बालबालिकालाई खुवाउन डल्लो परेको बालभिटा

प्रताप विष्ट

हेटौंडा — सातमहिने छोरीका लागि बिहीबार बालभिटा लिन पुगेकी हेटौंडा उपमहानगरपालिका–४ की रमिला न्यौपाने रित्तै हात फर्किइन् । हेटौंडा–४ वडा कार्यालयसँगै रहेको मोहन बज्राचार्य स्मृति सहरी स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीले न्यौपानेलाई बालभिटा सबै डल्लो परेकाले दिन नमिल्ने सुनाए ।

बालभिटाको बट्टामा प्रयोग अवधि सन् २०२२ सम्म उल्लेख भए पनि भित्र धूलो डल्लो परेको छ । ‘डल्लो फुटाएर खाँदा अमिलो छ,’ स्वास्थ्यकर्मी विष्णुमाया श्रेष्ठले भनिन्, ‘यस्तो बालभिटा नखुवाउनु नै स्वस्थकर हुने भएकाले कसैलाई दिएका छैनौं ।’

हेटौंडा उपमहानगर क्षेत्रमा मात्र होइन, मकवानपुरका अधिकांश स्वास्थ्य संस्थामा उपलब्ध बालभिटा डल्लो परेको (गुणस्तरहीन) भेटिएको छ । विकट राक्सिराङ गाउँपालिकास्थित स्वास्थ्य संस्थामा पनि डल्लो परेको बालभिटाभेटिएपछि वितरण नगरिएको गाउँ स्वास्थ्य संयोजक विजय कापरीले बताए ।

हेटौंडाका स्वास्थ्य संयोजक भोला चौलागाईंले वाग्मती प्रदेशको आपूर्ति व्यवस्थापन केन्द्रले नै गुणस्तरहीन बालभिटा पठाएको बताए । स्वस्थकर नदेखिएपछि स्वास्थ्य संस्थाहरूलाई वितरण नगर्न भनिएको उनको भनाइ छ । ‘बालबालिकाले खाने बालभिटाको गुणस्तरमाथि नै प्रश्न उठेको छ, यो राम्रो कुरा होइन,’ उनले भने, ‘तत्काल गुणस्तरीय बालभिटा पठाउन माग गरेका छौं ।’

जिल्ला स्वास्थ्य कार्यालयको गोदाममा पनि डल्लै परेको बालभिटा मात्र छ । जसका कारण विगत ४ महिनादेखि जिल्लाका अधिकांश बालबालिकाले बालभिटा खान पाएका छैनन् । आपूर्ति व्यवस्थापन केन्द्र हेटौंडाका प्रमुख डा. अर्जुन सापकोटाले बालभिटा डल्लो परेकोबारे जानकारी पाएको र यसबारे अनुसन्धान गरिरहेको बताए ।

जन्मेको ६ महिनादेखि २ वर्षमुनिका बालबालिकाका लागि सरकारले बालभिटा निःशुल्क उपलब्ध गराउँदै आएको छ । पोषण तथा एकीकृत बालरोग व्यवस्थापनअन्तर्गतको बालभिटा कार्यक्रमले प्रत्येक स्थानीय तहका स्वास्थ्य संस्थामा बालभिटा पठाउँछ । यसको सेवनबाट बालबालिकामा कुपोषण र श्वासप्रश्वासको समस्या नहुने तथा फूर्तिलो बनाउन मद्दत गर्छ ।

बच्चा जन्मेको ६–११ महिनासम्म, १२–१७ महिनासम्म र १८–२३ महिनासम्मलाई हुने गरी तीन पटक बालभिटा वितरण हुने गरेको छ । तर अहिले जिल्लाभर नै बालभिटा वितरण ठप्प छ । बच्चा जन्मिएपछि २ वर्षभित्रमा उसको ८० प्रतिशत मस्तिष्क विकास हुने हुँदा त्यसका लागि पनि बालभिटाले मद्दत पुर्‍याउने स्वास्थ्यकर्मीहरू बताउँछन् । तर सरकारले गुणस्तरहीन बालभिटा उपलब्ध गराउनु हेलचेक्य्राइँको पराकाष्ठा भएको उनीहरूको भनाइ छ ।

प्रकाशित : मंसिर १७, २०७८ १२:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?