बेमौसमी वर्षाले बिगार्‍यो बालीपात्रो- वाग्मती - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बेमौसमी वर्षाले बिगार्‍यो बालीपात्रो

गोड्ने बेला गाजर छर्दै छन् किसान, रोप्न नपाएपछि कुहियो आलुको बीउ
रमेशकुमार पौडेल

चितवन — धान स्याहार्ने बेलामा भएको लगातारको वर्षाले त्यसपछि गरिने खेतीलाई समेत असर गरेको छ । झरीले धान–पराल नोक्सान त गर्‍यो नै, व्यावसायिक तरकारी खेती गर्ने किसानलाई समेत चिन्ता थपिदिएको छ । आलु र गाजर लगाउने किसानले बैलैमा बीउ रोप्न पाएनन् । धान काट्नै ढिला भयो । हिलाम्मे खेत सुक्न पनि समय लाग्यो । ढिलो बाली लगाउँदा कम फल्ने, फल राम्रो नहुने र मूल्य पनि कम पर्ने चिन्ता किसानहरूलाई छ ।


भरतपुर–१५ फूलबारीको श्रीपुर गाउँ गाजर खेतीका लागि प्रख्यात छ । धान काटेपछि यहाँ सबैजसो किसानले गाजर लगाउने गर्छन् । त्यसैमध्येमा पर्छन् चन्द्रप्रसाद अधिकारी । उनैले झन्डै ४५ वर्षअघि गाउँमा पहिलो पटक गाजर रोपेका थिए । त्यसयता उनी निरन्तर यही खेतीमा छन् । तर यस पटक अवस्था विगतका वर्षको जस्तो रहेन । ‘यो बेला गाजर उम्रेर गोडमेल गर्ने बेला हुन्थ्यो । तर बल्ल हिजो (बिहीबार) मात्रै बीउ छरियो,’ उनले भने, ‘गाजर रोप्न २०/२२ दिन नै ढिलो भयो ।’

श्रीपुरकै श्री देवकोटाले २० बिघा जमिनमा गाजर लगाएका छन् । ‘पानी परेका कारण यो पल्ट १५/२० दिन ढिला भयो । ३ बिघा जतिमा अलि पहिला रोप्न सकियो र गोडमेल थालिएको छ । अरु ठाउँमा बल्ल बीउ छर्यौं,’ उनले भने । समयमै छर्न पाएको भए पुसको १५/२० तिर गाजर बिक्रीका लागि तयार हुन्थ्यो । उत्पादनमा ढिलाइ हुँदा मूल्य घट्दै जान्छ । यसपटक त्यस्तै हुने हो कि भन्ने चिन्ता उनलाई छ ।

गतवर्ष भने गाजरको राम्रै मूल्य पाएको उनले सुनाए । ‘२०६५ देखि मैले गाजर खेती थालेको हो । सामान्यतः किलोको ५–२० रुपैयाँसम्म मूल्य पर्छ । तर गतवर्ष ४०/४५ रुपैयाँसम्म पाइयो । ३० रुपैयाँ त घट्दै घटेन । यो वर्ष मौसमले साथ दिएको छैन,’ उनले भने । श्रीपुरमा मात्रै २ सय बिघाजतिमा गाजर खेती हुन्छ । एक बिघामा औसतमा २ सय ५० क्विन्टलसम्म गाजर फल्ने किसानहरू बताउँछन् ।

पूर्वी चितवनको कठार खरखुट्टेका किसानको पनि यस्तै समस्या छ । खरखुट्टे आलु खेतीका लागि परिचित छ । आलु रोप्ने माटोमा धेरै चिस्यान हुनु हुँदैन । तर खेत नै डुबाउने गरेर पानी आएपछि सुक्ने समय पर्खेर बस्नुपर्‍यो । स्थानीय किसान सीताराम अर्यालले आलु रोप्न १५ दिन ढिला भएको बताए । जमिन सुक्ने समय कुरेर बस्दा बीउका लागि ल्याएको आलुसमेत कुहिएको उनले दुखेसो पोखे । झन्डै २ सय बिघामा आलु खेती हुने खरखुट्टेमा यो वर्ष कम खेती भएको उनले बताए ।

कृषि ज्ञान केन्द्र भरतपुर प्रमुख युवराज पाण्डे भने समय केही ढिला भए पनि तरकारी खेतीमा ठूलो हानी नोक्सानी र असर नहुने बताउँछन् ।

प्रकाशित : मंसिर १८, २०७८ ०८:४०
प्रतिक्रिया
पठाउनुहोस्

जनगणनामा किन खुलेनन् दलित ?

‘डेरा पाउन थर ढाँटेका दलित समुदायका व्यक्तिहरुले घरबेटीका अगाडि सही विवरण दिन सकेनन्’
प्रकृति दाहाल

काठमाडौँ — व्यक्तिगत विवरण फाराम भर्ने भन्दै जनगणनाको टोली उनको डेरामा आइपुग्यो । गणकले व्यक्तिगत र पारिवारिक विवरण खुलाउन चाहे । तर, थर खुल्ने डरले उनले वास्तविक पहिचान दिन सकेनन् । उनी दलित समुदायका हुन् । थर लुकाएर डेरामा बसेका उनलाई जनगणनाको विवरण टिपाउँदा पनि थर ढाँट्नुपर्‍यो । 

किन त ?

४१ वर्षीय उनी भन्छन्, ‘घरबेटीकै अगाडि थर खुलाउँदा कोठाबाट निकालिदिने डर छ । पहिले थर लुकाएरै डेरा पाएको हुँ ।’ उनले हामीसँग पनि नाम खुलाउन चाहेनन् । दलित समुदायका व्यक्तिले काठमाडौंलगायत सहरी क्षेत्रमा थर लुकाएर बस्नुपर्ने बाध्यता अझै रहेको उनी बताउँछन् । बानेश्वरमा ६ वर्षदेखि बस्दै आएका उनले घरबेटीको डरले झूटो विवरण टिपाए । उनका परिवारका पाँचै सदस्यले यसैगरी ढाँटेर विवरण दिए । घरभाडामा सुरक्षित बस्न र अपमानित हुनुपर्ने डरले दमाईं जातका उनी थर परिवर्तन गरेर सो घरमा बस्दै आएका रहेछन् । ‘साँचो भन्यो भने घरबेटीले निकाल्छ, त्यसैले झूटो बोल्नुपर्‍यो,’ उनले भने, ‘तथ्यांक दिनुभन्दा त सम्मानपूर्वक आवास पाउनु नै ठूलो कुरो रहेछ ।’

गणकहरूका अनुसार यस्ता घटना सहरी क्षेत्रमा बढी देखिएका छन् । ‘यद्यपि यसको असर भने सरकारी तथ्यांकमा देखिन्छ,’ एक गणकले भने, ‘नागरिकको वास्तविक पहिचान नखुल्दा राष्ट्रिय अभिलेखमै समस्या आउने भयो ।’

कीर्तिपुर बस्दै आएकी दलित समुदायकी सविता (नाम परिवर्तन) ले पनि आफू क्षत्रीका रूपमा चिनाएर घरभाडामा बस्दै आएकी छन् । विराटनगरकी उनी ६ वर्षदेखि काठमाडौंमा छिन् । घरबेटीलाई वास्तविक थर नखुलाएकी उनले गणकलाई पनि थर ढाँटिन् । ‘हामी चार जना बस्छौं,’ ४४ वर्षीया उनले भनिन्, ‘जात थर खुलाएको घरबेटीले थाहा पाए भने भोलि कहाँ जाने, कता बस्ने ?’ सानेपाकी कृष्णा (नाम परिवर्तन) ले त कोठाभित्रै गणकलाई बोलाएर गोपनीयतामा ख्याल राख्न सुझाइन् ।

जनगणना संकलन गर्न फिल्डमा खटिएका गणकले दलित समुदायका व्यक्तिले आफ्नो थर खुलाउन कठिन भएको महसुस गरेका छन् । वास्तविक थर खुलाउन आनाकानी गर्दा समुदायको पहिचानमा पनि असर पर्ने कलंकी क्षेत्रमा खटिएका गणक विकास खड्काले बताए । ‘दुई सयभन्दा धेरै घरमा गणना गर्दा दलितहरूले रिसाल, घिमिरे, शर्मा, सापकोटा जस्ता थर राखेको पाइयो,’ उनले भने, ‘निर्धक्क जात नखुलाउँदा विवरण संकलनमा केरमेट गर्नुपरेको छ ।’

उनका अनुसार कलंकीमा चार जनाको परिवारका घरमूलीले शर्मा लेख्ने गरे पनि गणकलाई तामाङ टिपाए । तर उनकी छोरीले ‘हामी त सुनार जाति हौं’ भनेकी थिइन् । ‘यसरी परिवारका सदस्यमै थरमा दुविधा हुँदा समस्या भयो,’ खड्का भन्छन्, ‘यो समस्या डेरामा बस्नेहरूमा मात्र छैन घरबेटीमा पनि देखियो ।’

कुलेश्वर हाइटमा गणना गर्ने अर्की गणकले जात खुलाउने कि नखुलाउने दुविधाले धेरै समस्या झेल्नुपरेको अनुभव सुनाइन् । उनले कुलेश्वरमा २ सय ५० घरमा गणना गरेकी थिइन् । ‘दलित समुदायका करिब ९५ प्रतिशतलाई जात खुलाउनका लागि धेरै सम्झाएँ पनि तर जात किन भन्नुपर्‍यो भनेर उल्टै मलाई नै प्रश्न गरे,’ उनले भनिन्, ‘थर लेख्नुस्, जात नसोध्नु भन्दै अड्डी कस्ने पनि पाइयो । जात खुलाउँदा समाजले नराम्रो दृष्टिकोणले हेर्छन् भन्ने उनीहरूको जवाफ थियो ।’

२०६८ को जनगणनाअनुसार दलितहरूको संख्या १३.५ प्रतिशत छ । तर यस पटकको गणनामा दलितको संख्या घट्न सक्ने गणकहरू अनुमान गर्छन् । राष्ट्रिय दलित आयोगका सदस्य सुन्दर पुर्कुटीले गाउँमा उस्तो समस्या नभए पनि सहरमा दलितको संख्या घटेर आउन सक्ने अनुमान गरे । उनका अनुसार हालको जनगणनामा दलित समुदायका व्यक्तिहरू नामथर लेख्ने तर जातमा भने अन्य जात समावेश गर्ने पनि छन् । यसले सही तथ्यांक आउनेमा उनको शंका छ ।

‘सहरी क्षेत्रमा जात ढाँट्नुपर्ने बाध्यताका कारण सही विवरण आएको छैन,’ उनले भने । यसको समाधानका लागि केन्द्रीय तथ्यांक विभागसँग गणनाका क्रममा गोपनीयताको ख्याल गर्न वा त्यो पनि सम्भव नभए स्थानीय तहमार्फत गणना गराउन आग्रह गरिएको उनको भनाइ छ । ‘सहरका दलितहरूमा खुलेर जात भन्न नसक्ने डर भएकाले गोपनीयताको ख्याल गर्दिनुस् भनेर विभागसँग छलफल गरेका थियौं,’ पुर्कुटीले भने, ‘तर त्यो प्रभावकारी भएन ।’

दलित गैरसरकारी संस्था महासंघका अध्यक्ष भक्त विश्वकर्माले विभागलाई आफूहरूले मुख्य तीन कुरामा ध्यानाकर्षण गराएको बताए । ‘थर लेख्न पाउनुपर्छ भनेर हामीले सुझावपत्र बुझाएका थियौं । जातको कोलममा विश्वकर्मा, मिजार, परियारलगायत राखेर सोहीअनुसार तथ्यांक संकलन गरिनुपर्छ भनेका थियौं । सहरमा बसेका दलित समुदायलाई गणनामा समस्या हुन्छ भनेर वडा कार्यालयमार्फत गणना गर्न पनि आग्रह गर्‍यौं,’ उनले भने, ‘यी सुझाव विभाग र राष्ट्रिय योजना आयोगमा पेस गरे पनि सुनुवाइ भएन ।’

जनगणनाका क्रममा ६ महिनाभन्दा बढी बसेको स्थानलाई नै सोही स्थानको बासिन्दा भनेर गणना गरिएको छ । तथ्यांक विभागका निर्देशक ढुण्डीराज लामिछाने व्यक्तिले झूटो विवरण दिँदा तथ्यांकमा नै असर गर्ने बताउँछन् । ‘जनसंख्याका आधारमा विकास र समृद्धि हुने भएकाले ६ महिनाभन्दा बढी जहाँ बसेको छ, सोही स्थानको बासिन्दाका रूपमा गणना भएको छ । जात र थर फरक टिपाउँदा संख्याका आधारमा फरक नपरे पनि जातका आधारमा भने तथ्यांक तलमाथि पर्न सक्छ ।’

दलित समुदायका सरोकारवालाको सुझावअनुसार विवरण टिपाउँदा असहज महसुस भएमा गणकलाई छुट्टै बोलाएर टिपाउने, त्यो पनि सम्भव नभए विभागमा सम्पर्क गर्न सुझाव दिइएको लामिछानेको भनाइ छ । उनका अनुसार यो सुविधा उपत्यकामा मात्र नभई बाहिरी सहरका जिल्ला गणना कार्यलयमा पनि मिलाइएको थियो । यति सुविधा हुँदाहुँदै पनि जनगणनामा जातका कारण असहज महसुस भयो भनेर कुनै गुनासो नआएको उनले बताए । ‘सम्बन्धित निकायमा गुनासो नगर्ने अनि झूटो विवरण दिने व्यक्ति नै गैरजिम्मेवार बनेपछि के गर्ने ?’ उनले प्रश्न गरे ।

‘मेरो जनगणना, मेरो सहभागिता’ नारासहित १२ औं राष्ट्रिय जनगणना कात्तिक २५ देखि मंसिर ९ गतेसम्म सञ्चालन भएको थियो । विवरण टिपाउन छुटेकालाई विभागले थप एक दिन समय दिएको थियो । गणनाका लागि देशैभर ४० हजार गणक र ८ हजार ५ सय सुपरिवेक्षक खटाइएको थियो ।

प्रकाशित : मंसिर १८, २०७८ ०८:३९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×