कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

मदन भण्डारी राजमार्गको निर्माण कार्य अनिश्चितकालका लागि ठप्प

सिन्धुली — सडक संघर्ष समितिले मदन भण्डारी राजमार्गअन्तर्गत सिन्धुलीमाडीको धुराबजार-खट्टार सडक निर्माणको काम मंगलबारदेखि अनिश्चितकालका लागि ठप्प पारेको छ ।

मदन भण्डारी राजमार्गको निर्माण कार्य अनिश्चितकालका लागि ठप्प

माग पूरा नभएको भन्दै घर तथा जग्गाधनीहरूको सडक संघर्ष समितिले चेतावनीसहित सोमबार ब्यानर राखेर निर्माणस्थलमा प्रदर्शन गरेका थिए । काम बन्द हुँदा सडकको चौडाइ, रिटेनिङ्ग वाल, नाला लगायत काम रोकिएको छ ।

समितिले ११ मिटर सडक कायम गरी बाँकी घर तथा जग्गा सरकारी कामकाजका लागि मिल्ने गरी फुक्का गर्नुपर्ने, मदन भण्डारी राजमार्गको यो खण्डलाई मन्त्रिपरिषद्‌बाट वैकल्पिक सडक कायम गर्नुपर्ने, मागबमोजिमको चौडाइ कायम गरी राजपत्रमा प्रकाशित गर्नुपर्ने, सहरी सडक बनाउनुपर्ने, नागरिक हकअधिकार सुनिश्चित हुनुपर्ने लगायतका माग राखेको छ ।

मापदण्डको विषयलाई लिएर ५ वर्षदेखि रोकिएको धुराबजार-खट्टार ६ किलोमिटर सडक हाललाई ११ मिटर कायम गरी दुई महिनाअघिबाट निर्माण सुरु भएको थियो । स्थानीयले मदन भण्डारी राजमार्गको मापदण्ड २०७२ साल चैत २९ गते प्रकाशित राजपत्रअनुसार सडकको दायाँ बायाँ १५-१५ मिटर हुनुपर्नेमा बिनासूचना ११ मिटरमात्र लिएर काम सुरु गरेको जनाएका छन् ।

सहरी सडकको मापदण्ड घोषणा नै नगरी काम सुरु हुनाले घर तथा जग्गाधनीहरू सुकुम्बासी हुने भएकाले निकासका लागि सडक निर्माणको काम रोकिएको संघर्ष समितिका सचिव आकाश श्रेष्ठले बताए ।

मदन भण्डारी राजमार्गको धुराबजार पुछारदेखि धुराफाँट, मिलनचोक,लव्दाह, शिवालय, साङबाले हुँदै खट्टारसम्मको सडकलाई सहरी सडकको मापदण्डमा लैजान वा राजमार्गकै मापदण्ड कायम गरी घर तथा जग्गाको उचित मुआब्जा दिनुपर्ने संघर्ष समितिले जनाएको छ ।आफ्ना मागका विषयमा पूर्वमन्त्री एवं सांसद हरिबोल गजुरेललाई भेटेरै सुनाएको सचिव श्रेष्ठले बताए । निर्माणको काम नरोकी माग पूरा गर्नेतर्फ आफूले पहल लिने गजुरेलले बताएको सचिव श्रेष्ठले जनाए ।

प्रकाशित : माघ ४, २०७८ १५:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?