१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

आकर्षक गाउँपालिका भवन

अनिश तिवारी

सिन्धुपाल्चोक — झिंगटीको छानो, आकर्षक आँखीझ्याल, ढोका अनि कलात्मक टुँडाल । झट्ट हेर्दा कुनै पुरातन दरबारजस्तो लाग्छ । खासमा यो भवन इन्द्रावती गाउँपालिकाको कार्यालय भवन हो । इन्द्रवती–४ नवलपुर बजार पुगेका प्रायः नौला व्यक्तिहरूले सोधिहाल्छन्, ‘यो केको भवन हो ?’

आकर्षक गाउँपालिका भवन

स्थानीय रविना खोखलीले भवन आकर्षणको केन्द्रबिन्दु नै बनेको दाबी गरिन् । ‘बजार आउने अधिकांश यात्रु त गाडीबाट ओर्लिएर सेल्फी, फोटो, भिडियो खिचिहाल्छन् । कोही त नाच्दै टिकटक भिडियो बनाउँछन् । यो भवन त भाइरल भइसक्यो,’ उनले भनिन् ।

जिल्लामा ३ वटा नगर र ९ वटा गाउँपालिका छन् । हालसम्म इन्द्रावतीसहित मेलम्ची, बाह्रबिसे र चौतारा साँगाचोकगढी नगरपालिका तथा लिशंखुपाखर, पाँचपोखरी थाङपाल, जुगल गाउँपालिकाले कार्यालय भवन ठड्याइसकेका छन् । भोटेकोसी, बलेफी, त्रिपुरासुन्दरी, हेलम्बु गाउँपालिकाले केन्द्र निश्चित गरेर भवन बनाउँदै छन् ।

सबैजसो पालिका भवन सामान्य या आधुनिक शैलीमा निर्माण गरिए/गरिँदै भए पनि इन्द्रावतीले भने पुरातात्त्विक प्यागोडा शैलीमा भवन बनाएको हो । सुनकोसी अर्थात् थकाह्युल्साले किराँतकालीन राज्यको इतिहास बोकेको छ । यसकारण पनि भवन बनाउँदा पुरानै शैली अपनाइएको इन्जिनियर राजाराम घोरासैनीले बताए ।

उनका अनुसार भवन ६ करोड ५१ लाख रुपैयाँ लागतमा बनेको हो । स्वराज–टक्सार जेभीले १८ महिनामा निर्माण सकेको भवनभित्र प्रविधिमैत्री कक्ष, हेल्प डेस्क, मिटिङ हल, पदाधिकारीका लागि छुट्टाछुट्टै कार्यकक्ष छन् । १२ वटा वडा रहेको पालिकाका सबैजसो वडा कार्यालय भवनसमेत बनेका छन् ।

यसबाहेक १५ शय्याको नवलपुर अस्पताल निर्माण सकेर सञ्चालनमा ल्याइएको गाउँपालिका अध्यक्ष वंशलाल तामाङले बताए । ‘४ करोड लागतमा ऐंसलुखर्कमा रंगशाला अन्तिम चरणमा पुगेको छ भने ८९ लाखमा भृकुटी पार्क बनाई भृकुटीको सालिकसमेत बनाइँदै छ । ३२ फिट अग्लो भूकम्प स्मृति पार्क निर्माणको काम पनि सकिएको छ,’ उनले भने ।

सुनकोसी गाउँपालिकाले भने अहिलेसम्म केन्द्र तोक्न सकेको छैन । कार्यालय भवन बन्ने पनि सुरसार छैन । कार्यालयले मासिक ८० हजार रुपैयाँ भाडा बुझाउँदै आएको छ । गाउँपालिकाको केन्द्र तोक्नेमै विवाद भएकाले भवन बन्न नसकेको गाउँपालिका उपाध्यक्ष लक्ष्मी पौडेलले बताइन् ।

प्रकाशित : मंसिर १५, २०७८ ०८:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?