सिन्धुपाल्चोकमा हत्या आरोपमा दुई पक्राउ- वाग्मती - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सिन्धुपाल्चोकमा हत्या आरोपमा दुई पक्राउ

रासस

सिन्धुपाल्चोक — मेलम्ची नगरपालिका–१० सिम्लेफाँटका नेत्रप्रसाद दाहालको हत्या गरी फरार रहेको आरोपमा दुई व्यक्ति पक्राउ परेका छन् । काभ्रे खानीखोला–८ का कृष्ण मगर र सिन्धुपाल्चोक लिसङ्खुपाखर–७ का छिरिङ तामाङ पक्राउ परेको जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले बताए । 

गत असोज १९ गते साँझदेखि हराएका दाहालको भोलिपल्ट घरकै आँगनमा बालुवामा पुरिएको अवस्थामा शव फेला परेको थियो । घरअगाडि आँगनमा मानिसको दुवै खुट्टाको औँला मात्र देखिने गरी खाल्डो खनी बालुवाले पुरेको अवस्थामा ६३ वर्षीय दाहालको शव फेला परेको थियो । घरअगाडि शव फेला परेपछि प्रहरीले केनाइन महाशाखा, काठमाडाँैमा समन्वय गरी विशेषज्ञसहित कुकुरको टोली झिकाई अनुसन्धान सुरु गरेको थियो ।

घटनास्थल वरपर रहेका छरछिमेकका मानिसहरुले तीन दिन अघिदेखि मृतकको घरमा दुईजना अपरिचित पुरुष आउनेजाने गर्ने गरेको भन्ने सूचनाका आधारमा थप अनुसन्धान गर्दै जाँदा उनीहरु पक्राउ परेको प्रनाउ बस्नेतले बताए । मृतक दाहालले प्रयोग गर्ने मोबाइल मृतकका साथमा फेला नपरेको तर मोबाइल भने चालु नै रहेकाले सोही मोबाइलको लोकेसनका आधारमा काभ्रेका मगर पक्राउ परेका थिए । मगरलाई सोही दिन साँझ ७ बजे नै मेलम्चीस्थित हेलम्बु बसपार्कबाट पक्राउ गरिएको उनले बताए ।

मगर पक्राउ परेपछि उनकै बयानका आधारमा सिन्धुपाल्चोकका तामाङलाई काठमाडौंको गोकर्णेश्वर नगरपालिका–८ नारायणटारबाट असोज २८ गते पक्राउ गरिएको हो । मृतक दाहाल र आरोपीहरुबीच दाहालको घर बनाउन ठेक्का लिने सहमति भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । दाहालको घर भत्काई नयाँ बनाउनुपर्ने भएकाले मृतकसँग ठेक्कामा लिनेदिने र असोज २० गतेबाट काम सुरु गर्ने सहमति भएको थियो । काम सुरु गर्न रु ४० हजार पेस्की दिनेसमेत मौखिक सहमति भएको खुल्न आएको प्रहरीको दाबी छ । सहमति भएपछि आरोपीहरुले दाहालसँग नगदै भएको ठानी सो रकम लुट्नका लागि हत्या गरेको हुनसक्ने प्रहरीले बताएको छ ।

आरोपीहरुले असोज १९ गते राति नै दाहालको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । आरोपीमध्ये मगरले कोदालोले दाहालको टाउकामा प्रहार गरेको र मृत्यु भएपछि दुवै जना मिलेर मृतककै घरअगाडि आँगनमा खाल्डो खनेर पुरेको प्रहरीको अनुसन्धानले बताएको छ । उनीहरुलाई कर्तव्य ज्यान शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित : कार्तिक ७, २०७८ २२:२४
प्रतिक्रिया
पठाउनुहोस्

पर्सामा २ लाख बढीले कोरोना विरुद्धको खोप लगाए

शंकर आचार्य

पर्सा — पर्सामा हालसम्म २ लाख २ हजार १ सय ७७ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । जिल्ला स्वास्थ्य कार्यालय प्रमुख नवलकिशोर साहका अनुसार असोज १५ अर्थात् दसैं अघिसम्म जिल्लामा १ लाख ३ हजार ५९ जनाले खोपको पूर्ण डोज लिइसकेका थिए ।


खोप लगाउने संख्या जिल्लाको कूल जनसंख्याको २३ दशमलव ८ प्रतिशत हो । दसैंको अवधि तथा त्यसपछि पनि खोप अभियान चलाइएकोमा यस अवधिमा करिब ९९ हजार जनाले खोपको पहिलो डोज लगाएको बताइएको छ ।

‘पछिल्लो तीन सातायता पहिलो चरणका खोप लगाएकाहरुको पूर्ण विवरण आउन बाँकी छ,’ साहले भने, ‘तर बितरण गरिएको खोप र त्यसको मात्रासमेत मिलाउँदा तीन सातायता ९९ हजार जनाले यो खोपको पहिलो डोज लगाएको हाम्रो अनुमान छ ।’ यसरी पुराना र नया गरी जिल्लाका कूल ३० प्रतिशत जनताको पहुँचमा कोरोना विरुद्धको खोप पुगेको उनले दाबी गरे ।

जिल्लामा हालसम्म कोभिसील्ड, जोन्सन एन्ड जोन्सन, भेरोसेल र एस्ट्राजेनेका खोप दिइएको उनले बताए । जिल्लामा चरणबद्ध रुपमा स्वास्थ्यकर्मी, महिला स्वयंसेविका, सरससफाईकर्मी, कोरोना संक्रमित मृतकको शवको व्यवस्थापनमा खटिएका र अन्य सुरक्षाकर्मी, सञ्चारकर्मी, कारागारका कैदीबन्दी र त्यसपछि सर्वसाधारणलाई चरणवद्ध रुपमा खोप उपलब्ध गराइएको साहले बताए । सर्वसाधारणहरुमा ज्येष्ठ नागरिकलाई प्राथमिकता दिई खोप दिइँदैछ ।


प्रकाशित : कार्तिक ७, २०७८ २२:०१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×