१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

व्यक्तिगत खर्चमा सडक मर्मत

सिन्धुपाल्चोक — वर्षाले सडक भासिँदा अरनिको राजमार्गअन्तर्गत लामोसाँघु–बसेरी–टोप्का खण्ड ४ महिना अवरुद्ध बन्यो । ९ किलोमिटर लामो यो खण्ड ठप्प हुँदा स्थानीयलाई अत्यावश्यक कामका लागि आउजाउ गर्नुपर्दासमेत घण्टौं हिँड्नुबाहेकको विकल्प रहेन । यस्तो बाध्यता स्थानीयले जनप्रतिनिधिलाई सुनाए । बलेफी गाउँपालिका–८ ले २ लाख रुपैयाँ खर्चेर मर्मतसम्भार त गर्‍यो तर सडक सञ्चालन हुन सक्ने अवस्था बनेन ।

व्यक्तिगत खर्चमा सडक मर्मत

एम्बुलेन्स नै पुग्न नसक्ने अवस्था महिनौंसम्म रहँदा गाउँका गम्भीर, असक्त र प्रसूतिसम्बन्धी बिरामीलाई आपत नै पर्‍यो । यस्तो दूरवस्थाको साक्षी बनिरहन स्थानीय सुवास तिमल्सिनाको मनले मानेन । सडक बनाउन आफैं किन नलाग्ने सोच लिएर उनले रकम जुटाउन थाले । ऋणधन गरेर जम्मा गरे ४ लाख रुपैयाँ ।

उक्त रकमबाट सडक मर्मतसम्भार र ग्राभेल सकिएर अहिले सञ्चालनमा आएको छ । सडकमा गाडी गुड्न थालेपछि स्थानीयले उनलाई खुबै धन्यवाद दिए । फेरि गाउँमै गाडी पुग्न थालेपछि आफ्नो मन पनि हलुका भएको र स्थानीयबाट पनि आशिर्वाद पाएको उनले सुनाए ।

‘९ किमि सडकको सुधार म धनी भएर गरेको हैन । आफ्नो गाउँ आफैं बनाउनुपर्छ भन्ने लाग्यो । त्यसमाथि जनप्रतिनिधि जत्तिकै हामी पनि त जिम्मेवार हुनुपर्छ,’ उनले भने । कोरोना महामारी फैलँदा पनि उनले गाउँका विपन्न परिवारलाई खाद्यान्न र स्वास्थ्य सामग्री सहयोग गरेका थिए ।

प्रकाशित : मंसिर ३, २०७८ ०७:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?