जंगली हात्तीले घर भत्काएपछि पीडितलाई बासको चिन्ता

सिन्धुली — दुधौली नगरपालिका–११ माथिल्लो पत्रिंगाका बासिन्दाहरूको घर जंगली हात्तीले भत्काएपछि बासस्थानको खोजीमा भौँतारिनु परेको छ । तीन वटा हात्तीले यहाँका १४ वटा घर भत्काएपछि ती परिवारलाई तत्काल बसोबासको बन्दोबस्त मिलेको छैन ।

जंगली हात्तीले घर भत्काएपछि पीडितलाई बासको चिन्ता

अहिले पनि हात्ती बस्ती नजिकै खुररिया जंगलमा रहेकाले स्थानीयहरू त्रसित छन् । हात्तीको समूहले बस्तीमा पसेर घर भत्काउनुका साथै ढुकुटीमा भण्डारण गरी राखेको धान, मकै लगायत अन्नबाली नष्ट गरेको थियो ।

कृष्ण कुमर, रानीवती धामी, पदमबहादुर परियार, ईनर धामी, नथुनी धामी, दीपक परियार, टेकबहादुर दमाई, टंके दमाई र मेघबहादुर परियार लगायतको घर तथा अन्नबालीमा क्षति पुर्‍याएको छ ।

फुसको छाना रहेको काठको घर भत्काउनुका साथै अन्नपात र लत्ताकपडामा क्षति भएकापछि गाउँलेहरू विचल्ली भएको पीडित कृष्ण कुमरले बताए । 'हात्ती आएको थाहा पाएपछि मध्यरातमा जहान केटाकेटी लिएर छिमेकीको घरमा शरण लिई ज्यान बचाइयो,' उनले भने, ‘धान र मकै सखाप पारेछ, घर भत्काएपछि भएका भाँडावर्तन र लत्ताकपडा सबै पुरिएको छ ।’

हात्तीको आक्रमणबाट घर भत्किएपछि चिसोमा बस्ने बन्दोबस्त नमिलेको पनि पीडितको गुनासो छ ।

दुधौलीको मुसहर बस्तीमा जंगली हात्तीको आक्रमणबाट १४ वटा घर भत्किए

यद्यपि घटनापछि दुधौली नगरपालिकाले खाद्यान्ह वितरण गर्नुका साथै रेडक्रस सिन्धुलीबाट भाँडा, त्रिपाल र लत्ताकपडा शनिबार उपलब्ध गराइएको थियो । रेडक्रसका सभापति अशोक श्रेष्ठका अनुसार तत्काल १४ परिवारलाई घर तथा अन्नपातको जोहो गर्नका लागि दाता गुहारिएको छ । साथै हात्तीलाई धपाउनुका साथै पीडितहरूलाई बसोबासको व्यवस्था गराउनुपर्ने श्रेष्ठले बताए ।

बस्तीमा हात्ती बसेपछि शुक्रबार राति कोही पनि नसुतेर रातभर जाग्राम बसेको स्थानीय शिक्षक रामकुमार कार्कीले बताएका छन् । 'घर भत्काएर बास छैन, अर्कोतिर फेरि हात्ती आउने डर उत्तिकै छ,' उनले भने, ‘जाडोमा विपन्नको घरबास उठेपछि बिचल्ली भएको छ ।'

दुधौली नगरपालिकाका नगरप्रमुख घनश्याम राउतले प्रहरी, नगर प्रहरी सबै मिलेर बस्ती नजिक धुनी जगाएर हात्ती नआउने अस्थायी वातावरण मिलाएको बताए । दुधौली नगरपालिकामा बर्सेनि जंगली हात्तीले आतंक मच्चाउँदैआएको स्थानीयको गुनासो छ ।

डिभिजन वन कार्यालय सिन्धुलीले पर्सा राष्ट्रिय निकुञ्जबाट कोसीटप्पु राष्ट्रिय निकुञ्जमा बसाइ जाने क्रममा ती हात्ती आएको हुनसक्ने जनाएको छ । गत वर्ष पनि हात्तीले दुधौली नगरपालिकाको विभिन्न वडामा दुई दर्जन बढी घर भत्काएर क्षति पुर्‍याएको थियो ।

प्रकाशित : पुस ३, २०७८ २१:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?