नुवाकोटमा स्मार्ट लकडाउन- वाग्मती - कान्तिपुर समाचार

नुवाकोटमा स्मार्ट लकडाउन

कान्तिपुर संवाददाता

नुवाकोट — कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोन बढेसँगै जिल्लामा पनि स्मार्ट लकडाउन लागू गरिएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिको बैठकले सिफारिसका आधारमा प्रशासनले ४ बुँदे अनुरोधसहित स्मार्ट लकडाउन जारी गरेको विज्ञप्तिमार्फत जनाएको हो ।

प्रशासनले २५ जनाभन्दा बढी भौतिक रूपमा उपस्थित भई गरिने सबै प्रकारका तालिम, गोष्ठी, सेमिनार, सभा, जुलुस, सम्मेलन, प्रदर्शन, भेला, जात्रा, महोत्सवमा रोक लगाएको छ ।

माघ ७ देखि सार्वजनिक स्थलहरु कार्यालय, होटल, रेस्टुरेन्ट, सिनेमा हल प्रवेश गर्दा र सार्वजनिक सेवा प्राप्तिका लागि कार्यालय प्रवेश गर्दा कोभिड खोपको कार्य अनिवार्य रूपमा देखाउन भनिएको छ । स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्न र उद्योग, कलकारखाना, व्यापार, व्यवसाय, बैंक तथा वित्तीय संस्थाहरु तथा यातायातका साधनहरु सञ्चालन गर्दा स्वाथ्य सुरक्षाका निर्धारित मापदण्ड अनिवार्य लागू निर्देशन दिइएको छ ।

प्रकाशित : पुस २८, २०७८ २१:५९
प्रतिक्रिया
पठाउनुहोस्

एमाले कञ्चनपुर अध्यक्षमा विष्ट निर्वाचित

रासस

कञ्चनपुर — नेकपा (एमाले) कञ्चनपुरको आठौं जिल्ला अधिवेशनबाट सुरेन्द्र विष्ट प्यानलसहित निर्वाचित भएका छन् । बुधबार साँझ आएको मतपरिणामअनुसार अध्यक्ष पदमा भीमदत्त नगरपालिकाका नगरप्रमुखसमेत रहेका विष्ट २८१ मत प्राप्त गरी निर्वाचित भएका हुन् ।

उनका प्रतिद्वन्द्वी वीरबहादुर थापा (पातल)ले १८३ मत प्राप्त गरेका छन् । त्यस्तै उपाध्यक्ष पदमा २५४ मत ल्याउँदै लक्ष्मी बुढा निर्वाचित भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी महेशप्रसाद पन्तले २०५ मत प्राप्त गरेका छन् । सचिवमा पनि अध्यक्ष विष्ट प्यानलकै पल्लवराज भट्ट निर्वाचित भएका छन् । भट्टले अर्का प्रतिद्वन्द्वी अशोककुमार चन्दलाई सात मतले पराजित गरेका छन् । सचिवमा निर्वाचित भट्टले २३३ मत प्राप्त गरे भने पराजित चन्दले २२६ मत पाएका छन् ।

यस्तै उपसचिवमा कर्णबहादुर चन्द र फैरु तामाङ निर्वाचित भए । चन्दले ३४७ मत र तामाङले २९६ मत प्राप्त गरेका छन् । उपसचिव पदका अर्का प्रत्यासी शेरबहादुर चन्दले १९७ मत प्राप्त गरेका छन् । जिल्ला कमिटीको सहमतिमै नेतृत्व चयन गर्न यहाँ प्रयास गरिए पनि अन्तत: निर्वाचन भएको थियो । निर्वाचनमा जम्मा ४७० मत खसेको निर्वाचन समितिले जनाएको छ ।

नेकपा एमालेका अध्यक्ष केपी ओलीले गत शुक्रबार जिल्ला अधिवेशन उद्घाटन गरेका थिए । अधिकांश जिल्लामा सहमतिका आधारमा नै नेतृत्व चयन भएको छ ।

प्रकाशित : पुस २८, २०७८ २१:५८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×