उचित ज्याला माग गर्दै सुनकोसी-मरिण डाइभर्सनका कामदार आन्दोलित- वाग्मती - कान्तिपुर समाचार

उचित ज्याला माग गर्दै सुनकोसी-मरिण डाइभर्सनका कामदार आन्दोलित

राजकुमार कार्की

सिन्धुली — राष्ट्रिय गौरवको सुनकोसी-मरिण डाइभर्सन बहुउद्देश्यिय आयोजनाको सुरुङ मार्ग निर्माणमा संलग्न मजदुरहरू थप सेवा सुविधा माग गर्दै काम रोकेर आन्दोलनमा उत्रिएका छन् ।

पूर्वाधार निर्माणमा संलग्न मजदुरहरू जिल्ला दररेट अनुसारको पारिश्रमिक र अन्य सुविधा माग गर्दै काम रोकेर आन्दोलनमा उत्रिएका हुन् ।

सिन्धुलीको कमलामाई नगरपालिका–२ कुसुमटारमा दुई महिना अघिदेखि सुरुङ मार्ग निर्माणको ठेक्का लिएको चिनियाँ कम्पनी चाइना ओभरसिज इन्जिनियरिङ (कोभेक)को कार्यालय, कर्मचारीको आवास गृह लगायतको भौतिक पूर्वाधार निर्माणको काम भइरहेको छ ।

जिल्ला दररेट अनुसार दैनिक आठ घण्टा काम गर्दा ज्याला एकहजार रुपैयाँ रहे पनि आयोजनाले ७३५ मात्र दिने गरेको मजदुरहरूको गुनासो छ । आयोजनमा काम गर्दैआएका मिस्त्री (दक्ष कामदार) पप्पु भुजेलले आफूहरूको माग पूरा नभएसम्म काम रोकिराख्ने चेतावनी दिएका छन् ।

आयोजनामा अहिले मजदुर (लेबर) ११० जना, मिस्त्री ५० जना, मेकानिकल आठ जना, अपरेटर २० जना, वेल्डर सात जना, दोभासे चार जना, कार्यालयका अन्य कामदार र सवारी चालक गरी ३२० जना मजदुर कार्यरत रहेको चाइना ओभरसिज इन्जिनियरिङले जनाएको छ ।

आन्दोलित मजदुरहरूले आयोजनाको निर्माण कम्पनीलाई ज्ञापनपत्र बुझाउँदै जिल्ला दररेट कायम हुनुपर्ने, ओभर टाइम एक घण्टा काम गरेपछि डेढ घण्टाको तलब पाउनुपर्ने, शनिबार पनि ओभर टाइम हुनुपर्ने, चाडपर्व, सरकारी बिदाको ओभर टाइम हुनुपर्ने, दसैं बोनस् पाउनुपर्ने, बिरामी हुँदा उपचारसहित नियमित हाजिरी हुनुपर्ने लगायत माग गरेका छन् ।

सुनकोसी मरिण डाइभर्सन आयोजनाका इन्जिनियर रवी शाक्यले समस्याका विषयमा ठेकेदार कम्पनी र मजदुरबीच छलफल भइरहेको र एक/दुई दिनमै समाधान निस्किने बताए । उनका अनुसार आयोजनामा हाल क्याम्प व्यवस्थापन लगायत पूर्वाधार निर्माणको काम भइरहेको छ । अब अप्रिल महिनामा टनेल बोरिङ मेसिल (टीबीएम) ल्याएर सुरुङ खन्ने तयारी भइरहेको छ ।

बहुउद्देश्यीय सो आयोजनाको मुख्य उद्देश्य विद्युत उत्पादनसँगै तराईका जिल्ला बारा, रौतहट, धनुषा, महोत्तरी र सर्लाही जिल्लामा एक लाख २२ हजार हेक्टर क्षेत्रमा सिञ्चाई सुविधा पुर्‍याउने रहेको छ । आयोजना निर्माण गर्न कूल ४६ अर्ब १९ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको आयोजनाले जनाएको छ ।

प्रकाशित : पुस १२, २०७८ १७:१९
प्रतिक्रिया
पठाउनुहोस्

पत्रकारलाई कान्तिपुर सिटी कलेजमा छात्रवृत्ति  

पत्रकार महासंघ प्रतिष्ठान प्रदेश र कलेजबीच सम्झौता
कान्तिपुर संवाददाता

काठमाडौँ — आमसञ्चार र पत्रकारितामा स्नातकोत्तर अध्ययन गर्दा कान्तिपुर सिटी कलेजमा छात्रवृत्ति पाइने भएको छ। नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिसँगको सहकार्यमा कलेजले छात्रवृत्ति दिने भएको हो।

महासंघको प्रतिष्ठान प्रदेश समितिले गरेको अनुरोधलाई स्वीकार गर्दै कलेजले ५ जना विद्यार्थीलाई सहुलियत छात्रवृत्ति दिने निर्णय गरेको छ । यस विषयमा प्रतिष्ठान समिति र कलेजबीच सोमबार औपचारिक सम्झौता भएको छ । कलेजका पत्रकारिता विभाग प्रमुख राजीव तिमिल्सिना र महासंघका अध्यक्ष बालकृष्ण अधिकारीले सम्झौता पत्रमा हस्तारक्षर गर्दै आदान प्रदान गरे । यो सम्झौता तीन वर्षसम्म लागू हुनेछ ।

सम्झौता अनुसार पत्रकार महासंघको प्रतिष्ठान प्रदेश समितिको सिफारिसमा कलेजको सम्पूर्ण अध्ययन शुल्कको रकम र पूर्वाञ्चल विश्वविद्यालयमा लाग्ने सम्पूर्ण शुल्कको रकममा तीन जनाले ६५ प्रतिशत र दुई जनाले ५० प्रतिशत छुट पाउने महासंघका महासचिव रामकुमार शाहीले बताए । उनका अनुसार अब छिट्टै प्रदेश समितिको बैठकमार्फत् कार्यविधि तय गरेर आमसञ्चार र पत्रकारितामा स्नातकोत्तर गर्न चाहने प्रतिष्ठान आaद्ध पत्रकारहरुबाट आवेदन माग गरिनेछ । आवेदन प्राप्त भएपछि आर्थिक अवस्था कमजोर भएका र जेहेन्दार पत्रकारलाई अध्ययनका लागि कलेजमा सिफारिस गरिने महासचिव शाहीले बताए ।

सम्झौता आदानप्रदान कार्यक्रममा महासंघ प्रतिष्ठान प्रदेशका अध्यक्ष अधिकारीले आफू कान्तिपुर सिटी कलेजको पूर्वविद्यार्थी भएको स्मरण गरे । उनले आफूले अध्ययन गरेको कलेजसँग सहकार्य गरेर पत्रकारिता पढ्न चाहनेहरुका लागि सहुलियतको व्यवस्था गर्न पाएको खुशी व्यक्त गरे ।

‘यसले पत्रकारिता पढ्ने चाहना भएका तर, आर्थिक अवस्था कमजोर भएर पढ्न नपाएका पत्रकारहरुका लागि ठूलो सहयोग पुग्ने भन्ने विश्वास छ,’ अधिकारीले भने, ‘आगामी दिनमा पत्रकारितासँग सम्बन्धित अन्य कामका लागि पनि केलजसँग समन्वय र सहकार्य हुनेछ भन्नेमा आशावादी छु।’

कार्यक्रममा कलेजका निर्देशक मिना खत्रीले महासंघ प्रतिष्ठान प्रदेश समितिसँग सहकार्य गर्न पाउँदा खुशी लागेको बताइन् । उनले आगामी दिनमा पनि विभिन्न कार्यक्रमका लागि प्रतिष्ठान प्रदेशसँग सहकार्य गर्न इच्छुक रहेको बताइन् । कलेजका प्रिन्सिपल राजु कट्टेलले महासंघसँगको सहकार्यले सकारात्मक सन्देश प्रवाह हुने विश्वास व्यक्त गरे । उनले पत्रकारहरुलाई आईसीटी तालिमका लागि पनि महासंघसँग सहकार्य गरेर अघि बढ्ने बताए ।

कार्यक्रममा सम्झौता कार्यक्रममा महासंघ प्रतिष्ठान प्रदेश समितिका उपाध्यक्ष वीरेन्द्र ओली, कोषाध्यक्ष केशव बोहरा र सचिव नरेन्द्र मानन्धर समेत उपस्थित थिए ।

प्रकाशित : पुस १२, २०७८ १७:१७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×