कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

भीमफेदी कारागारमा छैनन् स्वास्थ्यकर्मी

प्रताप विष्ट

हेटौंडा — मकवानपुरको भीमफेदीमा क्षेत्रीय कारागार स्थापना भएको एक दशकभन्दा बढी भइसक्दा पनि स्वास्थ्यकर्मी खटाइएको छैन् । सरकारले क्षेत्रीय कारागारमा चिकित्सकसहित २ जनाको दरबन्दी तोकिदिएको छ । तर अहिलेसम्म कारागारमा कोही पनि आएका छनन् ।

भीमफेदी कारागारमा छैनन् स्वास्थ्यकर्मी

‘स्वास्थ्यकर्मीको दरबन्दी छ, तर स्वास्थ्यकर्मी पठाएको छैन,’ जेलर मदन लामाले भने, ‘भीमफेदी कारागार स्वास्थ्यकर्मीविहीन छ ।’ २ वटा ब्लकमा कैदीबन्दीहरू राखिएका छन् । एउटा ब्लकमा कैद भोगिरहेका स्वास्थ्यकर्मीले क्लिनिक सञ्चालन गरेका छन् । अनमी उत्तीर्ण गरेकी ती बन्दीले जेलभित्र क्लिनिक खोलेकाले सामान्य बिरामीलाई सहज भएको जेलका नाइके सुयश ढकालले बताए ।

केही समयअघि कारागारका २३ वर्षीय कैदी एक्कासि बेहोस भए । बेहोस हुनेबित्तिकै उपचारका लागि भीमफेदी अस्पताल लगियो । भीमफेदीमा उपचार सम्भव नभएपछि हेटौंडा अस्पताल लैजाने क्रममा बाटोमै उनको ज्यान गयो । अस्पतालभित्रै स्वास्थ्यकर्मीको व्यवस्था भएको भए उनको ज्यान बच्ने जेलर ढकालको भनाइ छ । कारागारभित्र आकस्मिक केही घटना घट्यो, अथवा बिरामी भयो भने उपचारको व्यवस्था नभएकोमा कैदीबन्दीले गुनासो गर्दै आएका छन । कारागारमा स्वास्थ्यकर्मी मात्र होइन, एम्बुलेन्स पनि छैन । एक हजारको हाराहारीमा कैदीबन्दी भएको जेलमा एउटा पनि एम्बुलेन्स छैन ।

कारागारको एउटा बस कैदीबन्दीलाई अदालत ल्याउने पुर्‍याउन ठिक्क छ । सवारीसाधन नहुँदा बेलैमा उपचार नपाइने र अकालमा मृत्यु हुने गरेको १० वर्षदेखि भीमफेदी कारागारमा कैदी जीवन बिताइरहेका श्यामसिंह मोक्तानले बताए ।

त्यस्तै, कारागारका कैदीबन्दीको स्वास्थ्य उपचार सरकारले गर्ने भए पनि बजेट पर्याप्त छैन् । उपचारका लागि सरकारले वार्षिक रूपमा दिने ४ लाख रुपैयाँले एक हजार कैदीबन्दीको उपचार हुने अवस्था छैन । ‘४ लाख रुपैयाँले कैदीबन्दीलाई सिटामोल किन्न पनि पुग्दैन,’ जेलका एक कर्मचारीले भने । भीमफेदी कारागारमा एक पाकिस्तानी र ८० भारतीय छन् । उनीहरू सबै लागुऔषध मुद्दामा जेल परेका हुन् ।

प्रकाशित : माघ ४, २०७८ ०८:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?