कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४
कांग्रेस महाधिवेशन

प्रदेश सभापतिमा आधा दर्जन आकांक्षी

सुवास विडारी

मकवानपुर — नेपाली कांग्रेसको वाग्मती प्रदेश सभापति पदमा आधा दर्जन आकांक्षी देखिएका छन् । कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत बिहीबारदेखि हेटौंडामा सुरु हुने प्रथम प्रदेश अधिवेशनमा पार्टी संस्थापन पक्षबाट दुई र संस्थापनइतरबाट चार जनाले सभापति पदमा दाबी गरिरहेका छन् । कांग्रेसले संघीय संरचनाअनुसार पहिलो पटक पार्टीलाई पूर्णता दिन लागेको हो ।

प्रदेश सभापतिमा आधा दर्जन आकांक्षी

वाग्मती प्रदेशमा कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौलाबीच तालमेल हुने सम्भावना रहे पनि दुवै निकट नेताहरूले उम्मेदवारी घोषणा गरिसकेका छन् । देउवानिकट मकवानपुर सभापति इन्द्रबहादुर बानियाँ र सिटौला समूह काठमाडौंका भीमसेनदास प्रधानले प्रदेश सभापतिमा औपचारिक रूपमै उम्मेदवारी घोषणा गरिसकेका छन् ।

‘दुईमध्ये एक जना उम्मेदवार हुने सम्भावना रहेको, पछिल्लो समय देशका विभिन्न स्थानमा देउवा–सिटौला समूह एक भएर निर्वाचन प्रक्रियामा गइरहेका छन् । त्यसैले उनीहरूबीच सहमति हुने सम्भावना रहेको छ,’ कांग्रेसका एक नेताले भने । संस्थापनइतर पक्षबाट भने औपचारिक उम्मेदवारी घोषणा भइसकेको छैन ।

संस्थापनइतरबाट काभ्रेका मधु आचार्य, नुवाकोट जगदीशनरसिंह केसी, काठमाडौं राजुनाथ जोशी र धादिङका रमेश धमलाले दाबी गरिरहेका छन् । ‘केसी र जोशीमध्ये एक जना उम्मेदवार हुने सम्भावना छ । काठमाडौं उपत्यकामा प्रकाशमान सिंहको धेरै प्रतिनिधि छनोट भएका छन् । जसको कारण उहाँअनुकूलको व्यक्तिले प्रदेश सभापतिमा उम्मेदवारी दिने सम्भावना छ,’ संस्थापनइतर समूहका एक नेताले भने ।

उनका अनुसार संस्थानइतर समूहका सिंह, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री शशांक कोइरालाले दाबेदारमध्ये एक जना उम्मेदवार खडा गर्न कोसिस गरे पनि निचोडमा भने पुगिसकेको छैनन् । ‘केसी र जोशीले आफ्नो दाबी छोड्नुभएको छैन । सहमतिका लागि प्रयास भइरहेको छ,’ उनले भने ।

कांग्रेसले प्रदेश अधिवेशनका लागि सिंहलाई वाग्मती प्रदेश संयोजक तोकेको छ । हेटौंडा–१० स्थित वनविज्ञान खेल मैदानमा हुने अधिवेशनमा करिब २ हजार प्रतिनिधि उपस्थित हुनेछन् । ‘रसुवाले ढिलो प्रतिनिधि छनोट गरेका कारण केही ढिलो भए पनि बन्दसत्र अगाडि सबै विवरण आइसक्नेछ,’ प्रमुख निर्वाचन अधिकृत केशव काफ्लेले भने ।

प्रकाशित : मंसिर १६, २०७८ ०८:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?