गैंडा मुद्दाका फरार प्रतिवादी पक्राउ

रमेशकुमार पौडेल

चितवन — दुर्लभ एकसिंगे गैंडा मारेर खाग बेचबिखन गरेको अभियोगमा चितवन राष्ट्रिय निकुञ्जले मुद्दा दायर गरेका फरार व्यक्ति १० महिनापछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा तनहुँ शुक्लगण्डकी नगरपालिका–३ कोत्रेबजारका कमल गुरुङ रहेका छन् । 

गैंडा मुद्दाका फरार प्रतिवादी पक्राउ

निकुञ्जका सूचना अधिकारी रहेका सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीका अनुसार गुरुङलाई पुस २८ गते बुधबार बिहानपख करिब साढे १ बजे तनहुँ जिल्ला प्रहरी कार्यालयको सहयोगमा निकुञ्जबाट गएको टोलीले पक्राउ गरेको हो । उनी तनहुँकै आँबुखैरेनी गाउँपालिका–१ सत्रसयमा लुकी हिँडेको अवस्थामा पक्राउ परेको निकुञ्जका सूचना अधिकारी तिवारीले जानकारी दिए ।

पक्राउ परेकै दिन उनी मुद्दा दायर भएको नवलपुर जिल्ला अदालतको इजालसमा बयानका लागि पेस भएका थिए । गत वर्षको भदौ १६ र १८ गते चितवन निकुञ्जको पश्चिम क्षेत्र आइल्यान्डमा गोली पड्केको आवाज आएको थियो । निकुञ्जको टोली र नेपाली सेनाले खोजतलास गर्दा भदौ २१ मा एउटा गैंडा मृत भेटिएको थियो । सो गैंडालाई चोरी सिकारीका लागि मारेको प्रस्ट भए पनि खाग भने सुरक्षित नै राखिएको थियो । त्यसपछि गत वर्षको कात्तिक १९ मा निकुञ्जकै पश्चिम क्षेत्र मर्दीघोलमा गोली लागेर मरेका र खाग नभएका गैंडाका माउबच्चा भेटिएका थिए ।

गुरुङ सोही घटनामा संलग्न भएको भन्दै निकुञ्जले उनीविरुद्ध गत फागुनमा मुद्दा दायर गरेको थियो । मुद्दा दायर हुँदा सो घटनामा संलग्न भएको आरोप लागेका १३ जनामध्ये ६ जनामात्रै समातिएका थिए । पछि विभिन्न मितिमा थप अभियुक्तहरु समातिएका हुन् । १३ जनामध्ये गुरुङसमेत गरेर ११ जना पक्राउ परेको र दुईजना व्यक्तिहरु अझै फरार नै रहेको सूचना अधिकारी तिवारीले बताए ।

निकुञ्जका अर्का सहायक संरक्षण अधिकृत राजु घिमिरेले गुरुङ खाग कारोबारी रहेको बताए । ‘गैंडा मारेकाहरुले झिकेको खाग लगेर कमल गुरुङले काठमाडौंका कारोबारीहरुलाई दिने गरेको खुलेको छ । उनी कारोबारमा संलग्न व्यक्ति हुन् भन्ने हाम्रो अनुसन्धानले देखाउँछ’, सहायक संरक्षण अधिकृत घिमिरेले भने । गैंडाको नाकमाथि हुने सिंग जस्तो वस्तु खागका लागि नै तस्करहरुले गैंडा मार्ने गर्छन् । गैंडा मारेमा वा यसको अंग खागको कारोबार गरेको प्रमाणित भएमा १० लाख रुपैयाँ जरिवाना र १५ वर्ष कैद हुने कानुनी व्यवस्था छ ।

प्रकाशित : पुस २९, २०७८ १५:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?