मास्कमा मनपरी

औषधि पसलहरूले चर्को मूल्य लिएर मास्क विक्री गरेपछि प्रशासनले नि:शुल्क वितरण गर्दै
सुवास विडारी

मकवानपुर — कोरोना संक्रमितको संख्या बढेसँगै मकवानपुर जिल्लामा रहेका मेडिकल तथा औषधि पसलहरूले मनोमानी रुपमा मास्कको मूल्य निर्धारण गर्न थालेका छन् ।

मास्कमा मनपरी

हाल हेटौंडाका मेडिकल तथा फार्मेसीहरूले एउटा सामान्य मेडिकल मास्क १० रुपैयाँसम्म विक्री वितरण गरिरहेको छन् । औषधि व्यवसायी संघ मकवानपुर अध्यक्ष सुधीर दाहालका अनुसार एउटा मेडिकल मास्कको खरिद मूल्य ३ रुपैयाँसम्म पर्छ । हाल हेटौंडाका व्यवसायीले एउटै मास्कमा ७ रुपैयाँ नाफा गरी विक्री वितरण गरिरहेको पाइएको छ ।

प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले मास्कमा व्यवसायीले बढी मूल्य लिएको विषयमा आफूलाई गुनासो आएको र बजार अनुगमान सुरु गर्ने बताए ।

‘हामीलाई गुनासो आएको छ । हामी बजार अनुगमनलाई तीव्रता दिनेछौं,’ उनले भने । व्यवसायीलाई मास्कको मूल्य बढी लिएको विषयमा सोध्न खोजे मेडिकल तथा फार्मेसी सञ्चालकले झर्केर जवाफ दिने गरेको गुनासो सर्वसाधरणले गर्दैआएका छन् ।

‘हेटौंडाको राप्तीरोडमा रहेका सबैजसो मेडिकल तथा फार्मेसीले मास्कलाई १० रुपैयाँ लिएर विक्री गरिरहेका छन्,’, हेटौंडा–११ की सुमित्रा ओझाले गुनसो गरिन् । हेटौंडा बजार क्षेत्रको फुटपाथमा समेत खुलेआम रुपमा अत्याधीक नाफा लिएर मनपरी मूल्यमा मास्क वितरण गरिरहेको छ ।

निःशुल्क माक्स बाँड्दै प्रशासन

जिल्ला प्रशासन कार्यालय मकवानपुरले भने कोभिड नियन्त्रणका लागि निःशुल्क मास्क वितरण सुरु गरेको छ । जिल्ला कोभिड नियन्त्रण समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले स्थानीय विभिन्न सामाजिक संघसंस्थाको सहयोगमा निःशुल्क मास्क वितरण सुरु गरेका हुन् ।

प्रजिअ पाण्डे र प्रहरी प्रमुख उपरीक्षक सुरेन्द्रबहादुर गुरुङ कोरोना संक्रमण नियन्त्रणका लागि सचेतनामूलक कार्यक्रम तथा मास्क वितरण अभियान गरिरहँदा मेडिकल व्यवसायीले भने जथाभावी मूल्यमा मास्क वितरण गरेको गुनासो आइरहेको छ ।

कोभिड नियन्त्रण गर्न हेटौंडाका विभिन्न दस स्थानमा निःशुल्क दैनिक रुपमा मास्क वितरण गरिने प्रजिअ पाण्डेले बताए । ‘हामी पैदलयात्री, यात्रु र मालवाहक सवारीमा सवारलाई समेत मास्क दिनेछौं,’ प्रजिअ पाण्डेले कोरोना संक्रमणबाट बच्न मास्कको अनिवार्य प्रयोग जरुरी रहेका कारण अभियान सञ्चालन गरिएको बताए ।

प्रकाशित : पुस ३०, २०७८ १५:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?