कांग्रेस महाधिवेशन

सिन्धुपाल्चोकमा दुई पालिकाबाहेक दसमा सभापति निर्वाचित

अनिश तिवारी

सिन्धुपाल्चोक — कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत सिन्धुपाल्चोक कांग्रेसको तीन नगरपालिका र सात गाउँपालिकामा सभापतिसहित सबै पदको निर्वाचन सकिएको छ । कांग्रेस अधिवेशनका जिल्ला निर्वाचन अधिकृत देवेन्द्र कोइरालाकाअनुसार दुई गाउँपालिका लिसंखुपाखर र इन्द्रावती गाउँपालिकामा मंगलबार सभापति पदको लागि चुनावी मतदान भइरहेको छ ।

सिन्धुपाल्चोकमा दुई पालिकाबाहेक दसमा सभापति निर्वाचित

‘चौतारा साँगाचोकगढी नगरपालिका र जुगलमा सर्वसम्मत चयन भएका छन् भने अन्यमा चुनावी प्रक्रियाबाट सभापतिसहित अन्य पदाधिकारी भारी मतले विजयी भएका छन्,’ उनले भने । नगरपालिकादेखि गाउँपालसिकाभर सभापति पदका लागि प्रत्येक स्थानीय तहमा २ देखि ६ जनासम्म उम्मेदवार थिए । चौतारा साँगाचोकगढी नगरपालिकामा प्रेम दंगाल, इन्द्र धिताल , हरिचन्द्र कुँवर र भगवान खड्का आकांक्षी थिए । जसमा इन्द्र धिताल सर्वसम्मत चयन भएका छन् । जुगलमा सर्वसम्मत सगुन श्रेष्ठ छानिएका छन् ।

भोटेकोसी गाउँपालिकामा मुके शेर्पा, साङदोर्जे शेर्पा, साङ्बु शेर्पा र देवीबहादुर बुढाथोकी गरी चार जना आकांक्षीमध्ये तेस्रो धारका बुढाथोकीले ५५ मत ल्याई विजयी भए । पार्टी सभापति विकास लामाका उम्मेदवार मुकेले २२ मत र केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतका उम्मेदवार साङ्बोले १३ मत ल्याएर पराजय बेहोरे ।

त्रिपुरासुन्दरी गाउँपालिकामा मोहनकुमार श्रेष्ठ र समिर लामा २ आकाक्षीमध्ये मोहनकुमारले ८१ मत ल्याएर जिते । उनका प्रतिद्वन्द्वी समिर लामाले २१ मत ल्याए । त्यसैगरी, बाह्रबिसे नगरपालिकामा शम्भु तिमिल्सिना र हेलम्बु गाउँपालिकामा राजकुमार भण्डारीले संञ्च तामाङलाई हराउँदै सभापति निर्वाचित भए । मेलम्ची नगरपालिकामा प्रकाश दाहाललाई एकसय ३९ मत ल्याएर हराएर बसन्त गुरुङ चुनिए । दाहालले एकसय १६ मत ल्याएका थिए । त्यसैगरी, बलेफी गाउँपालिका रामकुमार तामाङ र पाँचपोखरी थाङपाल गाउँपालिकामा सभापति प्रेम दोङ चुनिए । सुनकोसी गाउँपालिकामा तेश्रो धारका रुपकाजी लामाले ४९ मतले केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतका उम्मेदवार जग्गनाथ कार्कीलाई हराए । कार्कीले ४५ मत ल्याएका थिए ।

लिसंखुपाखर गाउँपालिकामा सभापति पदको लागि गंगाबहादुर श्रेष्ठ, घ्याम्छो लामा, रोशनकुमार तामाङ, जेठा लामा र डुवाछिरिङ लामा गरी ५ जना आकांक्षी छन् भने इन्द्रावती गाउँपालिकामा जीवनकुमार थापामगर, नवराज भट्टराई, केशव श्रेष्ठ, बुद्धिप्रसाद भट्टराई गरी चार जना आकांक्षी छन् । यी दुवै गाउँपालिकामा सभापति पदको लागि आहिले मतदान भइरहेको छ ।

प्रकाशित : मंसिर ७, २०७८ १३:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?