कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

१८ किलोमिटर सडक पार गरेको १५ रुपैयाँ कर !

राजकुमार कार्की

सिन्धुली — सिन्धुली– बीपी राजमार्ग अन्तर्गत सिन्धुलीमाडी–बर्दिवास सडक खण्डको भिमानमा राजमार्ग प्रयोग गरेवापत मनपरी कर असुल्ने गरिएको छ ।

१८ किलोमिटर सडक पार गरेको १५ रुपैयाँ कर !

कमलामाई नगरपालिका ९ को भिमानमा राजमार्ग प्रयोग गरेवापत सडक बोर्ड नेपालको नामबाट ठेकेदारका कामदारले मनपरी शुल्क असुली गरेको स्थानीयहरुको गुनासो छ । कर असुली गर्ने ठेकेदारले मोटरसाइकल, अटो टेम्पोलाईसमेत छोडेका छैनन् । 'घरबाट बजार जाँदा पनि कर तिर्नु परेको छ। भिमान भएर सदरमुकाम आउँदा मोटरसाइकलको १५ रुपैयाँ छोडेका छैनन्,' खड्काले भने, ‘१८ किलोमिटर सडक प्रयोग गरेको १५ रुपैयाँ तिनुपर्छ । यो त मनपरी भयो ।’

भिमान घर भई कामले सिन्धुलीमाडी आउने जो कोहीले दैनिक रकम बुझाउनु परेको अर्का स्थानीय सूर्यकुमार ब्लोनले बताए । उनी भन्छन्, ‘घरबाट बजार जाँदा पनि कर असुलेका छन् । यस्तो लुट हुँदा पनि स्थानीय प्रशासन मौन छ ।’

नजिकै घर भएकाले पनि कर तिर्नुपर्छ र भन्दा असुली गर्न बसेकाहरूले 'सडक बोर्डलाई गएर भन्नू' भन्ने जवाफ दिने गरेको ब्लोनले सुनाए । सडक बोर्ड नेपाल मार्फत् बीपी राजमार्गको भिमान, रतनचुरा, काभ्रेभन्ज्याङमा कर असुली हुन्छ । सरकारी अड्डाको नामबाट यसरी मनपरी रकम असुली हुनुले राज्यको नाममा लुट भएको दुधौलीका रितबहादुर परियार बताउँछन् ।

उनी भन्छन्, ‘सातामा ६ पटकसम्म सदरमुकाम ओहोरदोहोर गर्नुपर्छ, कर तिर्दा हैरान हुने भइयो । मोटरसाइकलकोसमेत कर लिनु नाजायज हो ।’ स्थानीयले सडक प्रयोग गरेको कर बुझाउनु नपर्ने भए पनि असुल्न नछाडेको उनले बताए ।

सडक बोर्ड नेपालबाट ठेक्का लिई भिसान कन्ट्रक्सनले पटके सवारी कर असुलेको हो । बर्दिवास–सिन्धुली–खुर्कोट खण्डको ७६ किलोमिटर सडकमा दुई स्थानमा पटके सवारी दस्तुर संकलन हुने गरेको छ । साउनदेखि लागेको ठेक्कामा मोटरसाइकल र अटोबाट मात्रै १० लाखभन्दा बढी पटके सवारी दस्तुर संकलन गरिएको स्थानीयले बताएका छन् ।

सवारी करको ठेक्का लिँदा नै असुल गर्ने भनिएकाले आफूहरूलाई अन्य विकल्प नदिएको भिमास कन्ट्रक्सनका प्रतिनिधिहरू बताउँछन् । सडक बोर्डले असुल नगर्ने भनेमा त्यसै छाडिदिने उनीहरूको भनाइ छ । मनपरी असुली भएको गुनासो नआएकाले त्यसतर्फ हालसम्म ध्यान नपुगेको भन्दै अब कर्मचारी खटाएर के रहेछ बुझ्ने प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले बताए । उनी भन्छन्, 'जथाभावी असुल भएको रहेछ भने कानुन बमोजिम कारबाही हुन्छ ।'

स्थानीय तहले लगाएको निकासी कर पनि मनपरी असुली गरेको व्यवसायीहरूले बताएका छन् । कमलामाई नगरपालिका र गोलन्जोर गाउँपालिकाले लगाएको निकासी करमा तोकिएको दररेटभन्दा दोब्बर र तेब्बर असुल गर्ने व्यवसायीहरूको भनाइ छ । कमलामाईले वडा नम्बर ३ को सोलाभन्ज्याङ र गोलन्जोरले रतनचुरामा ठेकेदार मार्फत् ढाँट राखेर निकासी कर उठाइरहेका छन् ।

प्रकाशित : आश्विन ३१, २०७८ १५:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?