कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बिनाइजाजत बैंकिङ कारोबार

वर्षमा ८ करोड बचत संकलन र ऋण लगानी गर्ने मेक्स मी ई–कमर्स इन्टरनेसनलका सञ्चालक पक्राउ 
 एकैजनाको एक करोड रूपैयाँसम्म फसेको भन्दै उजुरी 
रमेशकुमार पौडेल

चितवन — ‘सहकारी र बैंकले ग्राहकलाई ऋण दिन्छ । अरू सबै लिएर जान्छ । तर हामीले सदस्यलाई सेयर दिन्छौं । सेयरमा लाभांश दिन्छौं । बचतमा ब्याज दिन्छौं ।’ सुविधा यति मात्रै हैन, अरू अनेकअनेक उल्लेख भएको पासबुक लिएर बचत संकलन गर्नेहरू घर–घर, पसल–पसल डुल्थे ।

बिनाइजाजत बैंकिङ कारोबार

सहकारी र बैंकलाई नराम्रो भने पनि बचत जुटाउने शैली सहकारीकै जस्तो थियो । अनि बैंकले जस्तै अनेक ठाउँमा ऋण लगानी पनि गरेका थिए । पासबुक र संस्थाको बोर्डमा ‘नेपाल राष्ट्र बैंकबाट मान्यता प्राप्त’ भनेर उल्लेख नै छ । झन्डै एक वर्षअघि भरतपुर–१० स्थित रिजाल चोकमा कार्यालय राखेर मेक्स मी ई–कमर्स इन्टरनेसनल नामक कम्पनीले धेरैलाई कारोबारमा संलग्न गरायो । तर कम्पनीको कारोबार शैली नियमविपरीत भएको र राष्ट्र बैंकबाट स्वीकृतिसमेत नलिएको प्रहरी अनुसन्धानले देखाएको छ ।

‘नियमविपरीत बचत संकलन र ऋण लगानी गरेका कारण हामी ठगियौं भन्ने उजुरी परेपछि मंसिर ६ मा कम्पनीका कार्यकारी निर्देशक पुष्पराज तिमिल्सिना पक्राउ परे । बुझ्दै जाँदा कम्पनीले कारोबार गर्न कतैबाट स्वीकृति नलिएको, राष्ट्र बैंकको कागज पनि नक्कली भएको पत्ता लागेको छ,’ चितवन प्रहरी प्रवक्ता डीएसपी नरहरि अधिकारीले भने । संस्थाले वर्ष दिनको बीचमा झन्डै आठ करोड रुपैयाँ बचत संलकन र लगानी गरेको देखिने उनले बताए । ‘एकै जनाले एक करोड रुपैयाँसम्म ठगिएँ भनेर उजुरी दिएका छन्,’ उनले भने ।

तिमिल्सिनाको घर दैलेख आठबिस नगरपालिका–७ मा हो । उनी सुरुमा विद्यालयका किताब प्रकाशन गर्ने कम्पनीको बिक्री प्रतिनिधि बनेर चितवन आएका थिए । पछि डेरी र आइसक्रिम उद्योग सुरु गरे । त्यसपछि ई–कमर्स चलाएका हुन् । विभिन्नखाले बचतमा ७–९ प्रतिशतसम्म ब्याजदर दिने उनले घोषणा गरेका थिए । एक जना बचतकर्ताका अनुसार बिनाधितो १५ लाख रुपैयाँसम्म ऋण लगानी गर्ने बताएर सदस्य बनाएका थिए । बचत गर्न सुरु गरेको ३ महिनासम्म नगद झिक्न नपाइने नियम राखेका थिए ।

कम्पनीले बैंक र फाइनान्स जसरी मोटरसाइकल किन्न धमाधम ऋण लगानी गरेको पाइएको डीएसपी अधिकारीले जानकारी दिए । ‘नियमविपरीत काम गर्दा पनि कसैको नजर पुगेन । बोर्डमा र पासबुकमा राष्ट्र बैंकले मान्यता दिएको भनेर लेखेपछि धेरै झुक्किए । बचतकर्ताहरूले रकम झिक्न नपाएपछि समस्या बढेर हामीकहाँ उजुरी आएको हो,’ डीएसपी अधिकारीले भने ।

बचत तथा ऋणको कारोबार गर्ने सहकारीहरूको संस्था केन्द्रीय बचत तथा ऋण सहकारी संस्था लिमिटेड (नेफ्स्कुन) सञ्चालक समितिकी उपाध्यक्ष शान्ति अधिकारी सर्वसाधारण सजग नभए ठगी बढ्ने बताउँछिन् । ‘नियमअनुसार दर्ता भएर कारोबार गरेको हो वा हैन त्यो ख्याल नगरी ब्याजको आसमा बचत गर्ने र सजिलै पाइन्छ भनेर ऋण लिन खोज्ने हो भने ठगीका घटना बेहोर्नुपर्ने हुन्छ,’ उनले भनिन् । सहकारीको शैलीमा कारोबार गर्ने संस्थाहरू सहकारी हुन् वा हैनन्, सञ्चालकहरूमा चिनेजानेका छन् वा छैनन् भनेर हेरे पनि धेरै हदसम्म ठगीबाट जोगिन सकिने उनको भनाइ छ ।

मेक्स मी ई–कमर्स इन्टरनेसनलमा हजारभन्दा बढी सदस्यहरू रहेको हुन सक्ने डीएसपी अधिकारी बताउँछन् । नियम कानुन बुझ्न नसक्ने सर्वसाधारणदेखि बैंक र सहकारीबारे जानकार टाठाबाठाले यो कम्पनीमा कारोबार गरेको देखिएको उनले बताए । त्यसैले राष्ट्र बैंकलगायत नियामक निकायले थप चनाखो भएर अनुगमन गर्नुपर्नेमा उनको जोड छ ।

प्रकाशित : मंसिर २१, २०७८ ०९:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?