चितवनमा बसको ठक्करले बालकको निधन, स्थानीयको प्रदर्शन रोक्न अश्रुग्यास प्रहार- वाग्मती - कान्तिपुर समाचार

चितवनमा बसको ठक्करले बालकको निधन, स्थानीयको प्रदर्शन रोक्न अश्रुग्यास प्रहार

रमेशकुमार पौडेल

चितवन — बसको ठक्करबाट बालकको मृत्युलाई लिएर भएको विरोध प्रदर्शन रोक्न चितवन प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । आइतबार दिउँसो साढे ३ बजेतिर भतपुर महानगरपालिका–७ विकासचोकमा बा १ प १२८४ नम्बरको बसले ८ वर्षीय बालकलाई ठक्कर दिएपछि मृत्यु भएको थियो । सोही विषयलाई लिएर स्थानीयले प्रदर्शन गरेका थिए । 

‘बस प्रहरी कार्यालयमा ल्याउन अवरोध हुन थालेपछि हामीले अश्रुग्यास प्रहार गरेर भीडलाई नियन्त्रणमा लिनु पर्ने अवस्था आएको हो । साँझ साढे ७ बजेतिर हामीले बस पनि प्रहरी कार्यालयमा ल्याएका छौं । अहिले अवस्था सामान्य बनेको छ’, चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी सूर्यबहादुर थापाले बताए ।

डिएसपी थापाका अनुसार ठक्करबाट घाइते भएका बालकलाई भरतपुर अस्पताल पुर्‍याएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । घटनापछि बालकसँगै रहेकी हजुरआमा सूर्यकुमारी लामिछाने अचेत भएकी थिइन् ।

प्रकाशित : आश्विन २४, २०७८ २०:२४
प्रतिक्रिया
पठाउनुहोस्

१० वर्षमा ९२९ मुसहरले पूरा गरे माध्यमिक तहको पढाई

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल राष्ट्रिय मुसहर संघले ०७७ सालमा एसईई उत्तीर्ण गर्ने मुसहर र डोम समुदायका २१९ जना छात्रछात्रालाई सम्मान गरेको छ । चरम गरिबी, बञ्चितिकरण, अभाव र अशिक्षाको अँध्यरोमा बस्न बाध्य मुसहर र डोम समुदायबाट एसईई उत्तीर्णहरुलाई सामाजिक संस्था भोर नेतृत्वको शक्तिहिनको सशक्तिकरण अभियान र मुसहर संघले उच्च शिक्षाका लागि सम्मान गरेका हुन् ।

देशभरिका मुसहर र डोम समुदायबाट एसईई उत्तीर्ण विद्यार्थीलाई जनकपुरमा आयोजित समारोहबीच अभिनेता नाजिर हुसेनले सम्मान गरेका हुन् । सोही कार्यक्रमबाट ती विद्यार्थीहरुका लागि उच्च शिक्षा अध्ययन गर्न सहयोगसमेत घोषणा गरिएको छ ।

सन् २०११ मा जम्मा २ जना मुसहर बालबालिकाले एसईई उत्तीर्ण गरेका थिए । त्यसपछि बढेर अहिले त्यो संख्या २१५ पुगेको छ । बाँकी ४ जना डोम भने समुदायका हुन् । मधेसका दलितमध्ये पनि सबैभन्दा पिछडिएको समुदायका रुपमा रहेको मुसहर समुदायबाट सन् २०११ देखि हालसम्म ९२९ जना विद्यार्थीले माध्यमिक तह अर्थात् एसईई तहको परीक्षा उत्तीर्ण गरेका छन् । भोरका अध्यक्ष पचु मुसहर माझीका अनुसार सन् २०१२ मा ५ जना, ०१३ मा ७ जना, ०१४ मा ९ जना, ०१५ मा ६१ जना, ०१६ मा ९२ जना, ०१७ मा १४८ जना र ०१८ मा १६६ जना विद्यार्थीले एसईई उत्तीर्ण गरेका थिए ।

त्यस्तै, ०१९ मा १७२ जना र ०२० मा ५४ जना मुसहरले एसईई उत्तीर्ण गरेका थिए । भोरले विभिन्न दातृ निकायको सहयोगमा ती विद्यार्थीहरुमध्ये छनौट भएका विद्यार्थीहरुलाई छात्रवृत्ति सहयोग गर्दै आएको छ । भोरबाट छात्रवृत्ति प्राप्त गरेर पढेका विद्यार्थीहरुमध्ये अहिलेसम्म ४ जना प्रहरी र ४९ जना गैरसरकारी क्षेत्रमा आवद्ध भएका छन् ।

अहिले एसईई उत्तीर्ण सबै विद्यार्थीहरुले पढाईबाट बञ्चित नहुने गरी छात्रवृत्तिको बन्दोबस्त मिलाइएको अध्यक्ष माझीले बताए । ‘एसईई उत्तीर्णमध्ये सबैले पायक पर्ने ठाउँका विद्यालय र कलेज छनोट गर्छन् । त्यहाँ उनीहरुले विषयसमेत छनोट गरिसकेपछि पढाईमा लाग्ने खर्चको यकिन हुन्छ । त्यसमा पनि पिछडिएको समुदायका लागि विद्यालय र कलेजहरुसँग आग्रह गरेर छुटको व्यवस्था गर्न आग्रह गर्छौँ,’ माझीले भने, ‘त्यसरी छुट भएर पनि विद्यार्थीले तिर्न नसक्ने अवस्थामा भएमा हामीले आर्थिक सहयोग गर्दै आएका छौँ ।’

प्रकाशित : आश्विन २४, २०७८ २०:०३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×