कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

सिन्धुलीका विद्यार्थीले पाएनन् कोरोनाविरुद्धको खोप

राजकुमार कार्की

सिन्धुली — सिन्धुली जिल्लामा १२ वर्षदेखि १७ वर्ष उमेर समूहका विद्यार्थीले अझै कोरोना भाइरसविरुद्धको खोप लगाउन पाएका छैनन् ।

सिन्धुलीका विद्यार्थीले पाएनन् कोरोनाविरुद्धको खोप

खोप नआएकाले लगाउने टुंगो नभएको स्वास्थ्य कार्यालयले जनाएको छ । कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोनको सम्भावित जोखिम रोक्न र १८ वर्षमुनिका बालबालिकालाई खोप लगाउन सरकारले माघ १५ गतेसम्म विद्यालय बन्द गरेको छ ।

१२ वर्षदेखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई नजिकको स्वास्थ्य संस्थामा खोप लगाउन निर्देशन दिए पनि सिन्धुलीमा अझै खोप नआएकाले समस्या भएको स्वास्थ्य कार्यालय प्रमुख जितेन्द्र साहले बताए । विभागमा सम्पर्क गर्दा खोप नभएको जानकारी आएको उनले सुनाए ।

पहिलो चरणमा खोप लगाउने उक्त उमेर समूहका विद्यार्थीको संख्या जिल्लामा ४० हजार ७ सय रहेको आकलन गरिएको छ । सबै सरकारी तथा निजी विद्यालयहरूबाट तथ्यांक संकलन गरी सबै तयारी पूरा भए पनि खोपको मात्रा नै नभएपछि अन्योल भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

कमलमाई नगरपालिका-२ भद्रकालीको निबुवाटार माविका प्रधानाध्यापक रमेश देवकोटा विद्यार्थीलाई खोपको सुनिश्चितता नभएको गुनासो गर्छन् । स्थानीय तहबाट १२ वर्षदेखि १७ वर्ष उमेर समूहका विद्यार्थी कति छन् भनेर तथ्यांक संकलन भइसकेको अवस्थामा खोप धमाधम लगाउन सके माघ १५ गतेपछि सजिलै विद्यालय खोल्न सकिने उनको धारणा छ ।

दुई नगरपालिका र सातवटा गाउँपालिका रहेको सिन्धुलीमा ५६३ वटा सामुदायिक विद्यालय र ५८ वटा संस्थागत विद्यालय छन् ।

सिन्धुलीमा पूर्ण मात्रा खोप लगाउनेको संख्या एक लाख ११ हजार ६६९ नाघेको छ । सक्रिय कोरोना संक्रमित तीन महिला र दुई पुरुष गरी पाँच जना रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । सबै संक्रमित होम आइसोलेसनमा बसेर उपचार गरिरहेको कार्यालय प्रमुख साहले बताए । यसअघिको दोस्रो लहरमा कोरोनाबाट ४५ जनाले ज्यान गुमाइसकेको कार्यालयले जनाएको छ ।

प्रकाशित : पुस २९, २०७८ १८:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?