घूससहित मालपोत कार्यालय प्रमुख र अमिन पक्राउ- वाग्मती - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

घूससहित मालपोत कार्यालय प्रमुख र अमिन पक्राउ

रासस

चितवन — चितवनमा सेवाग्राहीबाट घूस लिँदै गर्दा मालपोत कार्यालयका प्रमुख र वडा कार्यालयका अमिन पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाडौंको टोलीले मालपोत कार्यालय चनौलीका मालपोत अधिकृत मुकुन्द पौडेल र भरतपुर महानगरपालिका–२० का अमिन वीरेन्द्रबहादुर कठायतलाई घूस लिँदै गर्दा पक्राउ गरेको हो । 


मालपोत अधिकृत र वडा कार्यालयका अमिनले भरतपुरका एक सेवाग्राहीसँग जग्गाको कित्ताकाट गरिदिने भन्दै घूस लिएका हुन् । करिब ३८ कट्ठा जग्गा आफ्नै बाबुबाट श्रीमती, छोरा र छोरीको नाममा अंशबन्डा गरिदिन भन्दै सेवाग्राही वडा कार्यालय तथा मालपोत पुगेका थिए । जग्गाको अशंबन्डा नभई प्लटिङ गर्न लागेको भन्दै सेवाग्राहीसँग कार्यालय प्रमुख र अमिनले घूस मागेका थिए । अशंबन्डा गर्दा पनि घूस मागेको भन्दै सेवाग्राहीले अख्तियारमा उजुरी गरेका थिए ।

प्रमुख पौडेलका साथबाट अख्तियारको टोलीले १५ लाखको चेक र ५० हजार नगद बरामद गरेको छ । उनलाई कार्यालयभित्रै रहेको क्वाटरमा घूस लिँदै गर्दा पक्राउ गरिएको हो । प्रमुख पौडेलले १५ लाखको चेक घूस नभई आफूले लिनुपर्ने ठाँउबाट पाएको बताएका छन् ।

यस्तै, अमिन कठायतका साथबाट तीन लाख ५० हजारको चेक र नगद एक लाख ५० हजार बरामद गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहायक प्रवक्ता एवं सूचना अधिकारी वेदप्रसाद भण्डारीले जानकारी दिए । उनलाई भरतपुर–४ धर्मचोक लङ्कुमा रहेको एक रेष्टुरेन्टबाट पक्राउ गरिएको हो । दुवै जनाले एउटै सेवाग्राहीबाट रकम लिएका हुन् । घूस रकमसहित दुवै कर्मचारीलाई नियन्त्रणमा लिइएको छ । अन्य कर्मचारी पनि सहभागी हुनसक्ने भएकाले थप अनुसन्धान अघि बढाइएको भण्डारीले बताए ।

प्रकाशित : मंसिर १५, २०७८ १३:५६
प्रतिक्रिया
पठाउनुहोस्

पराल बाल्दै, आक्रोश निभाउँदै

बेमौसमी वर्षा र बाढीले धानमा पुर्‍याएको क्षतिमा सरकारले सम्बोधन नगर्दा किसान रुष्ट 
जे पाण्डे

नेपालगन्ज — राज अली बिहानको खाना खाइवरी तयार भए । लाइटर गोजीमा राखेर घरदेखि पश्चिम ‘खलिहान’ तिर हिँडे । जहाँ परालका थुप्रै टौवा थिए । एक जना सहयोगी बोलाए । टौवाबाट धमाधम पराल तान्न थाले । ‘पैरामे जल्दी आग लगा दे’ भन्दै सहयोगीलाई काम अह्राएको केही बेरमा पराल दन्किन थाल्यो । हेर्दाहेर्दै सबै पराल खरानी भयो ।

‘पाकेको धान पानीले डुबेर पुरै कुहियो । खानै नहुने भयो,’ टौवाको सबै परालमा आगो लगाइसकेपछि बाँके लग्दहवाका राजले भने, ‘कुहिएको पराल गाईभैंसीले पनि खाँदैनन् । बरु जलाइदियो भने खेतमा मल त होला ।’ खानै नमिल्ने भएपछि पशु आहाराको प्रमुख स्रोत परालसमेत जलाउनु परेको उनले सुनाए । पराल कुहिएर गुन्द्रुकजस्तो भएको थियो । कतिपयले कुहिएको पराल गहुँ छर्न जोतेको खेतमा मलका रूपमा पनि प्रयोग गरेका छन् ।

कात्तिकको पहिलो साता हुरीसँगै आएको वर्षा र बाढीले पाकेको धानबाली डुबेर खेतमै कुहिँदाको पीडाबाट तंग्री नसकेका किसान अहिले घरपालुवा पशुचौपाया कसरी पाल्ने भन्ने चिन्तामा छन् । धान त खेतमै कुहियो, पराल पनि गाईभैंसीले खान नमिल्ने भयो । अब आफूले के खाने र पशुलाई के खुवाएर पाल्ने भन्ने चिन्तामा किसान परेका छन् ।

तिनैमध्येका अर्का किसान हुन्– बाँके मन्नीपुरका जगदीशप्रसाद कुम्हार । उनले १ लाख १३ हजार रुपैयाँमा भैंसी किनेर ल्याएका छन् । ‘अब परालको जोहो कसरी गर्ने ? कोसँग माग्ने ? यो कुहिएको पराल त भैंसीले पनि खाँदैन,’ कुम्हारले भने, ‘धान कुहिएको रिसको झोंकमा पराल अरूलाई दिनुभन्दा खेतमै जलाइरहेका छौं ।’ अघिल्ला वर्षहरूमा किसानले टौवा बनाएर पराल राख्दै आएका थिए । अहिले बनाएका टौवाबाट पराल निकालेर धमाधम आगो लगाइरहेको देखिन्छ । बिहानदेखि साँझसम्म जताततै परालको धूवाँले बस्ती र आकाश पुरै कुइरीमण्डल हुने गरेको छ ।

किसान चिन्तित र आक्रोशित छन् । सरकारले धानको क्षतिपूर्ति दिन गरेको ढिलाइका कारण आक्रोशित भएका हुन् । उनीहरू पराल जलाएर रिस पोखिरहेका छन् । परालका ठूलठूला टौवा जलाउनेमध्ये केही किसानसँग घरपालुवा कुनै चौपाया नहुनेहरू छन् । जबकि अघिल्ला वर्षहरूमा घरमा पशु चौपाया नहुनेले पराल बिक्री गर्दै आएका थिए । सीमित किसानले भने धानबाली नष्ट भए पनि पशु चौपायाका लागि पराल जोगाएका छन् ।

हिउँदमा हरियो घाँसको अभाव हुन्छ । यस्तो बेलामा पशुलाई खुवाउने पौष्टिक आहार पराल नै हो । तर, पराल खरानी बनाइरहेको देखिन्छ । यसले गर्दा पशु आहारको प्रमुख स्रोतको समेत अभाव हुने निश्चित छ । धानबालीको क्षतिपूर्तिसमेत नदिएको सरकारले पशुआहार उपलब्ध गराइदेला भन्ने किसानलाई झिनो आशा पनि छैन । ‘यो महिनाभरिमा सबै जलाई सक्छन्,’ इन्द्रपुरका रहु खानले खेततिर परालका थुप्रा देखाउँदै भने ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका अनुसार बाँकेमा २ लाख २० हजारभन्दा बढी गाईगोरु छन् । २ लाख ४३ हजार ५ सय ३९ राँगाभैंसी छन् । यो सरकारी तथ्यांकभन्दा धेरै पशुचौपाया भएको अनुमान छ । सरकारले धानको क्षतिपूर्ति नदिएको रिसमा पराल जलाएका कारण ठूलो संख्यामा पशुसमेत पौष्टिक खुराकको संकटमा पर्ने निश्चित छ । ‘पराल पौष्टिक आहार पनि हो । तर, पानीले भिजेर कुहिएको र ढुसी उम्रेको पराल पशुलाई खुवाउनु हुँदैन,’ पशु सेवाविज्ञ केन्द्रका सूचना अधिकृत वसिर अहमद खानले भने, ‘ढुसी उम्रेको पराल पशुचौपायाले पनि खाँदैनन् । खाए भने दुब्लाउने, दूध नदिने, छेर्ने र बिरामी भएर थला पर्छन् । तसर्थ, कुहिएको पराल खुवाउनुभन्दा जलाउनै उचित हुन्छ ।’

बसिरले बुझेका किसानले ढुसी पलाएको पराल जलाइरहेको बताए । घरमा पशु चौपाया नपालेका र थ्रेसर मेसिनले धान झार्दा पराल टुक्रैटुक्रा हुने भएकाले जलाइदिने गरेका छन् । यस्तो बेलामा गाईभैंसी पालेका किसानलाई पराल अभाव हुँदा दुग्ध व्यवसायमा समेत असर पर्न सक्ने देखिएको छ ।

प्रकाशित : मंसिर १५, २०७८ १३:३५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×