उत्तरगयामा श्राद्ध गर्नेको भीड

रसुवा — रसुवा र नुवाकोट जिल्लाको सिमानामा पर्ने बेत्रावतीस्थित उत्तरगया धाममा आइतबार बिहानैदेखि पुसे औंसी श्राद्ध गर्ने भक्तजनहरुको भीड लागेको छ ।

उत्तरगयामा श्राद्ध गर्नेको भीड

त्रिशुली र फलाखु खोलाको संगमस्थल रहेको यस क्षेत्रमा पुसे औंसीका दिन बर्सेनि हजारौं भक्तजनहरु दिवंगत भएका आफ्ना पितृका नाममा श्राद्ध, दान, तर्पण गर्दछन् ।

उत्तरगया क्षेत्रमा टाढा–टाढादेखि श्राद्ध गर्न आएका हजारौं भक्तजनहरुको भीड लागेको छ । बाबु–आमा तथा आफन्तको नाममा आइतबार बिहानैदेखि हजारौं भक्तजनहरुले नदी किनारमा श्राद्ध गरिरहेका छन् । पितृको नाममा श्राद्ध गर्ने भक्तजनहरु बर्सेनि बढ्दै गइरहेको छ ।


भारतको गया जान नसकेका श्रद्धालुहरु नेपालको यही ठाउँमा आई श्राद्ध गर्ने गर्छन् । यस स्थानमा आइ परलोक भएका आफ्ना बाबु आमाको नाममा श्राद्ध गरेमा २० पुस्ता अघिका पितृ मोक्ष्यप्राप्ति गरि स्वर्ग जाने जनविश्वास रही आएको बेत्रावतीका स्थानिय मुक्तिनाथ भटराइले बताए ।

पितृको नाममा हिन्दू धर्मावलम्बीहरुले श्राद्ध, दान, तर्पण गर्ने गर्छन् । स्कन्द पुराणको हिमवत् खण्डमा उल्लेख भए अनुसार उत्तरगया क्षेत्रमा त्रिशुली नदी र देवी गंगा नदी बगेकाले उक्त पवित्र ठाउंलाई बेत्रगंगा भनेर मानिएको छ । यस क्षेत्र आइ श्राद्ध गरेमा पितृहरु उद्धार भई स्वर्ग जाने विश्वास रहेको छ ।


सत्ययुगमा देवता र दानवले समुन्द्र मन्थन गर्दा निस्केको कालकुट विषले संसार भष्म पार्न लागेपछि भगवान् महादेवले कालकुट नामक विष पिएर त्यसको डाहा मार्न यही ठाउँमा बेतको लौरोले खोस्री बेत्रगंगा (तप्त नदी) उत्पन्न गराई सो नदीको पानीले शीतलता पाई उत्तरापन्थ गोसाइकुण्ड गएको धार्मिक किम्वदन्ती रहेको स्थानीय ओमप्रकाश घिमिरले बताए ।


यहाँ भारतका विभिन्न प्रान्तदेखि, काठमाडौं, धादिङ, काभ्रे, चित्तवन, कास्की, नवलपरासी, मकवानपुर, गोरखा, पर्सा लगायतका विभिन्न जिल्लाबाट बर्सेनि हजारौं भक्तजनहरु श्राद्ध गर्न आउने गरेका छन् । गोसाईंकुण्ड युवा क्लब र उत्तरगया युनिक युव क्लबले सरसफाई, पार्किङ, नदि किनारमा डोरी लगाउने, अस्थायी पुल बनाउने तथा भक्तजनको सुविधाका लागि मेला व्यवस्थापन गर्ने काम गरेको स्थानीय गणेश श्रेष्ठले बताए ।

प्रकाशित : पुस १८, २०७८ १३:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?