मकवानपुरमा २७१५ जना फरार- वाग्मती - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मकवानपुरमा २७१५ जना फरार

कान्तिपुर संवाददाता

मकवानपुर — अदालतबाट दोषी ठहर भई कैद सजाय र दण्ड जरिवाना तोकिएका मकवानपुरका २ हजार ७ सय १५ जना अभियुक्त फरार छन् । फरार सूचीमा रहेकामध्ये ६२ जना विदेशी (भारतीय) नागरिक र २ हजार ६ सय ५३ जना स्वदेशी रहेका मकवानपुर जिल्ला अदालतका स्रेस्तेदार तीर्थराज भट्टराईले जानकारी दिए ।

उनका अनुसार फरार अभियुक्तमध्ये बढीजसो लागूऔषध मुद्दाका छन् । दोषी ठहर गरे पनि फरार व्यक्तिको सूची अदालतले जिल्ला प्रहरी, प्रशासन र पालिकामा पठाएको छ ।

अदालतबाट दोषी ठहर भएका व्यक्तिलाई सरकारी निकायबाट पाउने सेवासुविधा रोका गर्न अदालतले परिपत्र गरेको हो । गत वर्ष राक्सिराङ गाउँपालिकाले लागूऔषधसम्बन्धी मुद्दामा फरार रहेका ४ जनाको सेवासुविधा रोकेको थियो । जिल्ला प्रहरीले गत आव ०७७/७८ मा अदालतले दोषी ठहर गरेका तर फरार १ सय ५६ जनालाई पक्राउ गरेको थियो । ‘कसुर प्रमाणित भइसकेका फरार व्यक्तिहरूलाई पक्राउ गर्न सबै क्षेत्रमा प्रहरीहरू सक्रिय छन्,’ मकवानपुर प्रहरी प्रवक्ता जयश्वर रिमालले भने ।

अदालतका फैसलाहरू कार्यान्वयनमा ल्याउन र अदालतको बाँकी बक्यौता र कैद लगत घटाउन दोषी ठहर भएका तर फरार व्यक्तिलाई अदालतमा उपस्थित गराउनुपर्ने हुन्छ । अदालतको फैसला कार्यान्वयन भएन भने अदालतप्रतिको आस्थामा पनि क्रमशः ह्रास आउने कानुन व्यवसायीहरू बताउँछन् । ‘बर्सेनि बाँकी बक्यौता र कैद लगतमा वृद्धि हुनु र अदालतको फैसलाअनुसार कैद बस्नुपर्ने वा दण्ड जरिवाना तिर्नुपर्ने व्यक्ति फरार रहिरहनुले अदालतको फैसला कार्यान्वयनप्रति मात्र होइन फैसलाको औचित्यमाथि नै प्रश्न उठ्ने गर्छ,’ अधिवक्ता मदन दाहालले भने ।

आदेशअनुसारको दण्ड जरिवाना संकलन नहुँदा जिल्ला अदालतको बक्यौता २९ करोड ७४ लाख ५१ हजार ७ सय ३४ रुपैयाँ पुगेको छ । त्यस्तै, कैद लगत ३ हजार ६ सय १० वर्ष ४ महिना २१ दिन पुगेको छ । चालु आवका ४ महिनामा यो आँकडा १ सय ११ वर्ष थपिएको छ । ‘कैद सजाय तोकिएका र दण्ड जरिवाना तिर्न फैसला भएका अपराधीहरू लुकीछिपी हिँडिरहेका छन्,’ अर्का अधिवक्ता ईश्वर ढकालले भने, ‘अदालतको गरिमा फैसलामा भन्दा कार्यान्वयनमा रहन्छ । वादी प्रतिवादीले अदालतको फैसलाको अनुभूति गर्न पाउनुपर्छ अनि मात्र यस्तो फैसलाको महत्त्व रहन्छ ।’

प्रकाशित : मंसिर ८, २०७८ १०:२२
प्रतिक्रिया
पठाउनुहोस्

प्यूठान कांग्रेस सभापतिमा विष्णुकुमार गिरि निर्वाचित

शमशेरविक्रम जीसी

प्यूठान — नेपाली कांग्रेस प्यूठानको जिल्ला सभापतिमा विष्णुकुमार गिरि निर्वाचित भएका छन् । मंगलबार भएको निर्वाचनमा गिरिले ५ सय ६६ मत ल्याएर विजयी भएका हुन् ।

शिवराज रिजाललाइ ७२ मत अन्तरले पछि पार्दै गिरि सभापतिमा विजयी भएको निर्वाचन अधिकृत निर्मल गौतमले बताए । जिल्ला सभापति पदका लागि खसेको कुल १ हजार ६९ मतमध्ये गिरीले ५ सय ६६ मत ल्याए । यस्तै रिजालले ४ सय ९४ मत प्राप्त गरे । ९ मत बदर भएको थियो ।

रिजालले यसअघिका सभापति अमर भण्डारीसँग पनि प्रतिस्पर्धा गरेका थिए । पौडेल समूहका गिरि र देउवा समूहका रिजालबीच सभापतिका लागि सहमति नभएपछि मतदान भएको हो ।

नौबहिनी गाउँपालिका अध्यक्ष रिजाल पार्टीको पूर्व सचिव हुन् भने गौमुखी गाउँपालिका अध्यक्ष गिरि निवर्तमान जिल्ला सचिव हु्न । जिल्ला कार्यसमितिका सबै सदस्य र महाधिवेशन प्रतिनिधि सर्वसम्मत रूपमा चयन भएको निर्वाचन समितिले जनाएको छ ।

जसअनुसार जिल्ला उपसभापतिमा देवेन्द्र वर्मा, ईश्वर सिंह विष्ट र सचिवमा टोपाराम कालाथोकी र नरेन्द्र पुन मगर, सहसचिवमा नारायण ज्ञवाली र प्रमोद पोख्रेल निर्विरोध चयन भएका छन् ।

प्रकाशित : मंसिर ८, २०७८ १०:२१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×