कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

बजार नपाएपछि गाईबस्तुलाई मूला

केदार सिवाकोटी

दोलखा — आलु रोप्ने बारी तयार पारेर मूला लिएर फर्केका पदमबहादुर तामाङ घिसिङ मूलाकै कारण एकाएक चर्चामा आए । आफ्नै बारीमा उमारेको १४ किलोको मूला बोकेर उकालो चढ्दै गरेको तस्बिर खिचेर छोरा मीनबहादुरले फेसबुकमा पोस्ट गरेपछि उनी चर्चामा आएका हुन् । 

बजार नपाएपछि गाईबस्तुलाई मूला

व्यावसायिक तरकारी खेती गर्दै आएका शैलुङ गाउँपालिका–१ ठेकलाघ्यूका पदमले मूला खेती गर्न थालेको धेरै वर्ष भयो । वर्षमा एक लाखसम्मको मूला राजधानीका विभिन्न स्थानमा बेच्ने गरेको बताउँछन् उनी । तर यसरी एकाएक चर्चामा आएको भने यो पहिलो पटक हो ।

मूला बोकेको तस्बिर सामाजिक सञ्जालबाट सार्वजनिक भएपछि उनलाई गाउँपालिकाका अध्यक्ष भरतप्रसाद दुलालले फोन गरेर पालिकामा निम्तोसमेत दिए । उनी दुई वटा १४ केजीका मूला बोकेर मंगलबार पालिकाको कार्यालयमा आए । उनी र छोरो बाबुलाललाई पालिकाले १४ केजीको मूला फलाएको भनेर नगदसहित सम्मान पनि गर्‍यो । त्यसका साथै सिँचाइका लागि उनले ३ सय मिटर पाइप पाए ।

तस्बिर सार्वजनिक गरेर चर्चामा आउनुभन्दा आफूले फलाएको मूला समयमै बजारमा बेच्न पाएको भए उत्साह बढ्ने उनको भनाइ छ । पदमको परिवारका सबै व्यावसायिक तरकारी खेती गर्छन् । तर उनीहरूलाई सधैं बजार लैजाने बेलामा सडकले सास्ती दिने गरेको छ । उनले बोकेका जस्ता मूला धेरै किसानका बारीमा भएको उनको भनाइ छ ।

‘ठेकलाका किसानका बारीमा यस्ता मूला धेरै छन्,’ उनले भने,’ ‘साउनमा बजारमा पुर्‍याउनुपर्ने मूला सडकका कारण बारीमै बडे, सलादलाई चाहिने मूला अहिले बिक्री हुँदैन ।’ बारीका मूला भैंसीलाई दिने गरेको उनले बताए । शैलुङकै दुर्गम भेग मानिने ताम्चेत दूधपोखरीका किसानलाई तरकारीजन्य उत्पादन बजार पुर्‍याउन सधैं सास्ती हुन्छ ।

साउनदेखि भदौसम्ममा मूला उखेलेर बजार नपुग्दा किसानका बारीमा ठूलाठूला मूला अहिले पनि बारीमा नै भएको उनले बताए । ‘ठूलो मूला उत्पादन गरेको भन्दै पुरस्कार पाएँ, हौसला मिल्यो,’ पदमले भने, ‘किसानका बारीमा फलेका मूला बजारमा लैजान सडक सुधार गरिदिए राम्रो हुन्थ्यो ।’ यो वर्ष पनि आधाभन्दा धेरै मूला बारीमै काठ पसेको उनले बताए ।

किसानले उत्पादन गरेको कृषिजन्य वस्तुलाई प्रोत्साहन गर्न पदम र उनका छोरालाई सम्मान गरेर हौसला दिने काम गरेको अध्यक्ष दुलालले बताए । उनी जस्तै अन्य किसानलाई पनि व्यावसायिक कृषिमा लाग्न पालिकाले यस्ता किसानका लागि सडक सुधारको योजना गरिरहेको उनको भनाइ छ ।

‘शैलुङमा रहेको वर्षौंदेखिको सडकको समस्या धेरै हदसम्म सुधार गरेका छौं,’ उनले भने, ‘सबै वडामा आउँदो वर्षबाट बाह्रै महिना सडकमा यातायात सञ्चालनमा आउनेछ ।’ शैलुङ गाउँपालिका जिल्लाकै सबैभन्दा बढी व्यावसायिक तरकारी खेती हुने क्षेत्र भएको उनले बताए । यो क्षेत्रबाट झन्डै एक अर्ब बढीको आलुसहित तरकारीजन्य वस्तु निकासी हुने गरेको छ । सडक सुधार नहुँदा बर्खा महिनामा उत्पादन भएको तरकारी निकासी हुन नसक्दा बारीमै कुहिने गरेको छ ।

प्रकाशित : माघ ५, २०७८ ०८:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?