वाग्मतीमा मत विभाजन दसैंपछि- वाग्मती - कान्तिपुर समाचार

वाग्मतीमा मत विभाजन दसैंपछि

सुवास विडारी

मकवानपुर — वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य नेतृत्व सरकारको आयु लम्बिने भएको छ । शाक्यले सदनबाट विश्वासको मत लिने प्रस्ताव आइतबारको प्रदेशसभा बैठकमा टेवल भए पनि मत विभाजन प्रक्रिया भने अर्को बैठकमा गरिने भएसँगै उनको सत्ता लम्बिएको हो । 

मुख्यमन्त्री शाक्य उपाध्यक्ष रहेको एमाले विभाजन भएर नेकपा (एकीकृत समाजवादी) गठन भएसँगै शाक्यले विश्वासको मत लिनुपर्ने अवस्था सिर्जना भएको हो । अल्पमतमा परेकी मुख्यमन्त्रीले असोज २५ गतेसम्ममा विश्वासको मत लिनुपर्ने कानुनी बाध्यता भए पनि दलहरुको सहमतिमा कात्तिकको पहिलो हप्तामात्र मत विभाजन गर्ने तयारी प्रदेशसभा सचिवालयले गरेको छ ।

‘चाडपर्वको समय छ । सत्तापक्षको आग्रहअनुसार दसैंपछि मत विभाजन गर्ने सहमति भएको हो । हामी एक हप्ताभित्रमा विश्वासको मत विभाजन गर्नेछौं’, प्रमुख प्रतिपक्षी माओवादी केन्द्रका नेता शालिकराम जम्कट्टेलले भने । सभामुख सानुकुमार श्रेष्ठले आह्वान गरेको सर्वदलीय र कार्यव्यवस्था तथा परामर्श समिति बैठकमा दसैंपछि विश्वासको मत लिने सहमति भएको थियो । ‘सत्तापक्षले दसैंपछि मत विभाजनको प्रस्ताव गरेपछि हामी सहमत भएका हौं ।’, कांग्रेस सचेतक छिरिङ दोर्जे लामाका अनुसार कार्यव्यवस्थाको बैठकमा सहमति नजुटेपछि शीर्ष नेतासहित बसेको सर्वदलिय वैठकमार्फत कात्तिकको पहिलो हप्ता मत विभाजन गर्ने सहमति भएको हो ।

एमालेको एकल बहुमतबाट मुख्यमन्त्री बनेकी शाक्य पार्टी विभाजनमा १३ सांसदले नेकपा (एस) रोजेपछि अल्पमतमा परेकी थिइन् । प्रदेशसभा नवौं अधिवेशनको पहिलो बैठकमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलका नेताहरुलाई शुभकामना मन्तव्य व्यक्त गरेका थिए । नवौं अधिवेशनको पहिलो बैठक सकिएर सभामुख श्रेष्ठले १५ मिनेटका लागि बैठक स्थगित गरेका छन् ।


प्रकाशित : आश्विन २४, २०७८ १७:२९
प्रतिक्रिया
पठाउनुहोस्

हिरासतमा थुनुवा मृत्यु प्रकरण : बन्यो छानबिन समिति

प्रदीप मेन्याङ्बो

सुनसरी — जिल्ला प्रहरी कार्यालयको हिरासतमा युवकको मृत्यु भएको विषय छानबिन हुने भएको छ । आइतबार बिहान ३ बजेर १७ मिनेटमा हिरासतभित्रै भोक्राहा नरसिंह गाउँपालिका ५ बस्ने २२ वर्षीय मोहम्मद हकिव मियाँ झुन्डिएको अवस्थामा मृत भेटिएका थिए । 

मृतक मियाँका बुबा, जिल्ला प्रशासन, भोक्राहा नरसिंह र कोसी गाउँपालिकाका अध्यक्षहरुसहितको छलफलमा घटनाबारे छानबिन गर्न समिति गठन गर्ने सहमति भएको हो ।

सहमतिअनुसार छानबिन समिति संयोजकमा सहायक प्रमुख जिल्ला अधिकारी महेश पोखरेल रहेका छन् । सहायक प्रमुख जिल्ला अधिकारी पोखरेलको संयोजकत्वमा गठित छानबिन समितिमा जिल्ला प्रहरी कार्यालयका डिएसपी नरेन्द्र कार्की, भोक्राहा नरसिंह गाउँपालिका अध्यक्ष गफार अन्सारी, कोसी गाउँपालिकाका अध्यक्ष ऐयुव अन्सारी, दुईजना वडाध्यक्ष र दुईजना मृतकका आफन्त रहेका छन् ।

छानबिन समितिले मृतकका परिवारलाई क्षतिपूर्तिका लागि गृहमन्त्रालयमा सिफारिस गर्ने पोखरेलले बताए । उनले भने, ‘मृतक मियाँको बुबाले चित्त बुझाएर वार्तामा सहमति जनाउनु भएको छ । उहाँले प्रदर्शनकारीहरुलाई आन्दोलन फिर्ता लिन अनुरोध गर्नुभएको छ ।’

यसअघि आइतबार प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा इनरुवा क्षेत्र तनावग्रस्त बनेको थियो । १२ दिनदेखि थुनामा रहेका २२ वर्षीय मियाँको आइतबार मृत्यु भएपछि आफन्तले जिल्ला प्रहरी कार्यालय अगाडि नारा जुलुस लगाउँदै टायर बालेका थिए । झडपमा प्रदर्शनकारीलाई तितरबितर गर्न प्रहरीले १२ सेल अश्रुग्यास समेत प्रहार गरेको थियो ।

इनरुवा नगरपालिका–९ बवियाका खत्वे समुदायकी १९ वर्षीया युवतीसँग प्रेम सम्बन्धपछि गाउँबाट दुवै भागेका उनीहरुलाई १२ दिनअघि प्रहरीले पक्राउ गरेको थियो । प्रहरीले युवतीलाई अभिभावकको जिम्मा लगाए पनि मियाँलाई भने अभद्र व्यवहार मुद्दामा अनुसन्धानको क्रममा थुनामा राखेको थियो ।

युवकको मृत्युपछि प्रदर्शनकारीहरुले हिरासतभित्रै हत्या गरिएको आरोप लगाएका थिए । तर, सीसीटीभी फुटेजमा भने उनी बिहान उठेर शौचालय गएको र फर्केर आएपछि हिरासतभित्रै गम्छाको सहायताले झुन्डिएको स्पस्ट देखिएको एसपी सञ्जयसिंह थापाले दाबी गरे ।

हिरासतभित्रै मृत्युको कारण खुलाउन माग गर्दै आन्दोलित स्थानीय बासिन्दा । तस्बिर : कान्तिपुर


प्रकाशित : आश्विन २४, २०७८ १७:२४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×