कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

पर्वमा वृद्धवृद्धाको हात रित्तै

कान्तिपुर संवाददाता

दोलखा — उमेरले ९० टेक्न लागेका वैत्यश्वर—६ नाम्दुका जयबहादुर कार्की सामाजिक सुरक्षा भत्ता लिन मैनापोखरीको बैंकमा पुगे । तर बैंकले उनलाई दसैंअघि रकम दिन नसक्ने भन्दै फर्काइदियो ।

आफ्नो र श्रीमतीको सामाजिक सुरक्षा भत्ताले चाडपर्व टार्ने गर्थे । यो वर्ष बैंकले पैसा नदिएपछि उनी निराश छन् । गाउँमा कतै सापटी पाइन्छ कि भनेर चहारिरहेका छन् । एक छोरीका बाबु उनी घरमा कमाउने कोही छैन । ‘समयमा कुनै जोहो गरिएन, वृद्ध भत्ता आइहाल्छ भन्ठानियो,’ उनले भने, ‘यसैले चाड मानौंला भनेर बसें, अहिले बैंकले पैसा दिएन ।’ उनीसहित ८४ वर्षीया श्रीमती गंगामायाको चौमासिक सामाजिक सुरक्षा भत्ता ३२ हजार हुन्छ । दुवै जनाको मुख्य आम्दानीको स्रोत भनेको त्यही भत्ता नै हो । गंगामायाले दुखेसो पोखिन्, ‘छोरीज्वाइँ र नातिनातिनालाई टीकाटाला गर्न र दसैं मनाउन कहाँ माग्न जाने ?’ नाम्दुकै ७८ वर्षीय महेश्वर घिमिरे पनि बैंकबाट रित्तो हात फर्केपछि दसैं कसरी टार्ने भन्ने चिन्तामा छन् । ‘नातागोतालाई टीकाटाला गर्दा दक्षिणा दिन पुग्थ्यो,’ घिमिरेले भने ।

चाडपर्वमा वृद्धवृद्धालगायतले सरकारले दिने भत्तालाई सबैभन्दा महत्त्वपूर्ण मान्छन् । चाडपर्वकै मुखमा बैंकले भत्ता नदिई फर्काउँदा अधिकांशको मन खिन्न भएको छ । वैत्यश्वरका सबै २७ सय लाभग्राहीले यसपटक सामाजिक सुरक्षा भत्ता पाएनन् । ‘विगतमा वडामै भत्ता वितरण गर्ने भएकाले सहज थियो,’ वडाध्यक्ष स्वराज रिमालले भने, ‘बैंक खाता सबैको खोलिदियौं तर बैकले पैसा दिएन, बेखर्ची भइयो, दसैं कसरी मनाउने भन्दै घरमै धाउँछन् ।’ बैंकलाई घुम्ती सेवा दिन आग्रह गरे पनि दसैंपछि मात्रै बाँड्न सकिने जवाफ दिएको उनले बताए ।

एक साताअघि नै भत्ता बैंकमा पठाइसकेको गाउँपालिकाका कार्यकारी प्रमुख गणेशराम पोखरेलले बताए । ‘बैंकले किन दिएन, त्यो थाहा भएन ।’ गाउँपालिकाले एक साताअघि भने पनि ५ दिनअघि मात्रै बैंकमा सामाजिक सुरक्षाको रकम जम्मा गरेकाले रुजु गर्न नभ्याएको प्राइम बैंक मैनापोखरीका शाखा प्रबन्धक पुरुषोत्तम सुवेदीले बताए ।

प्रकाशित : आश्विन २५, २०७८ ०७:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?