कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

फेरिँदै वङ्गेरी बस्ती

प्रताप विष्ट

हेटौंडा — गाउँमा स्कुल थिएन, अहिले पढ्न थालेका छन् । हिउँदमा खोलाको, वर्षामा बलेसीको पानी पिउँदै आएकाले अहिले शुद्ध पानी पिउन पाएका छन् । घामपानी दुवै छिर्ने खरको छानामा अहिले जस्तापाता टल्किँदै छ । ‘मेयर साब आएर गाउँको अवस्था हेरेपछि विस्तारै परिवर्तन आउन थालेको छ,’ स्थानीय युवक तीर्थराज चेपाङले भने ।

हेटौंडा उपमहानगरपालिका–१५ वङ्गेरीको अवस्था बुझ्न ६ महिना अघि उपमहानगरपालिकाका मेयर हरिबहादुर महत हिँडेर गाउँ पुगेका थिए । उपमहानगरपालिका भए पनि पथलैया–हेटौंडा सडक खण्डको रातोमाटेबाट २ घण्टा हिँडेर पुगिने वङ्गेरी, जुनेली दमार र तल्लो खर्कका बासिन्दाको अवस्था अत्यन्त नाजुक थियो । मेयर महत उक्त क्षेत्रमा पुगेर फर्केपछि गाउँका बालबालिका अध्ययन गर्न वङ्गेरीमा सामुदायिक सिकाइ केन्द्र स्थापना गरिएको छ । उक्त सिकाइ केन्द्रमा पढाउन उपमहानगरपालिकाले आइसा चेपाङलाई खटाएको छ । चेपाङ चुरिया रातोमाटेकी बासिन्दा हुन् ।

उक्त बस्तीमा ५ कक्षासम्म पनि पढेका बालबालिका नै छैनन् । पढ्नका लागि साढे २ घण्टा हिँडेर चुरियामाई रातोमाटे आउनुपर्ने बाध्यता भएका कारणले बस्तीका अधिकांशले अक्षरसम्म चिनेका छैनन् ।

उपमहानगरपालिकाले सिकाइ केन्द्रमा पढ्न आउने बालबालिकालाई शैक्षिक साम्रगीसहित शिक्षिकाको मासिक रूपमा तलब दिने गरेको छ । सिकाइ केन्द्रमा ४५ बालबालिकाहरू पढ्न आउने गरेको केन्द्रका अध्यक्षसमेत रहेका तीर्थराज चेपाङले बताए । उपहानगरले स्थानीयलाई शुद्ध खानेपानीको व्यवस्था पनि गरिदिएको छ । उक्त बस्तीका बासिन्दाले हिउँदमा खोलाको र वर्षायाममा बलेसीको पानी खाने गरेका थिए । अहिले शुद्ध खानेपानीको व्यवस्था भएको स्थानीय सोमबहादुर चेपाङले बताए ।

यहाँ अहिले जमिनमुनि पानी निकालेर रिजर्भ ट्यांकीमा संकलन गरेर पाइपमार्फत गाउँमा पिउने पानीको व्यवस्था गरिएको छ । अधिकांश चेपाङ समुदायको बसोबास रहेको उक्त बस्तीका घरका छानाहरू खरका थिए । ती सबै घाम छिर्ने थिए । खरको छाना हटाउने अभियानअन्तर्गत उपमहानगरपालिकाले जस्तापाता उपलब्ध गराएको छ ।

वङ्गेरी, जुनेली दमार र तल्लो खर्कका घरहरू अहिले जस्तापाताले टल्किएका छन् । जंगलको बीचमा रहेको उक्त बस्तीमा उपमहानगरपालिकाका प्रमुख महत वैशाखमा पुगेका थिए । मेयर आएर बस्तीको बासिन्दाको अवस्था अवलोकन गरेपछि गाउँको अवस्थामा परिवर्तन आएको वडाध्यक्ष महारत्न लामाले बताए । उनले भने, ‘उपमहानगरपालिकाका बासिन्दा भएर पनि जंगली अवस्थामा बाँचिरहेकाको जीवनमा परिवर्तन ल्याउन मेयर साहेब लाग्नुभएको छ ।’ उक्त बस्तीका महिलाले गर्भ परीक्षण पनि गराउँदैनन् । स्वास्थ्य चौकीमा गएर सुत्केरी पनि हुँदैनन् । स्वास्थ्य चौकीमा गएर सुत्केरी भयो भने सुत्केरी भत्ता पाइन्छ भन्ने उनीहरूलाई थाहा पनि छैन ।

स्वास्थ्य चौकी पुग्न गाउँबाट ३ घण्टा हिँड्नुपर्छ । उपमहानगरपालिकाले उक्त बस्तीमा अहिले स्वास्थ्य शिविर सञ्चालन गरेको छ । वर्षौंदेखि पसिना बगाएर सिञ्चित गरेको जमिन उनीहरूको नाममा छैन । आश्रय लिँदै आएको घरको स्वामित्व पनि उनीहरूमा छैन । चुरेको खहरेले उजाड बनाउन लागेको बस्तीका अधिकांश बासिन्दाले नागरिकतासमेत लिएका छैनन् । उक्त बस्तीमा चेपाङ र तामाङ समुदायका गरी घर ३० घरधुरी छन् । उक्त बस्तीका बासिन्दालाई कोरोनाको अत्तोपत्तो छैन । नेपाल टेलिकम र एनसेलको टावर पनि टिप्दैन । हेटौंडा उपमहागनगरपालिकाको कति नम्बर वडामा बस्छौं भन्नेसमेत उनीहरूलाई थाहा छैन ।

प्रकाशित : आश्विन १७, २०७८ १२:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?