१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

भाडा वृद्धिको निर्णय कार्यान्वयन नभएको यातायात व्यवसायीको गुनासो 

नगेन्द्र अधिकारी

काभ्रे — सार्वजनिक यातायातको भाडा वृद्धि गर्ने संघ सरकारको निर्णय प्रदेशमा कार्यान्वयन नभएको भन्दै यातायात व्यवसायीले गुनासो गरेका छन् । 

भाडा वृद्धिको निर्णय कार्यान्वयन नभएको यातायात व्यवसायीको गुनासो 

वाग्मती टिपर व्यवसायी संघको दसौं वार्षिक साधारणसभा सहभागी यातायात व्यवसायीले विभिन्न प्रदेशमा निर्णय कार्यान्वयन नभएको भन्दै अबिलम्व निर्णय गर्न अनुरोध गरे । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले संघ सरकारले २८ प्रतिशत भाडा वृद्धि गर्ने निर्णय गरे पनि केही प्रदेशमा निर्णय हुन नसकेको बताए । ‘अन्तरप्रदेश भाडाबारे संघले निर्णय गरेर कार्यान्वयन भइसकेको छ, वाग्मतीलगायत केही प्रदेशमा अझै निर्णय हुन सकेको छैन,’ कर्माचार्यले भने, ‘पटक-पटक यसबारे जानकारी गराए पनि वाग्मती प्रदेश सरकारले निर्णय गर्न सकेको छैन, छिटो निर्णय भएर कार्यान्वयन होस् भन्ने चाहेका छौं ।’ भाडा समायोजनका लागि वाग्मती प्रदेशले कार्यदल बनाए पनि निर्णय गरेको छैन ।

महासचिव सरोजकुमार सिटौलाले भाडाबारे निर्णय हुने अन्तिम चरणमा रहेको भन्दै महासंघले पहल गरिरहेको बताए । मालबहाक सवारीसाधनको पनि भाडा बढाउन महासंघले पहल गर्ने बताए । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य रहेका यातायात व्यवसायी सुरकृष्ण वैद्यले यातायात क्षेत्रलाई हर्ने सरकारी नजर फेरिनुपर्ने तर्क गरे ।

यातायात व्यवसायी राष्ट्रिय महासंघ जिल्ला समन्वय समिति काभ्रेका संयोजक राजेशकुमार श्रेष्ठले प्रदेश सरकारलाई पटक-पटक अनुरोध गर्दा पनि आलटाल गरे बढेको भाडा असुल्ने बताए । काभ्रे पुण्यवती यातायात प्रालिका अध्यक्ष राजेशसुन्दर सैंजुले यात्रुको चाप भए पनि भाडाका नबढेको कारण यातायात व्यवसायीले घाटा व्यहोरिरहेको तर्क गरे ।

वाग्मती टिपर व्यवसायी संघका अध्यक्ष प्रेम लामाले टिपरलाई रातमा मात्र गुड्न दिने निर्णयले जाँचपास लगायतका प्राविधिक पक्षमा समेत समस्या भएको भन्दै छुट्टै व्यवस्था गर्न अनुरोध गरे ।

कार्यक्रममा नेपाल हेभि इक्वइप्मेन्ट व्यवसायी संघका अध्यक्ष प्रेमलाल श्रेष्ठ, यातायात व्यवसायी राष्ट्रिय महासंघका उपाध्यक्ष यादवलाल श्रेष्ठ, सानुकाजी प्रजापतिलगायत यातायात व्यवसायीले वृद्धि भएको भाडादर तत्काल लागू गर्न अनुरोध गरे । अधिवेशनले सुरेश खत्रीको अध्यक्षतामा कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ । वरिष्ठ उपाध्यक्षमा नविन वैद्य, उपाध्यक्षमा नरेन्द्र बादे, ठाकुर गौतम, सचिव राजेश खत्री, कोषाध्यक्ष नारायणकृष्ण श्रेष्ठ, सहसचिव राजनप्रसाद पौडल र सहकोषाध्यक्षमा निर्मल श्रेष्ठ छन् । सदस्यहरुमा बद्री पुर्कुटी, पूर्णबहादुर श्रेष्ठ, अजय कार्की, दिपक अधिकारी, सुञ्जित तामाङ, जुलियस खड्का, टीकाप्रसाद हुमागाईं र सुदर्शन खत्री छन् ।


प्रकाशित : आश्विन १५, २०७८ १८:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?