चिन्ताले लाइन मिचेरै नागरिकताको काउण्टरमा भीडभाड गरिरहेका देखिन्थे ।

भित्रबाट कर्मचारीले भीड नगरी लाइनमा उभिन आग्रह गरे पनि सेवाग्रहीले पालना गरेका थिएनन् । प्रशासनले पनि नागरिकता वितरणका लागि कुनै मापदण्ड बनाएको थिएन ।

प्रशासनबाट दैनिक सयभन्दा बढी नयाँ र प्रतिलिपी नागरिकता वितरण भइरहेको नागरिकता फाँटका एक कर्मचारी बताउँछन् । ‘हामीले सेवा लिन आउनेलाई लाइनमा बस्न आग्रह गर्छौं,’ ती कर्मचारीले भने ‘सेवाग्रहीले नै भीड गरेर मापदण्ड पालना नगर्दा यस्तो देखिएको हो ।’

सेवाग्रहीहरूले भने प्रशासनले एक पटकमा कतिलाई नागरिकता वितरण गर्ने भन्ने नियम नबनाउँदा समस्या देखिएको गुनासो गरेका छन् । कोरोना संक्रमण बढ्दै गएको बेला भीड नियन्त्रण र व्यवस्थापन भने कतै देखिँदैनथ्यो ।

कतिपय सेवाग्रही राहदानीका लागि पनि आएका थिए । ‘कोराना बढेपछि लकडाउन हुन्छ भन्ने हल्ला छ । खुलेकै बेलामा बनाउँ भन्दै आएका हुँ,’ कार्यालयमा उपस्थित एक सेवाग्राहीले बताए । जिल्ला प्रशासन कार्यालयले पुस २८ गते कोरोना रोकथामका लागि भन्दै २५ जनाभन्दा बढी भेला हुन निषेध गरेको थियो । तैपनि प्रशासनले आफैंले जारी गरेको नियम आफैं उल्लंघन गरेको भन्दै केही सेवाग्राहीले समेत असन्तुष्टि व्यक्त गरेका थिए ।

प्रकाशित : माघ ५, २०७८ १९:४४
प्रतिक्रिया
पठाउनुहोस्

हेलिकोप्टरबाट सुत्केरीको उद्दार

कान्तिपुर संवाददाता

रुकुम पश्चिम — चौरजहारी अस्पतालमा उपचाररत एक सुत्केरीको हेलिकोप्टरद्वारा उद्धार गरिएको छ । जाजरकोटको कुशे गाउँपालिकाकी–५ की २५ वर्षीया सरस्वती रावललाई चौरजहारी अस्पतालबाट नेपाली सेनाको हेलिकोप्टरमार्फत मंगलबार प्रदेश अस्पताल सुर्खेत लगिएको हो ।

घरमै जुम्ल्याहा छोरालाई जन्म दिएकी रावललाई सुत्केरीपछि संक्रमण बढेपछि पुस २९ गते चौरजहारी अस्पतालमा भर्ना गरिएको थियो । शिशु जन्मेको १४ दिनपछि अस्पतालमा भर्ना गरिएकी सरस्वतीमा कडा खालको रक्तअल्पता भएकाले सुविधासम्पन्न अस्पताल लैजान भनेपछि सुर्खेत लगिएको उनका श्रीमान् धनबहादुर रावलले बताए ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत सुत्केरीको उद्धार भएको हो । घरमै रहेका जुम्ल्याहा छोराको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

प्रकाशित : माघ ५, २०७८ १९:३६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×