वाग्मती प्रदेशसभाको बैठकमा एमाले सहभागी नहुने

सुवास विडारी

मकवानपुर — वाग्मती प्रदेशसभाको बिहीबार दिउँसो १ बजे बस्ने बैठकमा सत्तारूढ नेकपा (एमाले) सहभागी नहुने भएको छ ।

वाग्मती प्रदेशसभाको बैठकमा एमाले सहभागी नहुने

पार्टीको कात्तिक ६ गते हुने वडास्तरीय र ९ गते हुने स्थानीय तहको अधिवेशनका कारण प्रदेशसभा बैठकमा सांसदहरू उपस्थित हुन नसक्ने एमाले मुख्य सचेतक दीपक निरौलाले जानकारी दिए । ‘विपक्षीको दबाबमा जबर्जस्ती सभामुखले सदन चलाउने तयारी गर्नुभएको छ । तर हाम्रो पार्टीका सांसदहरू सहभागी हुँदैनन् । पार्टीको अधिवेशन भएका कारण हामीले प्रदेशसभाको बैठक सार्न सभामुखलाई आधिकारिक पत्र बुझाइसकेका छौं,’ उनले भने ।

अल्पमतमा परेकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज बस्ने बैठकबाट विश्वासको मत लिने प्रक्रिया प्रारम्भ हुने अवस्थामा एमालेले बैठक सार्न अनुरोध गर्दै बुधबार प्रदेशसभामा पत्र दर्ता गराएको थियो । प्रदेशसभा सचिवालयले पनि विश्वासको मत विभाजनका लागि आवश्यक तयारी गरिसकेको छ । ‘हामी यस प्रदेशको ठूलो दल हौं । पार्टीको अधिवेशनलाई ध्यान दिएर बैठकको मिति तोक्न हामीले सभामुखलाई यसअघिकै बैठकमा आग्रह गरेका हौं,’ निरौलाले भने, ‘उहाँले पछि विचार गरौंला भन्नुभएको थियो ।’

एमालेले बैठक सार्न प्रदेशसभा सचिवालयलाई पत्राचार गरेसँगै विपक्षी गठबन्धनले सदन चलाएर मत विभाजन प्रक्रिया अगाडि बढाउन सभामुख श्रेष्ठलाई आग्रह गरेको छ । मुख्यमन्त्री शाक्यले गत असोज २४ गतेको बैठकमा संविधानको धारा १८८ को उपधारा १ बमोजिमको प्रावधानअनुसार विश्वासको मत लिने कार्यका लागि प्रस्ताव गरेकी थिइन् । तर, विपक्षी गठबन्धनले मुख्यमन्त्रीको टुंगो नलगाउँदा दलहरूबीचको सहमतिमा प्रदेशसभाको बैठक सारिएको थियो ।

एमाले विभाजनमा १३ सांसदले नवगठित नेकपा (एस) रोजेपछि मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा परेकी थिइन् । ५६ सांसदसहित एकल बहुमतबाट मुख्यमन्त्री बनेकी शाक्यसँग अहिले सभामुखसहित ४३ जना मात्रै सांसद छन् । सदनमा माओवादीको २३, कांग्रेस २२, नेकपा (एस) को १३ र जसपाको १ मत छ । सरकार बनाउन ५५ मत भए पुग्छ ।


प्रकाशित : कार्तिक ४, २०७८ ०९:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?