कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

कांग्रेस प्रदेश अधिवेशन :  वाग्मतीमा प्यानलैसहित चुनावी प्रतिस्पर्धा हुँदै 

सुवास विडारी

मकवानपुर — कांग्रेसको वाग्मती प्रदेश सभापतिमा दाबेदारी गरिरहेका तीनैजनाले प्यानलैसहित चुनावी मैदानमा होमिने भएका छन् । कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत बिहीबारबाट हेटौंडामा नयाँ नेतृत्व चयनका लागि सुरु भएको प्रदेश अधिवेशनमा प्रदेश सभापति पदमा मकवानपुरका इन्द्रबहादुर बानियाँ, नुवाकोटका जगदीशनरसिंह केसी र काठमाडौंका भीमसेनदास प्रधानले उम्मेदवारी दिने तयारी गरेका छन् ।

कांग्रेस प्रदेश अधिवेशन :  वाग्मतीमा प्यानलैसहित चुनावी प्रतिस्पर्धा हुँदै 

बानियाँ पार्टी सभापति तथा संस्थापन शेरबहादुर देउवा निकट, संस्थापन इतरबाट केसी र कांग्रेस नेता कृष्णप्रसाद सिटौला समूहबाट पार्टी केन्द्रीय सदस्य प्रधानले प्रदेश सभापतिमा उम्मेदवारी दिन लागेका हुन् ।

प्रदेश अधिवेशनले एक सभापति, दुई उपसभापति, दुइ महामन्त्री र एक महिलासहित तीन सहमहामन्त्री गरी कुल ९१ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ । जसमध्ये ८ जना पदाधिकारी, ४८ जना खुल्लातर्फ र ३५ जना समावेशीतर्फबाट सदस्य निर्वाचित हुनेछन् । संस्थापनबाट सभापतिमा बानियाँ, उपसभापतिमा मदनकृष्ण श्रेष्ठ, धर्मराज गौतम, महामन्त्रीमा राजु श्रेष्ठ र तिलक रुवाली तथा सहमहामन्त्रीमा हरिशरण श्रेष्ठ, महेन्द्र थिङ र निरु खड्काले उम्मेदवारी दिने भएका छन् । यस समूहले आफ्नो उम्मेदवारी घोषणा सभा गरेर सार्वजनिक गरिसकेको छ ।

संस्थापन इतर समूहबाट सभापतिमा केसी, उपसभापतिमा राजेन्द्र बुर्लाकोटी र मोहन बस्नेत, महामन्त्रीमा रामचन्द्र अर्याल ‘माइकल’, कञ्चन वादे, सहमहामन्त्रीमा दिलबहादुर तामाङ, ऋषिराम घिमिरे, जीवन डंगोल उम्मेदवार हुने पक्का भएको छ । यस समूहले बिहीबार राति पत्रकार सम्मेलन गरेर उम्मेदवार सार्वजनिक गरेको हो ।

स्रोतका अनुसार बानियाँ र प्रधानबीच एकजना उम्मेदवार खडा गर्न प्रयास भइरहेको छ । जसको कारण प्रधानले अझै प्यानल घोषणा गरेका छैन । ‘देउवा–सिटौला एउटै समूहका रहेका कारण दुईमध्ये एकजना उम्मेदवार बनाउन पहल भइरहेको छ । त्यसकारण प्यानल घोषणा नगरिएको हो,’ प्रधान निकट एक नेताले भने, ‘सहमति नभएको खण्डमा प्यानल तयारी अवस्थामा रहेको छ । सार्वजनिक गर्न समस्या हुँदैन ।’

तीन समूहले नेतृत्वमा स्थापित हुन आन्तरिक रुपमा तयारी गरिरहेका छन् । कांग्रेस सहमहामन्त्री प्रकाशशरण महत र केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय ‘डीना’ बानियाँको पक्षमा, पार्टी केन्द्रीय सदस्य प्रकाशमान सिंह, अर्जुन नरसिंह केसी, गगन थापा केसीको पक्षमा र केन्द्रीय सदस्य शिव हुमागाईं, नेविसंघ पूर्वमहामन्त्री कुन्दन काफ्ले प्रधानको पक्षमा लबिङ गरिहेका छन् । उनीहरु हेटौंडामै रहेका छन् । नेताहरु आफ्नो समूह व्यवस्थापन गर्न र उम्मेदवार तय गर्न सक्रियतापूर्वक लागि रहेका छन् ।

कांग्रेस वाग्मती प्रदेश निर्वाचन समितिका सहायक निर्वाचन अधिकृत रामकुमार अधिकारीका अनुसार बिहान ८ बजेबाट दिउँसो १ बजेसम्म उम्मेदवारी मनोनयन दर्ताको तालिका रहेको छ । अधिवेशनमा १३ जिल्लाका २१ हजार ३७ जना प्रतिनिधिको सहभागी छन् । मतदान शनिबार हुनेछ । अधिवेशनको उद्घाटन कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार भर्चुअल विधिबाट गरेका थिए । संघीय संरचनाअनुसार कांग्रेसले पहिलो पटक नेतृत्व चयन गर्न लागेको हो ।

प्रकाशित : मंसिर १७, २०७८ ११:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?