२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

कुपोषणको मारमा बालबालिका

घरमा पोसिलो खानेकुरा हुँदैन । सरकारले निःशुल्क दिने बालभिटा पनि लगेर खुवाउँदैनन् । जसले बालबालिका कुपोषित भइरहेका छन् ।
प्रताप विष्ट

हेटौंडा — उमेर २ वर्ष । तौल साढे २ केजी । पेट ठूलो छ । तिघ्राको मासु मुजा परेको छ । गाला ख्याउटे छ । मकवानपुरको विकट कैलाश गाउँपालिका–४ लिक्चेका सोमलाल चेपाङको अवस्था हो यो । कटुन्जेस्थित स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीका अनुसार उनलाई कुपोषण भएको छ ।

कुपोषणको मारमा बालबालिका

सोमलाल मंगले र सुन्तली चेपाङका चौथो सन्तान हुन् । सोमलालका दाई र दिदीको शारीरिक अवस्था पनि त्यति राम्रो छैन । २४ वर्षकी सुन्तली पाँचौं सन्तानको आमा बन्दै छिन् । गर्भ रहेको ६ महिना भए पनि एक पटक पनि गर्भ जाँच गराएकी छैनन् । कारण यसबारे उनलाई केही थाहै छैन । नियमित गर्भ जाँच गरी स्वास्थ्य संस्थामा सुत्केरी भए सरकारले भत्ता दिन्छ भन्नेबारे पनि उनी बेखबर छिन् । त्यसमाथि स्वास्थ्य चौकी रहेको कटुन्जे पुग्नै हिँडेर कम्तीमा ३ घण्टा लाग्छ ।

अशिक्षा, सानै उमेरमा आमा हुने, धेरै सन्तान जन्माउने, जन्मान्तर कम राख्ने, गर्भावस्थामा स्वास्थ्य जाँच नगराउने, सुत्केरी गराउन अस्पताल नजाने, गर्भवती र शिशुको स्याहारमा ध्यान नदिने, कमजोर आर्थिक अवस्थाका कारण मकवानपुरका विकट भेगका बालबालिका कुपोषणबाट ग्रसित भइरहेका छन् । बालबालिकालाई कुपोषित हुनबाट जोगाउन सरकारले निःशुल्क रूपमा वितरण गर्दै आएको बालभिटासमेत धेरैको पहुँचमा छैन । यसबारे जानकार अभिभावकहरू पनि पहिलो पटक खुवाएपछि दोस्रो, तेस्रो पटक लिनै जाँदैनन् ।

लिक्चेका चेपाङ समुदायका अधिकांश बालबालिका कुपोषणले ग्रसित रहेको गाउँपालिकाका स्वास्थ्य शाखाका संयोजक श्याम महतोले बताए । ‘यो समुदायमा बालविवाह गर्ने प्रचलन छ । आफ्नो कृषि उत्पादनले मुस्किलले ४ महिना पनि खान पुग्दैन । यस्तोमा ठूलो परिवारलाई खानकै समस्या हुन्छ,’ उनले भने, ‘यसको मुख्य असर बालबालिकामा परेको छ ।’ उनका अनुसार गत आवमा कैलाशका १ हजार ८ सय २० जना बालबालिकामा बालभिटा पुर्‍याउने लक्ष्य लिइएको थियो । तर पहिलो पटकमा जम्मा ३ सय ५० जनाले मात्रै लगे । दोस्रो पटक लिन आउने १ सय १ जना र ४५ जनाले तेस्रो पटक बालभिटा लगेको तथ्यांक छ ।

जिल्लाको अर्को विकट राक्सिराङ गाउँपालिकामा पनि धेरै बालबालिकालाई कुपोषण छ । तर पनि अभिभावकहरूले बालभिटा खुवाउँदैनन् । गाउँपालिकाले गत आवमा १ हजार ८ सय ३० बालबालिकालाई बालभिटा खुवाउने लक्ष्य लिएको थियो । तर पहिलो पटक साढे ३ सय अभिभावकले बालभिटा लगेकोमा बच्चाले खानै मन नगरेको भन्दै त्यसपछि कोही पनि लिन नआएको गाउँ स्वास्थ्य शाखा प्रमुख विजय कापरीले बताए । भने, ‘घरमा पोषणयुक्त खानेकुरा पनि छैन तर सरकारले निःशुल्क उपलब्ध गराएको बालभिटा लगेर खुवाउँदैनन् ।’

थाहा नगरपालिकाले पनि गत आवमा १ हजार ३ सय ३२ जना बालबालिकालाई बालभिटा खुवाउने लक्ष्य लिएको थियो । जसमा पहिलो पटक ५ सय ५८ अभिभावकले बालभिटा बालबालिकालाई खुवाए । दोस्रो पटकमा २ सय २८ र तेस्रो पटकमा यो संख्या १ सय ११ मात्रै रहेको नगर स्वास्थ्य शाखाका प्रमुख मेघराज बलामीले बताए । उनका अनुसार विशेषगरी नगरका दुर्गम मानिने बस्तीका अभिभावकहरू यसबारे जानकार नै छैनन् । भए पनि लगेर खुवाउँदैनन् ।

जन्मेको ६ महिनादेखि २ वर्षमुनिका बालबालिकालाई कुपोषण र श्वासप्रश्वासको समस्याबाट बचाउन, फुर्तिलो बनाउन बालभिटा खुवाउने गरिन्छ । यसका लागि पोषण तथा एकीकृत बालरोग व्यवस्थापनअन्तर्गत बालभिटा कार्यक्रममार्फत प्रत्येक स्थानीय तहले बालभिटा निःशुल्क उपलब्ध गराउँदै आइरहेका छन् । जसअनुसार जन्मेको ६ महिनादेखि ११ महिनासम्म, १२ महिनादेखि १७ महिनासम्म र १८ महिनादेखि २३ महिनासम्मलाई हुने गरी ३ पटकसम्म बालभिटा वितरण हुन्छ । तर अधिकांश अभिभावकहरूले यसमा चासो दिने नगरेको बताउँछन् कैलाश गाउँपालिका अध्यक्ष टंकबहादुर मोक्तान ।

प्रकाशित : आश्विन १९, २०७८ ०८:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?