कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

८५ वर्षे फुर्तिला वडाध्यक्ष

सबैको घरमा पुगेर समस्या सोध्दै बुझ्छन्, आफूले सकेको सहयोग पनि गर्छन्
अनिश तिवारी

सिन्धुपाल्चोक — सुकिलो दौरा सुरुवाल, कोट ज्याकेटमा सजिएको बुढ्यौली शरीर । शिरमा ढाका टोपी, पाउमा पुरानै शैलीको जुत्ता । जिल्लाकै बयोवृद्ध वडाध्यक्ष त्रिपुरासुन्दरी गाउँपालिका १ घोर्थलीका अध्यक्ष कर्णबहादुर खड्का अहिले ८५ वर्ष लागे ।

८५ वर्षे फुर्तिला वडाध्यक्ष

अरू युवा जनप्रतिनिधिझैं हिँड्न, बोल्न र काममा खट्न कम नदेखिने उनी अहिले जनताकै काममा खटिएका छन् । कोरोनाको नयाँ लहर र राजनीतिक दलको चुनावी होडबाजीबीच उनले वडाको विकासे कामलाई एकछिन पनि छाडेका छैनन् । झन्डै १५ हजार जनसंख्या भएको त्रिपुरासुन्दरी गाउँपालिकामा चोकटी, धुस्कुन, तौथली, पिस्कर र टेकानपुरसहित वडा १ मा साबिक घोथर्लीको ५ र ९ वडा समावेश छन् ।

तीभन्दा फरक र विकट देखिने भौगोलिक अवस्था बोकेको घोर्थलीभर ५ सय परिवार बस्छन् । उनी यी सबैको घरमा पुगेर आवश्यक समस्या सोध्दै बुझ्छन् । आफूले सकेको सहयोग पनि गर्छन् । ‘शरीर प्रेसर, पत्थरीजस्ता अनेक रोगको बाबजुद फुर्तिलो छु, परमात्माले यही काम गर्न अभिभारा दिए । जनताले चुने अब यो सेवा अवधि सकिनै लागेको अवस्था छ । तैपनि निःस्वार्थ भएर काममा खट्नु मेरो धर्म हो,’ वडाध्यक्ष खड्काले भने ।

केही दिनअघि प्रदेश सरकारको सुरुवाती ४० लाख बजेट सहयोगमा दुर्गम घोर्थली गाउँबाट दोलखाको प्रसिद्ध तीर्थस्थल कालिञ्चोक मन्दिरको तल्लो बजार कुरी बजारछेउ जोड्ने ३० किलोमिटरको सडक जोड्न हिउँ छिचोल्दै उनी त्यही पुगे । यही महिनाको पहिलो दिनदेखि सडकको ‘नयाँ ट्र्याक’ दोलखाको र त्रिपुरासुन्दरी गापाको सीमा भेगछेउ पुगे पनि कुरी बजारका केही स्थानीयले हातपात गर्दै अघि बढ्न नदिएपछि एक्स्काभेटर त्यही थन्किएको थियो । त्रिपुरा भौतिक पूर्वाधार अनुगमन समितिका संयोजक र त्रिपुरा ३ का अध्यक्ष शुकदेव रिसालसँग मिलेर उनले विवादलाई मिलाएर सडक जोडेपछि स्थानीय खुबै खुसी भए ।

वि.सं.१९९३ सालमा सामान्य कृषक परिवार जन्मिएका खड्काले सामान्य पढलेख जाने । भेडा गाई, बाख्राका गोठमा अझै पनि खटिरहेका उनी २०२२ सालमा तत्कालीन दुई महिना कार्यवाहक प्रधानपञ्च भए, केही समय वडासदस्य रहे, २०४९ सालमा नेपाली कांग्रेस पार्टीमा क्रियाशील सदस्य भएका थिए । त्यसयता सामाजिक क्षेत्रमा सक्रिय रहेका उनले स्थानीय निर्वाचनमा घोर्थलीमा वडाध्यक्षमा निर्वाचित भए । त्रिपुरा टुंगाथली गाउँकै पुर्ख्यौली घरमा बसिरहेका उनलाई अब बाँकी जीवन जनताकै सेवामा समर्पण गर्न मन छ । आफू अझैसम्म तरुनोझैं फिट रहनुमा आफ्नो स्वच्छ खानपानलाई ध्यान दिएको उनी दाबी गर्छन् ।

‘बिहान चार बजे उठ्छु, कृषिकर्ममा होमिन्छु, अरूले झैं चियापान, मकैको पिठो दही, दूध, मासु गाउँघरको मात्रै खान्छु । बजार र अन्यको जे पाए त्यही खाँदिन, फास्ट फुडले स्वास्थ्य सत्यनास गरिहाल्छ,’ उनले भने । जिल्लाभरका तीन नगर र नौ गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षदेखि वडाध्यक्ष, सदस्यमा भन्दा पनि कस्सिएर कोरोना संक्रमण रोकथाम सचेतना र अन्य विकासे काममा सक्रिय बयोवृद्ध खड्का उदाहरणीय व्यक्तित्व बनेको त्रिपुरासुन्दरी गाउँपालिकाका अगुवा भक्तध्वज बोहोराले बताए ।

‘गाउँपालिका अध्यक्ष र अन्य जनप्रतिनिधिले यस्तो बेला खुब सक्रियता देखाउनुपर्ने हो, तर त्रिपुरासुन्दरीमा खासै यस्तो देखिँदैन, तर वृद्ध भईकन वडाध्यक्षको सक्रियता प्रशंसनीय छ,’ उनले भने ।

प्रकाशित : माघ ३, २०७८ १३:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?