कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

कहाँ हराउँछन् उनीहरू ?

दोलखामा ३३ र मकवानपुरमा १२ जना महिला तथा बालबालिका बेपत्ता

हेटौंडा, दोलखा — मकवानपुरको सुदूरपूर्वमा पर्ने गाउँ धियालकी २४ वर्षीया सविना थिङ र वाग्मती गाउँपालिका–२ की २४ वर्षीया जुनेली थापा ‘हेटौंडा घुम्न’ हिँडेको दुई महिना बित्न लागिसक्यो तर घर फर्केका छैनन् । दुवैका चार वर्ष पुग्दै गरेका एक/एक छोरी छन् । दुवैका पति रोजगारीका लागि मलेसिया गएको दुई वर्ष भएको छ ।

कहाँ हराउँछन् उनीहरू ?

अचानक बुहारी घरबाट बेपत्ता भएको भन्दै दुवैका ससुराले खोजीका लागि जिल्ला प्रहरीमा तीन साताअघि निवेदन दिएका थिए । तर अहिलेसम्म उनीहरूको कुनै खोजखबर छैन । प्रहरी, आफन्त सबैको एउटै प्रश्न छ– आखिर कहाँ गए उनीहरू ?

दूरदराजका बस्तीमा पछिल्लो समय महिला र बालबालिका अचानकसँग हराउन थालेको प्रहरी तथ्यांकले देखाउँछ । पाँच महिनायता दोलखामा ३३ र मकवानपुरमा १२ जना महिला तथा बालबालिका हराएको उजुरी प्रहरीमा दर्ता भएको छ । यसरी हराउनेमा भीमफेदी भैंसेकी २४ वर्षीया विवाहित सविता रुवाली पनि एक हुन् । दुई महिनादेखि हराएकी उनलाई उनका पति गणेश विक विदेशबाट फर्केको दिनदेखि खोजबिनमा जुटिरहेका छन् । मलेसियाबाट गणेश काठमाडौं ओर्लेकै दिन सविता बेपत्ता भएकी हुन् । सासूससुरालाई काठमाडौंमा पति लिन जान लागेको भनेर उनी निस्केकी थिइन् । तर उनले न पति भेटिन् न घर सम्झेर आइन् । दुई र चार वर्षका दुई छोरालाई छाडेर उनी बेपत्ता भएकी हुन् ।

दोलखामा चालु आवको ५ महिनामा महिला र बालबालिका गरेर १ सय ११ जना बेपत्ता भएका थिए । तीमध्ये विवाहित ८ महिलासहित १२ जना फेला परेका छैनन् । ‘अचेल महिला र बालबालिका बेपत्ता हुने क्रम बढ्दो छ,’ बालबालिका क्षेत्रमा काम गर्दै आएका प्रकाश खतिवडाले भने, ‘कसले उनीहरूलाई बेपत्ता पार्छन् पत्ता लगाउन मुस्किल परेको छ ।’

मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले बेपत्ता भनिएकाहरू घरमा आइसके पनि प्रहरीमा जानकारी नदिएका कारण हराएकै देखिएको हुन सक्ने बताए । सामाजिक अभियन्ताहरूले भने मानव बेचबिखनको जालो बढेकाले बेपत्ता हुने घटनामा वृद्धि भएको आशंका गरेका छन् । ‘मकवानपुरबाट महिला र बालबालिकालाई विभिन्न प्रलोभनमा पारेर अवैधानिक ढंगले विदेशमा लगेर बिक्री गर्ने गरेका छन्,’ सिविन हेल्पलाइनका प्रमुख झविन्द्र ज्ञवालीले भने, ‘पैसाको लोभमा परेर महिला र बालबालिका दलालको हातमा पर्ने गरेका छन् । वैदेशिक रोजगारी र बहुविवाहका कारण उनीहरू हराउने गरेका हुन् ।’

दोलखामा चार महिनायता प्रहरीमा २१ महिला र ११ बालबालिकासहित ३३ जना हराएको निवेदन परेको छ । बढ्दो घरेलु हिंसा र प्रलोभनमा परेर महिला र बालबालिका घर छोडेर हिँड्ने गरेको प्रहरी अनुसन्धानले देखाएको छ । सानै उमेरमा प्रेमविवाह गर्न बालिकाहरूले घर छोड्ने गरेको दोखलाका प्रहरी नायब उपरीक्षक भेषराज रिजालले बताए । ‘सानै उमेर घरबाट भागेपछि खोजी दिन धेरै अभिभावकले हामीलाई निवेदन दिएका छन्,’ उनले भने ।

सामाजिक सञ्जालमा कुराकानी गरेर घर छाडेर हिँड्ने बालबालिका पनि बढेको उनको भनाइ छ । विद्यालय उमेरका बालबालिकालाई प्रलोभनमा पारेर लैजाने गरेको समेत प्रहरीको प्रतिवेदनमा उल्लेख छ तर थोरै मात्र फेला पर्ने गरेका छन् ।

घरेलु हिंसा र प्रलोभन नै महिला, बालबालिका हराउने मुख्य कारण रहेको अधिकारकर्मी सिर्जना कार्कीले बताइन् । ‘प्रहरीले उजुरीका आधारमा बालविवाह रोक्ने प्रयास गरेको छ,’ उनले भनिन्, ‘तर ग्रामीण भेगमा विद्यालय जाने उमेरका बालिकालाई प्रलोभनमा पार्ने व्यक्तिमाथि निगरानी नगरेका कारण बालिका हराउने क्रम नरोकिएको हो ।’ गरिब परिवारका बालिकालाई सहरमा रोजगारी लगाइदिने भन्दै लैजाने गरेको उनले बताइन् । ‘यस्ता घटना प्रहरीमा आएकै हुँदैन, पछि हिंसाको सिकार भएपछि मात्रै घटना खुल्ने गरेको छ,’ उनले भनिन् ।

प्रकाशित : पुस ८, २०७८ ०९:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?