२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

गुट–उपगुटविरुद्ध लाग्ने अभियन्ता महाधिवेशन प्रतिनिधि

सुवास विडारी

मकवानपुर — नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत मकवानपुर जिल्लामा पार्टीभित्र मौलाउँदै गरेको गुट-उपगुटविरुद्धको अभियान सञ्चालन गरेका युवा विजयी भएका छन् ।

गुट–उपगुटविरुद्ध लाग्ने अभियन्ता महाधिवेशन प्रतिनिधि

कांग्रेसको वडा तहबाटै संस्थापन र संस्थापन इतरबीच चुनावी प्रतिस्पर्धा भइरहेको समयमा गुट-उपगुटविरुद्ध अभियान सञ्चालन गरेका हेटौंडा–१, चौकीटोलका राज मैनाली महाधिवेशन प्रतिनिधिको रुपमा विजयी हुन सफल भएका हुन् ।

२ वटा प्रतिनिधिसभा रहेको मकवानपुरबाट ५२ जना महाधिवेशन प्रतिनिधि छनौट भएकोमा शेरबहादुर देउवा पक्षको ३७ जना, संस्थापन इतरबाट १४ जना छनौट हुँदा मैनाली तटस्थ नै रहेर महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका हुन् ।

प्रतिनिधिसभा क्षेत्र नम्बर-२ बाट २६ जना प्रतिनिधिसभा सदस्यमध्ये १४ जना देउवा पक्ष, ११ जना संस्थापन इतर र उनी तटस्थ व्यक्ति छनौट भएका छन् । मैनालीले खुला पुरुषतर्फ प्रतिस्पर्धा गरेका थिए ।

उनी उम्मेदवार रहेको स्थानमा २७ जनाको उम्मेदवारी रहेको थियो । जसमध्ये दशजना महाधिवेशन प्रतिनिधिमा छनौटहुँदा उनी ९ औं नम्बरमा रहेर ३३२ मत प्राप्त गर्दै विजयी भएका हुन् ।

‘मैले कुनै पनि गुटमा नरहेर उम्मेदवारी घोषणा गर्दै कसैले पत्याएनन् । तर मैले हार नमानी चुनाव प्रचार गरिरहे । जिल्लाको नाम चलेका नेताहरुले मलाई गुटभन्दा बाहिर रहेर चुनाव जित्न नसक्नेभन्दै आफूहरुको समूहलाई सहयोग गर्न आग्रह गरेका थिए ।’

३४ वर्षीय मैनालीले पार्टीभित्र मौलाउँदै गएको गुट र उपगुटको राजनीतिविरुद्ध अभियान सञ्चालन गर्ने प्रतिबद्धता जनाएपछि युवा प्रतिनिधिले आफूलाई साथ दिएको बताए ।

‘कतिपय नेताहरुले मैले उठाएको विषयलाई हाँसोमा उडाएका थिए ।’ मैनाली पेशाले निर्माण व्यवसायी हुन् । ‘मैले सबै प्रतिनिधिलाई भेटेर मत मागेको थिएँ ।’ उनले नेताहरु गुटको पछाडि लागेर आफ्नो कार्यकर्तासँग मत नमागेको र आफूले सबै मतदातालाई भेटेको कारण विजयी भएको दाबी गरे ।

प्रकाशित : मंसिर ८, २०७८ ११:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

केन्द्रमा सत्ता गठबन्धन फेरबदल हुँदा प्रदेश सरकारमा समेत त्यसको असर पर्नुको सन्देश के हो ?