माछा मार्ने लाइसेन्स दिन माग

‘यो वर्ष दुई सय जनाले माछा मार्ने लाइसेन्स नवीकरण गरेका छन्, जसमा बोटेहरु १ सय १ जना छन्’
रमेशकुमार पौडेल

चितवन — भरतपुर महानगरपालिका १३ र २२ मा पर्ने पटिहानी राप्ती किनारका बोटे समुदायका हरेक व्यक्ति खोला र नदीमा माछा मार्न पाउनुपर्ने आफ्नो परम्परागत पेसामा सरकारी हस्तक्षेप नहोस् भन्ने चाहन्छन् । उनीहरूको पितापुर्खाले माछा मार्दै आएको खोला अहिले चितवन राष्ट्रिय निकुञ्जको सिमानाभित्र पर्छ । जहाँ निकुञ्जले दिएको अनुमतिपत्र भएकाले मात्रै माछा मार्न पाउँछन् । भरतपुर–२२ को बोटे टोलमा झन्डै ६८ घरधुरी छन् ।

महानगरपालिकाको सबैभन्दा ठूलो बोटे बस्ती यही भएको वडाध्यक्ष विष्णुराज महतोले बताए । वडा १३ का समेत जोड्दा पटिहानीमा सय घर बोटेहरूको बसोबास रहेको नेपाल बोटे समाज चितवनका अध्यक्ष इन्दिरा बोटेले बताइन् । ‘निकुञ्ज बन्नुभन्दा अघिदेखि राप्ती किनारमा बसेर माछा मार्दै आएका यी सबै घरलाई माछा मार्ने लाइसेन्स दिनुपर्छ,’ इन्दिराको माग छ ।

तर पटिहानीका पुगनपुग ३० घरले मात्रै माछा मार्ने लाइसेन्स पाएको इन्दिराले बताइन् । अध्यक्ष इन्दिराका अनुसार चितवनमा ३५ सयको हाराहारीमा बोटे समुदायको जनसंख्या छ । उनीहरू प्रायः चितवन निकुञ्जको सिमाना आडका राप्ती, रिउजस्ता खोला र नारायणी नदीको किनारमा बसेका छन् । चितवन राष्ट्रिय निकुञ्जले नदी आडमा बस्ने माछा मार्ने पेसा भएकाहरूलाई अनुमतिपत्र (लाइसेन्स) दिएको छ । त्यसरी माछा मार्ने लाइसेन्स भएकाहरू निकै कम छन् ।

‘यो वर्ष दुई सय जनाले माछा मार्ने लाइसेन्स नवीकरण गरेका छन् । नवीकरण गर्नेमध्ये बोटेहरू १ सय १ जना छन्,’ चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी रहेका सहायक संरक्षण अधिकृत लोकेन्द्र अधिकारीले भने । पटिहानीको जस्तो बोटेको बाक्लो बसोबास माडीमा छ । राप्ती आडका पूर्वी चितवन र पश्चिम चितवनका जगतपुर, मेघौली र नारायणी आडको दिव्यनगर, गुञ्जानगर, मंगलपुरमा पनि बोटेहरू छन् । बोटेका घरधुरीमध्ये मुस्किलले १०/१५ प्रतिशतले मात्रै माछा मार्ने लाइसेन्स पाएको बोटे अगुवाहरू बताउँछन् । ‘जसको माछा मार्नेबाहेक केही अरू पेसा र उपाय छैन, त्यसलाई हामीले लाइसेन्स दिएका छौं,’ सहायक संरक्षण अधिकृत अधिकारीले भने । बोटे अगुवा इन्दिरा बोटे माछा मार्ने परम्परागत ज्ञानबाहेक बोटेहरूसँग अन्य पेसा नभएको बताउँछिन् ।

किन मार्नुपर्‍यो माछा ?

‘अधिकांश बोटेहरूसँग जग्गा छैन । कसरी खेती गर्ने ? पढाइ लेखाइ छैन, कसले जागिर दिने ? पुँजी छैन, व्यपार कसरी गर्ने ? हाम्रो परम्परागत सीप माछा मार्ने हो । माछा मार्न पाउनु हाम्रो अधिकार हो । त्यसैले बार बन्देज नहोस् भन्ने हाम्रो माग छ,’ अध्यक्ष इन्दिरा बोटेले भनिन् । नेपाल महिला बोटे समाजकी केन्द्रीय संयोजक बिना बोटे आफूहरू संगठित भएर ६१ सालदेखि यो आवाज उठाउँदै आएको बताउँछिन् । ‘जिल्लाका सप्पैलाई भनियो । केन्द्रका धेरैलाई सुनाइयो । आईएलओका प्रतिनिधिहरू यही टोलमा आउँदा हाम्रो अधिकार भएका कारण माछा मार्न पाउनुपर्छ भनियो । अग्नि सापकोटायताका सबै वनमन्त्रीलाई भनिएको छ । हरेक वार्डेन आउँदा यही विषयमा झगडा पर्दछ’ बिनाले सुनाइन् । तर अधिकार स्थापित हुनुभन्दा माछा मार्‍यो भनेर बोटेलाई गिरफ्तार गर्ने, मुद्दा लगाउने र ठूलो मात्रामा जरिवाना गर्ने चलन बढ्न थालेको उनले बताइन् ।

बोटे समुदायलगायत निकुञ्ज र आदिवासीसँग जोडिएका समस्या र सवालहरूका विषयमा अभियान चलाउँदै आएका संरक्षित क्षेत्र जनअधिकार महासंघका अध्यक्ष छविलाल न्यौपाने राष्ट्रिय निकुञ्जको पाँचौं संशोधनले परम्परागत पेसा गर्नेहरूलाई निकुञ्जले बाधा गर्न नमिल्ने व्यवस्था गरेको बताउँछन् । ‘दफा ५ को उपदफा २ मा परम्परागत रूपमा गर्दै आएका जंगली कन्दमूल र सागसब्जी टिप्न, माछा मार्न दिने भन्ने छ’ उनले भने । तर नियमावलीमा भएको व्यवस्थाअनुसार अनुमतिपत्र नवीकरण हुँदै आएको सहायक संरक्षण अधिकृत अधिकारी बताउँछन् ।

आर्थिक वर्ष ०७५/७६ पछि माछा मार्न नयाँ अनुमतिपत्र जारी गर्न छाडेको र आवश्यक पर्नेहरूले नवीकरण गर्दै आएको उनले बताए । जति घर छन् सबैलाई अनुमतिपत्र दिन थाल्ने हो भने खोलाभरि मान्छे मात्रै हुने उनले बताए । त्यसैले अवस्था र सम्भावना हेरेर अनुमतिपत्र दिएको उनको भनाइ छ । राप्ती र नारायणी दुर्लभ घडियाल गोहीको बासस्थल हो । घडियालको आहारा माछा मात्रै हो । ‘मान्छेका लागि अनेक विकल्प छन् । विकल्प हुनेले विकल्प रोजौं । माछा घडियालका लागि उपलब्ध होस् भनेर केही व्यवस्थाहरू भएका छन्,’ कसरामा रहेको घडियाल गोही प्रजनन् केन्द्रमा लामो समय काम गरेका चितवन राष्ट्रिय निकुञ्जका अवकास प्राप्त सहायक संरक्षण अधिकृत वेदबहादुर खड्काले भने ।

घडियालसम्बन्धी ज्ञानमा बोटेहरू अब्बल रहेको बिना बोटे बताउँछिन् । बोटेको ज्ञानले अरू व्यक्तिहरू गोही विज्ञ भएको उनले सुनाइन् । बोटेलाई घडियालविरोधी भनेर चित्रण हुन थाल्नु दुःखद भएको उनले बताइन् । भरतपुर–१३ का ३१ वर्षीय सुरेश बोटे घडियाल प्रजनन् केन्द्रका लागि गोहीको अण्डा बटुल्ने काम गर्छन् । ‘सरहरू संरक्षण भए बोटेलाई पनि फाइदा पुग्छ भन्नुहुन्छ । तर खै के र कस्तो फाइदा पुग्ने हो,’ उनले प्रश्न गरे ।

खोला र नदीमा माछा नै कम हुँदै गएका कारण माछा नै मारेर गुजारा हुने सम्भावना छैन । अधिकारकर्मी छविलाल न्यौपाने मछा मार्न पाउनु बोटेहरूको परम्प्रागत अधिकारको विषय भएका कारण यसलाई कसैले हनन गर्न नमिल्ने तर जीविकोपार्जनका लागि थप व्यवस्था गर्नुपर्ने बताउँछन् । ‘जीविकोपार्जनका लागि सामूहिक काम गर्नुपर्दछ । यसका लागि स्थानीय तहले योजना तयार गर्नुपर्छ’ न्यौपानेले सुझाव दिए । भरतपुर–२२ का वडाध्यक्ष विष्णुराज महतो शिक्षा महत्त्वपूर्ण कुरा भएका कारण वडाले बोटेहरूको छात्रवृत्तिका लागि दुई लाख रुपैयाँ दिने गरेको बताए । यसका साथै सामाजिक सुरक्षाभत्ता ६० वर्षकै उमेरमा पाउन अभियान चलाउन उनले बोटे अगुवाहरूलाई सुझाव दिए । ‘परम्परागत पेसाबाट गुजारा गर्न गाह्रो छ । वडाले ब्युटिपार्लर तालिम गर्दा गाइड तालिम गर्दा बोटेहरूलाई समावेश गराउन खोजेको छ,’ वडाध्यक्ष महतोले भने ।

वडाले आयोजना गरेको तालिममा ब्युटिपार्लरका लागि दुई जना र गाइडमा ६ जनाले भाग लिए । ‘पटिहानी क्षेत्र पर्यटकीय क्षेत्र हो । ठूलाठूला होटल बन्दै छन् । बोटेहरूले अब आफूलाई त्यो ठाउँमा लाग्ने योजना बनाउनुपर्‍यो’ वडाध्यक्ष महतोले भने ।

प्रकाशित : आश्विन १७, २०७८ १२:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?