कांग्रेस नुवाकोटको सभापतिमा महत निर्वाचित- वाग्मती - कान्तिपुर समाचार

कांग्रेस नुवाकोटको सभापतिमा महत निर्वाचित

कान्तिपुर संवाददाता

नुवाकोट — नेपाली काग्रेसको १४ औं अधिवेशनअन्तर्गत नुवाकोटको सभापतिमा रमेशकुमार महतले जितेका छन् । उनका प्रतिस्पर्धी चिकित्सक केदारनरसिंह केसी थिए । प्रतिस्पर्धी केसीले ८ सय २३ मत पाए भने उनले ८ सय ३३ मत ल्याएर विजयी भएका छन् । कुल १७४७ मत खसेको थियो ।

महतको पूरै प्यानलले जित हासिल गरेको छ । महतले संस्थापन पक्ष रामचन्द्र पौडेलको भए पनि उनलाई शेरबहादुर देउवा पक्षको साथ थियो । नुवाकोट संघीय निर्वाचन क्षेत्र २ र प्रदेशसभाको ४ वटै क्षेत्रमा देउवा पक्ष हाबी छ ।

निर्वाचित हुने उपसभापतिहरुमा सन्तमान तामाङ, राजु थापा, सचिवद्वयमा वैकुण्ठ मिश्र, श्रीराम श्रेष्ठ, सहसचिवमा यादव नेपाल र उत्तम पाठक छन् ।

महत पूर्वअर्थमन्त्री रामशरण महतका भतिजा हुन् । केसी कांग्रेस केन्द्रीय सदस्य अर्जुननरसिंह केसीका भाइ हुन् ।

प्रकाशित : मंसिर ११, २०७८ १८:१६
प्रतिक्रिया
पठाउनुहोस्

कांग्रेस इलामको सभापतिमा खड्का विजयी

कान्तिपुर संवाददाता

इलाम — संस्थापन पक्षका डम्बर खड्का नेपाली कांग्रेसको जिल्ला सभापतिमा निर्वाचित भएका छन् । शनिबार सम्पन्न मतगणनाको परिणामअनुसार प्रतिस्पर्धी भेषराज आचार्यलाई खड्काले १ सय ६० मतको अन्तरले पराजित गरेका हुन् । १७ सय २६ मतदातामध्ये खड्काले ९ सय ३५ मत पाए भने आचार्यले ७ सय ७५ मत प्राप्त गरे । पदाधिकारीमा मिश्रित परिणाम आएको छ । 

पछिल्लो समयमा खड्कालाई संस्थापन पक्षकै पूर्वसभापति केशव थापा र संस्थापनइतरका मानिने सभापति हिमालय कर्मचार्यले साथ दिएका थिए । उपसभापतिमा आचार्य समूहका खगेन्द्र देवान र विष्णु लिम्बु (दाहाल) विजयी भए । देवानले ८ सय ७४ र विष्णु दाहालले ७ सय ७८ मत प्राप्त गरिन् । ४ उम्मेदवारमध्ये खड्का प्यानलका केदार थापाले ७ सय ४७ र होमप्रसाद दुलाल ६ सय ९९ मत प्राप्त गरे ।

सचिव पदमा खड्का प्यानलबाट उठेका निरोज खड्गीले ७ सय ९३ र आचर्य समूहका पूर्णप्रसाद गौतमले ८ सय १९ मतका साथ जित निकाले । खड्का पक्षका हुकमलाल थेवेले ७ सय १५ र आचार्य समूहका विष्णु कार्कीले भने ७ सय २२ मत ल्याउँदै पराजित रहे ।

सहसचिवमा खड्का पक्षबाट उम्मेदवार बनेकी डालाकुमारी कार्की ८ सय ३५ र आचार्य समूहका देवेन्द्र सुवेदी ७ सय ८१ मत ल्याएर विजयी भए । खड्का समूहका प्रविना राईले ६ सय ३४ र आचार्य समूहका चक्र एक्तेन (अभिषेक) ६ सय ५६ मत ल्याए ।

पछिल्लो समय फरक समिकरण देखिएपछि कांग्रेस इलामको अधिवेशन थप रोचक बनेको छ ।

संस्थापन र इतरका २/२ उम्मेदवार चर्चामा रहे पनि पछिल्लो समय संस्थापनका खड्का र इतरबाट आचार्य सभपाति पदमा लडे । समर्थन इतर मानिने आचार्यविरुद्ध ३ वटा समूह १ ठाउँमा उभिएका थिए ।


प्रकाशित : मंसिर ११, २०७८ १८:१०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×