कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘पालिकामा केमिकल इन्जिनियर आवश्यक’

काठमाडौँ — स्थानीय उत्पादनको गुणस्तर तथा प्रवर्द्धनका निम्ति प्रत्येक पालिकामा एक जना केमिकल इन्जिनियर आवश्यक रहेको विज्ञले बताएका छन् । त्यसका साथै स्थानीय उत्पादनलाई औद्योगिकीकरणका माध्यमबाट विश्व बजारसँग जोड्न सकिनेसमेत उल्लेख गरेका छन् ।

‘पालिकामा केमिकल इन्जिनियर आवश्यक’

पुल्चोक इन्यिरिङ क्याम्पसमा बीई केमिकल इन्जिनियरिङ अध्ययनरत विद्यार्थीले बुधबार आयोजना गरेको ‘नेपालमा केमिकल इन्जिनिरिङको भविष्य’ विषयक अन्तर्क्रियामा विज्ञहरुले उक्त धारणा राखेका हुन् ।

‘नेपालको जडीबुटीबाट हिमालयन इनर्जी ड्रिङ्स उत्पादन गरेर विश्व बजारमा पुर्‍याउनेतर्फ सरकारको ध्यान पुग्न आवश्यक छ,’ दक्षिण कोरियाको अनुभव र व्यावहारिक पक्षबारे विचारपत्र प्रस्तुत गर्दै इन्जिनियर प्रा. हेमराज पन्तले भने, ‘त्यसनिम्ति स्थानीय तहमा के कस्ता सम्भावनाहरू छन् भन्ने पक्षमा बृहत् अध्ययन अनुसन्धान र प्रवद्र्धनका निम्ति प्रत्येक पालिकामा एक जना केमिकल इन्जिनियर हुन आवश्यक छ ।’

विज्ञ पन्तले मुलुकको भौगोलिक विशेषताअनुकूल उत्पादन हुने फलफूल, जडीबुटी, स्याउ, सुन्तला, कागतीजस्ता घरेलु फलफूल, यसैगरी मेल, जामुन, फलेदो, अमलाजस्ता बनेली फलफूल र हर्रो, बर्रो, जटामसी, पाँचऔंले, यार्सागुम्बाजस्ता जडीबुटीजन्य उत्पादनलाई व्यावसायिक रूपमा अघि बढाउन पनि केमिकल इन्जिनियरको आवश्यकता रहेको बताए । ‘हामीले हिमालयन ब्रान्डबाट अर्गानिक पेय पदार्थ उत्पादन गरेर भारत र चीनको बजारमा पुर्‍याउन सक्ने र अर्थोपार्जन गर्ने सम्भावना प्रशस्त छ,’ विज्ञ पन्तले भने, ‘त्यसनिम्ति सम्भावना पहिल्याउने र गुणस्तर मापन गर्ने केमिकल इन्जिनियर चाहिन्छ ।’ देशभरि अहिले एक हजारभन्दा बढी केमिकल इन्जिनियरिको आवश्यकता रहेकोसमेत उल्लेख गरे ।

यसैगरी, केमिकल इन्जिनियर्स समाज नेपालका अध्यक्ष डा. चण्डिका भट्टले मुलुकको सबै खाले उद्योगमा केमिकल इन्जिनियरको आवश्यकता रहेको बताए । ‘केमिकल इन्जिनियरको संख्या अत्यन्त न्यून छ,’ उनले भने, ‘आर्थिक सवलीकरणका लागि औद्योगिकीकरणका निम्ति केमिकल इन्जिनियरिङको आवश्यकता खड्किएको छ ।’ नेपाल गुणस्तर तथा नापतौल विभागका उपमहानिर्देशक प्रभातकुमार सिंहले केमिकल इन्जिनियरको अभावमा विभिन्न निकायमा दरबन्दी रिक्त रहेको बताए ।

इन्जिनियरिङ अध्ययन संस्थानका सहायक डिन प्रा. सुशीलबहादुर बज्राचार्यले मुलुकको आवश्यकतालाई पूर्ति गर्न केमिकल इन्जिनियर जनशक्ति उत्पादनमा जोड दिएको बताए । त्यसनिम्ति भारतको कानपुर र रुड्कीमा रहेका इण्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी (आईआईटी) सँग सम्झौता गरी २०७६ सालदेखि केमिकल इन्जिनियरिङ अध्यापन सुरु गरिएको समेत उल्लेख गरे । संस्थानका डिन प्रा. शशीधर राम जोशीले केमिकल इन्जिनियरिङमा समयसापेक्ष गुणस्तरीय जनशक्ति उत्पादनमा जोड दिएको बताए । क्याम्पस प्रमुख डा. इन्द्र आचार्यले केमिकल इन्जिनियरिङ कार्यक्रमलाई गुणस्तरीय, प्रतिस्पर्धी र विद्यार्थीलाई उदाहरणीय तुल्याउने प्रतिबद्धता जनाए । कार्यक्रममा दोस्रो वर्षका छात्र अनिश अधिकारीले केमिकल इन्जिनियरिङ विषयप्रति विद्यार्थीको आकर्षण बढेको तर कोटा कम भएको गुनासो पनि राखेका थिए ।

प्रकाशित : मंसिर १५, २०७८ २१:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?