२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

चितवनका थारुहरू यमोसा मनाउँदै

रमेशकुमार पौडेल

चितवन — सोह्रश्राद्धको अन्तिम दिन चितवनका आदिवासी समुदाय थारुहरुले दिवंगत पितृहरुको विशेष तरिकाले सम्झना गर्दै यमोसा पर्व मनाउँछन् । थारु कल्याणकारिणी सभा चितवनलगायत थारु समुदायका विभिन्न संघ संस्थाले यमोसाको पूर्वसन्ध्यामा मंगलबार साँझ नारायणगढमा संयुक्त कार्यक्रम आयोजना गरे । यमोसा दुई दिन मनाइन्छ । औंसीको अघिल्लो दिन ‘मछुवारी’ भनिन्छ । यमोसामा चाहिने माछा अघिल्लो दिन नै मार्ने चलन छ । 

चितवनका थारुहरू यमोसा मनाउँदै

यमोसामा घरअगाडि पितृको प्रतीक ‘पहुनी’ खडा गरिन्छ । जुन हरियो सिरुबाट तयार हुन्छ । बिहान सबेरै सिरु काटेर ल्याएपछि हरियो सिरु मात्रै छानेर फेद र टुप्पा काटेर मिलाउँछन् । त्यसपछि मुठो पारेर विभिन्न फूलहरुले सिंगारेर चिटिक्कको बनाएर दैलो अगाडि आँगनमा राखिन्छ । नुहाएर चोखो भएपछि दिवंगत पितृहरुलाई सम्झँदै त्यो मुठामा पानी चढाएर पूजा गर्दछन् । आडैमा सुपारी, सुर्ती र अन्य पेय पदार्थ पनि राख्छन् ।

घाम चर्किन थालेपछि ‘पहुनी’लाई छाता ओढाउँछन् । ‘सिरुको मुठा हामीले पितृको सम्झनामा खडा गरेको प्रतीक हो । त्यसको आडमा पितृले जे खान्थे त्यो राख्नु पर्छ । घाम चर्केपछि पितृलाई छाता र छतरी पनि ओढाइ दिन्छौं,’ थारु कल्याणकारीणी सभा चितवनका सभापति ललित चौधरीले भने । कसैको घरमा एक वर्षभित्र मान्छे बितेका छन् भने बोका काटेर रगत र टाउको पितृलाई चढाउँछन् । अरुले सामान्य खाने कुरा र पानी चढाउँछन् ।

दिवंगत पितृको सम्झनामा यमोसा चितवन र नवलपुरका थारुहरुले मात्रै मनाउने सभापति चौधरीले बताए । यो दिन पाहुना बोलाएर खुवाउने चलन छ । औंसीको अघिल्लो दिन मारेको माछा पाहुनाले खाने परिकारमा प्रयोग हुन्छ । ‘सिरुको मुठा राखेर पितृ स्थापना गरेपछि त्यसमा घरका मान्छेले नुहाएर शुद्ध भएर पूजा गर्दछन् त्यसपछि मिठो खाना पकाएका हुन्छन् । बोलाएका पाहुनालाई खुपाएपछि बल्ल घरकाले खान्छन्,’ चौधरीले भने ।

पाहुनाले खाना खाएपछि उसको टाउकामा तेल लगाइदिने, काइयोले कपाल कोर्ने र फुलले सिंगार्ने काम हुन्छ । नाङ्लोमा पानी राखेर हम्कने गर्छन् । ‘मोर पितृ पित्राइन सितरे सितर जहिए भन्दै खाना खाएका पाहुनालाई नाङ्लोमा पानी राखेर हम्कने चलन छ । यो भनेको मेरा पितृहरु शीतलै शीतल जाउन भनेको हो,’ यमोसाका बारेमा जानकार थारु पत्रकार संघ चितवनका पूर्वअध्यक्ष कारी महतोले भने ।

तीज मनाएको केही दिनपछि थारु महिलाहरु भदौ कृष्ण अष्टमीमा जितिया मनाउँछन् । जितियाको आठ दिनपछि यमोसा र यमोसाको १० दिनपछि दसैं आउँछ । दसैंको १६ दिनपछि तिहारका बेलामा सोहराई पर्छ । सोहराईको ११ दिनपछि ठूलो एकादशी आउँछ । लगालग आउने यी पर्वहरु चितवन र नवलपुरका थारुहरुले विशेष रुपमा मनाउँछन् ।

‘नेपालको तराई क्षेत्रमा थारुहरुको बसोबास छ । तर यमोसा चितवन र नवलपुरका थारुहरुले मात्रै मनाउँछन् । चितवनमा पूर्वी क्षेत्रमा यमोसाको ठूलो रौनक छ । यही पर्व मनाउन भनेर विदेश गएका व्यक्तिहरु पनि घर फर्कन्छन्,’ कारी महतोले भने । थारु समुदायको मुख्य पर्वभित्र परे पनि अचेल यो पर्व ओझेल पर्न थालेको उनले बताए ।

प्रकाशित : आश्विन २०, २०७८ १२:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?