घोर्थली–कालिञ्चोक ३० किमि सडक निर्माण

सिन्धुपाल्चोक — सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका–१ को घोर्थली हुँदै दोलखाको प्रसिद्ध तीर्थस्थल कालिञ्चोक मन्दिर जोड्ने गरी ३० किलोमिटर सडक निर्माण भएको छ । प्रदेश सरकारको ४० लाख बजेटमा दुर्गम घोर्थली गाउँबाट कुरी बजार छेउसम्म सडक निर्माण भएको हो ।

पुस पहिलो साता सडकको ट्र्याक दोलखा र त्रिपुरासुन्दरीको सीमाभेगमा पुर्‍याइएको भए पनि कुरी बजारका केही स्थानीयको विरोधपछि काम रोकिएको थियो । आइतबार सडक निर्माण सकिएको हो ।

पर्यटकीय सडक जोडिएपछि त्रिपुरासुन्दरी र बाह्रबिसे नगरपालिकाका स्थानीयमा खुसी छाएको छ । घोर्थलीका ३० जना स्थानीय यही सडक हुँदै कालिञ्चोक दर्शन गर्न कुरी बजार पुगेका त्रिपुरासुन्दरी–१ का ८५ वर्षीय वडाध्यक्ष कर्णबहादुर खड्काले बताए । ‘सडकले पर्यटकीय प्रवर्द्धनमा टेवा पुग्ने विश्वास छ,’ उनले भने ।

त्रिपुरासुन्दरी–३ का अध्यक्ष र गाउँपालिकाका भौतिक पूर्वाधार अनुगमन समितिका संयोजक सुकदेव रिसालका अनुसार महिना दिनदेखि रोकिएको सडकको काम सुरु गर्न कुरीका स्थानीय प्रतिनिधि, होटल व्यवसायी, प्रहरीलगायतबीच छलफलपछि सहमति भएको थियो । उनले विवाद नहोस् भन्न दुवै जिल्लाको सीमासाँध स्पष्ट गर्न जिल्ला मालपोत र अन्य निकायमा अनुरोध गर्दै कागजी प्रक्रिया गरिएको उल्लेख गरे ।

जिल्लाकै चर्चित मन्दिर लट्टेश्वर महादेव, पिस्कर गाउँ, सहिद इलेविरे थामीको सालिकस्थल, थामी संग्रहालयजस्ता महत्त्वपूर्ण स्थानसँग कालिञ्चोक जोड्ने योजना रहेको त्रिपुरासुन्दरी गाउँपालिकाले जनाएको छ । ‘यो बाटो खाडीचौर हुँदै भन्दा धेरै कम दूरीमा छ । त्यसका साथै अनेक तीर्थस्थल र पर्यटकीय स्थान हुँदै कालिञ्चोक मन्दिर पुग्न सकिन्छ,’ उनले भने ।

प्रकाशित : माघ ३, २०७८ १२:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?