गाडी चलाउन ह्युमपाइप राखिँदै

मेलम्ची नगरको बजारभर थुप्रिएका बालुवा, गेगर कालो लेदो फाल्न ९ वटा एस्क्काभेटर, दुई बुल्डोजर र दर्जन टिपर प्रयोग
अनिश तिवारी

सिन्धुपाल्चोक — बाढीले क्षतिग्रस्त भएको साढे तीन महिनापछि हेलम्बु र मेलम्ची नगर बजारक्षेत्रको तटीय भेगमा धमाधम ह्युमपाइप राखेर अस्थायी सडक बनाउन थालिएको छ । साता अघिदेखि मेलम्ची नगरपालिका–११ मेलम्ची बजार क्षेत्रबाट विभिन्न गाउ जोड्न १६ वटा ह्युमपाइप ल्याएर पुल नभएको स्थानमा हाल्न थालिएको हो ।

गाडी चलाउन ह्युमपाइप राखिँदै

मेलम्चीको बाढीले हेलम्बु र मेलम्चीभर चार पक्की पुल, सात झोलुंगे पुलसहित १० हजार हेक्टर क्षेत्रफल जमिन बगर बनायो । मेलम्ची बाढीमा तीन सय घर बगेका थिए । २०५९ मा करोडौं लागतमा निर्मित मेलम्ची–१० र ११ जोड्ने मोटरेबल पुल बगाएपछि इन्द्रावतीसहित सदरमुकाम चौतारासँग मेलम्ची बजार जोड्ने सीधा सम्पर्क टुटेको थियो ।

तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेर जबराले विसं १९८६ मा बनाएको मेलम्ची–११ बाट शिखरपुर गाउँ जोड्ने झोलुंगे पुल चुँडालेको थियो । उद्योग वाणिज्य संघ मेलम्चीका महासचिव तारा बानियाका अनुसार मेलम्ची बजारबाट इन्द्रावती गाउँपालिका जोड्ने सडक ह्युमपाइप राखेर निर्माण गर्न सातादिन जति लाग्नेछ । उक्त काम इन्द्रावती अस्थायी बाटो निर्माण उपभोक्ता समितिले गरिरहेको छ ।

मेलम्ची नगरको बजारभर थुप्रिएका बालुवा, गेगर कालो लेदो निकालेर फाल्न ९ वटा एस्काभेटर, दुई बुल्डोजरसहित दर्जन टिपर प्रयोग भइरहेको छ । बाढीमा मेलम्ची बजारका ७० भन्दा बढी घर बालुवा, लेदो र ग्रेगरले भरिएका थिए । तीमध्ये अधिकाशं घर बस्न योग्य बनाइएको छ । धेरैमा होटेल र पसल सञ्चालनमा ल्याइसकेका छन् । हेलम्बुको सेमिसिदाङ हिमालको असार १ मा काख भेमेथाङ्ग चौर सोहोरिएर आएको बाढीले हेलम्बु गाउँपालिकाका स्थानीय र मेलम्ची खानेपानी आयोजनाका कर्मचारी गरी पाँच जनाले ज्यान गुमाएका थिए । उक्त बाढीमा २० जना अझै बेपत्ता छन् ।

मेलम्ची नगरपालिकाका मेयर डम्बर अर्यालले तत्काल बेलिब्रिज नबन्ने देखिएपछि अस्थायी ह्युमपाइप सडक र पुल जोड्न लागेको बताए । तत्कालीन अस्थायी आवासका लागि कार्ययोजना बनाइरहेको र पीडितले जग्गा खोजेकै स्थानमा स्थायी आवास बनाउनेबारे छलफल भइरहेको उनले जानकारी दिए । बाढीले धेरै क्षतिग्रस्त हेलम्बुको तटभेगको मेलम्ची नदी किनार हुँदै बाढीले टुटाएको २३ किलोमिटर सडक जोडिन थालिएको र त्यसको लागि नौवटा एस्काभेटर प्रयोग भइरहेको उनले बताए । ‘विस्थापितका लागि अस्थायी आवास बन्दै छ, बाढीले टुटाएको इलाकामा पनि ह्युमपाइप राखेर सडक जोड्दै छौं,’ उनले भने । बाढीले ध्वस्त तुल्याएको हेलम्बु गाउँपालिका र मेलम्ची नगरक्षेत्रमा दुई महिनायता पाँचवटा यान्त्रिक बेलिब्रिज पुलको प्राविधिक अध्ययन सकिए पनि कामले तीव्रता पाउन सकेको छैन ।

प्रकाशित : आश्विन १७, २०७८ १२:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?