एमाले महाधिवेशनको दिन भरतपुर-नारायणगढका मुख्य सडकमा सवारी प्रतिबन्ध

रमेशकुमार पौडेल

चितवन — आगामी शुक्रबार नेकपा एमालेको १० औं महाधिवेशनलाई लक्षित गर्दै ट्राफिक व्यवस्थापनका लागि चितवनका मुख्य सडकहरूमा गाडी गुडाउन रोक लगाइने भएको छ ।

एमाले महाधिवेशनको दिन भरतपुर-नारायणगढका मुख्य सडकमा सवारी प्रतिबन्ध

जिल्ला सुरक्षा समितिको आइतबार बसेको बैठकले उद्घाटन सत्रमा सहभागी हुने मान्छेको चापलाई ख्याल राखेर ट्राफिक व्यवस्थापनको योजना बनाएको चितवनका प्रमुख जिल्ला अधिकारी आसमान तामाङले जानकारी दिए । एमालेको महाधिवेशनको उद्घाटन कार्यक्रम नारायणगढको नारायणी नदी किनारमा हुँदैछ । उद्घाटनमा पाँच लाख मानिसलाई सहभागी गराउने एमालेले दाबी गर्दैआएको छ ।

पूर्वपश्चिम राजमार्ग र काठमाडौं पोखरा जोड्ने नारायणगढ मुग्लिन सडक नारायणगढ भरतपुर हुँदै जान्छ । काठमाडौं जाने मूल सडक उद्घाटन सत्र हुने नारायणी किनार नजिकै हुँदैगएको छ । हाल सामान्य अवस्थामा पनि नारायणगढ भरतपुर क्षेत्रमा ट्राफिक जाम हुने गरेको छ । कुनै कार्यक्रम आयोजना हुँदा पूर्व पश्चिम र काठमाडौं पोखरातर्फ लाग्ने गाडीहरूको लामो लाइन सुरु हुन्छ ।

एमाले महाधिवेशनको उद्घाटन कार्यक्रम हुने दिन शुत्रबार बिहान ९ बजेदेखि साँझ साढे पाँच बजेसम्म भरतपुर नारायणगढका राजमार्ग क्षेत्रदेखि अन्य मुख्य सडकमा गाडी चलाउन रोक लगाउने निर्णय भएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रमुख रहेको प्रहरी उपरीक्षक (एसपी) ओम अधिकारीले जानकारी दिए । पोखरा काठमाडौंबाट आउने सवारी साधन आँपटारी क्षेत्रमै रोकिने छन् ।

यस्तै पूर्वबाट आउने गाडीहरू केन्द्रीय बसपार्कमा नै रोक्ने एसपी ओम अधिकारीले बताए । पश्चिम नेपालबाट आउने गाडीलाई नारायणीको पुल तर्न दिइने छैन । चितवनको पश्चिम क्षेत्रबाट आउने सवारी साधन भरतपुरको त्रिचोक, बेलचोक, बाह्रघरे क्षेत्रमै रोकिने बताइएको छ । जसकारण बजारका अन्य सडक र राजमार्गहरूमा गाडी नै नगुड्ने उनले बताए ।

एमालेको उद्घाटन कार्यक्रममा आउनेहरू पैदलै कार्यक्रमस्थल नारायणी किनारमा जानु पर्नेछ । उक्त समयमा भरतपुर नारायणगढ आएका यात्रुवाहक बस साढे पाँच बजेसम्म कुरेर बस्नु पर्नेछ । ‘सभामा आउने सहभागीका गाडी राख्न हामीले १३ ठाउँलाई पार्किङ एरिया तोकेका छौं । यात्रु बस सकेसम्म नआउलान् भन्नुपर्‍यो । आएमा पार गराउन कठिन छ । उनीहरूलाई सुरक्षित राख्न पनि ठाउँ हेरेका छौं’ प्रमुख जिल्ला अधिकारी तामाङले भने ।

अत्यावश्यक सेवाका सवारी पनि चलाउन कठिन हुने देखेको सरकारी अधिकारीहरू बताउँछन् । एम्बुलेन्सहरूको विषयमा विशेष योजना बनाइएको छ । यो जानकारी देशैभर पठाएको र छिमेकका जिल्लाहरूमा पनि त्यही समय अनुसार गाडी रोक्न र छाड्न पत्र पठाइएको छ । एमाले महाधिवेशनको उद्घाटन सत्र नारायणगढमा भएपछि ११ र १२ गते सौराहामा बन्दसत्र हुनेछ ।

प्रकाशित : मंसिर ७, २०७८ १५:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?