कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

एमालेलाई महाधिवेशनको चटारो

उद्घाटन सत्रमा पाँच लाख बढी उतारिने दाबी
रमेशकुमार पौडेल

चितवन — पार्टी केन्द्रीय महाधिवेशनको मिति नजिकिँदै जाँदा चितवनमा एमालेका उच्च तहका नेताहरूको आवतजावत बाक्लिएको छ । बिहीबार एमाले महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, पार्टी प्रवक्ता प्रदीप ज्ञवाली, स्थायी कमिटी सदस्य रामबहादुर थापा, सुरेन्द्र पाण्डेसहित एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङ, शंकर पोखरेललगायतका नेता चितवन आए ।

एमालेलाई महाधिवेशनको चटारो

उनीहरूले महाधिवेशनको उद्घाटनस्थल तय भएको नारायणी किनार क्षेत्र अवलोकनपछि सौराहा पुगेर बन्दसत्र गर्ने स्थानको टुंगो लगाए । अरू नेता काठमाडौं फर्किए पनि ज्ञवाली र पाण्डे चितवनमै छन् । एमाले महाधिवेशन मंसिर १० देखि १२ सम्म चितवनमा हुँदै छ । महाधिवेशनको मूल व्यवस्थापन समितिका संयोजक रामबहादुर थापा हुन् भने सह–संयोजक सुरेन्द्र पाण्डे हुन् ।

सौराहामा बन्दसत्र कहाँ गर्ने भन्ने निर्क्यौल हुन बाँकी थियो । होटल सेभेन स्टारमा बन्दसत्र गर्ने टुंगोमा पुगेको सह–संयोजक रहेका पाण्डेले बताए । ‘बन्दसत्रका लागि आवश्यक पर्ने हल पनि छ । अपुग भएमा टेन्ट वा डोम बनाउन मिल्ने ठाउँ पनि रहेछ । पार्किङ एरिया पनि भएको, क्याटरिङ सञ्चान गर्ने पर्याप्त ठाउँ भएको हुँदा त्यही होटलमा बन्दसत्र राखौं भन्ने निधो गर्‍यौं,’ पाण्डेले भने ।


उद्घाटनस्थल नारायणी नदी किनारमा तोकिएको छ । उद्घाटनमा पाँच लाख सहभागी जम्मा गर्ने बताइएको छ । उक्त ठाउँ चितवन महोत्सवजस्ता कार्यक्रमका लागि प्रयोग हुँदै आएको छ । चितवन महोत्सवको आयोजक संस्था चितवन उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष रहेका सहन प्रधानका अनुसार दिनभरमा ८० हजारसम्म दर्शकले महोत्सव अवलोकन गरेको तथ्यांक छ । ‘कोरोनाको जोखिम कायमै भएको हुँदा बढी जमघट नगरे हुन्थ्यो । संक्रमणको डर त छँदै छ, ट्राफिक व्यवस्थापनमा समस्या पर्न सक्छ । सुरक्षा प्रबन्ध सशक्त ढंगले होस् । तर चितवनमा ठूलो दलको अधिवेशन हुनु आफैंमा अवसर हो,’ चितवन उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष रहेका प्रधानले भने ।

क्षेत्रीय होटल संघ (हान) चितवन सौराहाका कोषाध्यक्ष पनि रहेका बन्दसत्र तोकिएको होटलका सञ्चालक माधव दुवाडी पर्यटकीय क्षेत्रको पहिचान बनाएको चितवनमा एमालेको अधिवेशन हुनु भनेको ठूला कार्यक्रम गर्न जिल्ला सक्षम छ भन्ने सन्देश देशैभर जाने बताउँछन् । यसले पर्यटन विस्तारमा मद्दत नै पुग्ने उनको भनाइ छ । ‘कोभिडले सुस्ताएका बेला जिल्लामा ठूलो कार्यक्रम हुँदै छ । यो हाम्रा लागि अवसर हो,’ दुवाडीले भने । सम्मेलनमा आउने देशभरका प्रतिनिधिलाई सन्तुष्ट बनाउने गरेर आवास र खानपानको स्तरीय व्यवस्थापनमा होटल व्यवसायीहरू जुटेको उनले बताए । महाधिवेशनको बेला चितवनले गर्ने आतिथ्यको प्रभावले दीर्घकालसम्म असर गर्ने उनको आकलन छ । त्यसैले सबै खाले सेवालाई स्तरीय बनाइने, बन्दसत्र सफल पार्न हरेक सुविधा र पूर्वाधार तयार पार्ने काममा आफू जुटेको उनले बताए ।

कोरोनाको जोखिमका बेला कार्यक्रम राखेको हुँदा स्वास्थ्य मापदण्ड पालना गराउन आफूहरूले जोड दिएको एमाले नेता पाण्डेले बताए । ‘संक्रमणको जोखिम त छ । तर विश्वभर राजनैतिकका साथै अन्य खाले गतिविधि बढेका छन् । स्वास्थ्य मापदण्ड पालना गरेर हामीहरू अधिवेशन सफल पार्न जुटेका छौं,’ पाण्डेले भने । सुरक्षा र ट्राफिक व्यवस्थापनलाई चुस्त बनाउन आफूहरू लागिपर्ने उनले बताए । सबै कामको संयोजन गर्न आफू चितवन नै बस्ने उनले बताए । ‘उद्घाटन कार्यक्रमस्थलको सुरक्षा प्रबन्ध र ट्राफिक व्यवस्थापन, बन्दसत्र स्थलको व्यवस्थापन चुस्त बनाउन हामी सबै लागेका छौं,’ पाण्डेले भने । एमाले अध्यक्ष केपी शर्मा ओली कात्तिक १५ मा चितवन आएर १७ गते फर्केका थिए । त्यो बेला उनले पनि उद्घाटन स्थल र बन्दसत्र स्थल हेरेका थिए । बन्दसत्रमा करिब दुई हजार प्रतिनिधिले भाग लिँदै छन् ।

प्रकाशित : कार्तिक २६, २०७८ ०७:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?