कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

हजार वर्ष पुरानो त्रिपुरासुन्दरी मन्दिरबाट प्राचीन मूर्ति चोरी

अनिश तिवारी

सिन्धुपाल्चोक — जिल्लाकै पुरानो र ऐतिहासिक नगरी त्रिपुरासुन्दरी गाउँपालिकाको तौथली बजारस्थित एक हजार वर्ष पुरानो त्रिपुरासुन्दरी देवीको मन्दिरबाट मूर्ति र कलश चोरी भएको छ ।

हजार वर्ष पुरानो त्रिपुरासुन्दरी मन्दिरबाट प्राचीन मूर्ति चोरी

त्रिपुरासुन्दरी गाउँपालिका वडा ५ तौथलीका अध्यक्ष विष्णुभक्त श्रेष्ठका अनुसार करिब सय वर्ष पुरानो भगवतीको मूर्ति र कलश साथै १० वर्ष पुरानो विष्णूको दुईवटा कलात्मक मूर्ति चोरी भएको हो । साथै तीनवटा तामाको कलश पनि चोरी भएको बताइएको छ ।

मंगलबार करिब २ बजे मध्यरातमा दुईजना अन्जान युवक तीव्र वेगमा मोटरसाइकलमा मन्दिरमा आएको स्थानीयहरूले देखेको बताएका छन् । 'बेलुकी बालेको बत्ती निभाउन जाँदा पूजापाठ सुरु गर्दा मन्दिरको ढोका खुला देखेको र हेर्दा मूर्ति कलश नरहेको स्थानीयहरूले बताएका छन् ।

‘प्राचीन महत्व बोकेका दुईवटा मूर्ति ढलोट र एकमा सुनको मन्त्र र जलप लगाइएको थियो, मूर्ति हराएपछि स्थानीय दुखी भएका छन्, स्थानीय र प्रहरी मिलेर चोरको सबैतिर खोजी भइरहेको छ,’ उनले भने । त्रिपुरासुन्दरी देवी मन्दिरबाट मूर्ति कलशसँगै स्थानीयको तीनवटा मोटरसाइकल चोरी भएको र त्यसमध्ये तल्लो बजारछेउमा एउटा मोटरसाइकल फेला परेको वडाध्यक्ष श्रेष्ठले बताए ।

भूकम्प र पराकम्पनले मन्दिर भत्काएपछि टहराको मन्दिर बनाएर महादेवीको पुरानो मूर्ति, गरगहना सुरक्षित राखिँदैआएको थियो । आहिले पुरातत्व विभागले प्राचीन ललिता त्रिपुरासुन्दरी महादेवीको मन्दिर ठड्याउँदैछ । हनुमान ढोका दिगु तलेजुका सात छोरीमध्ये कान्छी छोरी मानिने ललित त्रिपुरासुन्दरी देवीको रोचक जात्रा, पूजा र बली फूलपातीबाट सुरु हुन्छ ।

‘कलशको विधिपूर्वक पूजापाठ सकेपछि मात्रै यहाँ फूलपाती भित्र्याउन मिल्छ, जात्रा पूजा हुन्छ, त्यही महत्वपूर्ण प्राचीन कलश हराएपछि स्थानीयको श्रद्धामनमा चोट लागेको छ,’ वडाध्यक्ष श्रेष्ठले भने ।

जिल्ला प्रहरी उपरीक्षक राजन अधिकारीले यर्थाथ विवरण बुझ्न इलाका प्रहरी बाह्रबिसेका प्रहरी निरीक्षक देवेन्द्र शाहसहित सुरक्षाकर्मीलाई पठाइएको बताए । ‘कति बेला ? कसरी के के ? मूर्ति चोरी भयो भन्नेबारे सुरक्षाकर्मी घटनास्थलामा पुग्दैछन्, आहिले तत्काल सबै विवरण आइसकेको छैन्,’ उनले भने ।

दसैंको फूलापतीको दिन मन्दिरकै मान्यता अनुसार त्रिपुराकै धुस्कुनका पहरी समुदायले तीनवटा माछा चढाउने परम्परा छ । माछालाई बली चढाएर यहाँ पूजा सुरु हुन्छ । यस्तै अष्टमीको दिन कालो रंगको बोकाको मात्रै बली दिइन्छ ।

प्रत्येक दसैंको टीकाको दिन दही छ्यापाछ्याप गरेर जात्रा मनाइने यस मन्दिर दशमीकै रात यहाँ वर्षमा एकपटक मात्रै देखिने दुर्लभ भैरव, कुमारी, चण्डी, नांगानागिनी, स्याल कहनजस्ता दर्जनौंको नृत्य जात्रा हुन्छ । अनार्य कालमा जिउँदो मान्छेको बली दिइने यहाँ पछिल्लो समय विभिन्न सन्त सुधारकले मनुष्यबाट मत्स्य बली दिने चलन बनाएको विश्वास छ ।

प्रकाशित : मंसिर २२, २०७८ ११:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?