१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

एकै दिन ६ विद्यालय हस्तान्तरण

भारतीय सहयोगमा अझै ६ विद्यालय बन्न बाँकी
५ वर्षमा जिल्लाका ३५७ विद्यालय बने, ५६ निर्माणाधीन
नगेन्द्र अधिकारी

काभ्रे — भारत सरकारको आर्थिक अनुदानमा बनेका जिल्लाका ६ विद्यालय एकसाथ हस्तान्तरण गरिएको छ । बनेपास्थित आजाद मावि, पनौतीस्थित शारदा मावि, पाँचखालस्थित दुग्धेश्वर मावि, भगवती मावि र चौरीदेउरालीस्थित खाडादेवी माविको भवन सम्बन्धित विद्यालय व्यवस्थापन समितिलाई एक साथ हस्तान्तरण गरिएको हो । पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा र भारतीय विदेश मन्त्रालयका सहसचिव अनुराग श्रीवास्तवले संयुक्त रूपमा विद्यालय भवन हस्तान्तरण गरे ।

एकै दिन ६ विद्यालय हस्तान्तरण

जिल्ला आयोजना कार्यान्वयन इकाइका अनुसार ६० करोड ७० लाख ९९ हजार रुपैयाँको लागतमा भारत सरकारले पहिलो चरणमा १० र दोस्रो चरणमा २ गरी १२ विद्यालयको पुनर्निर्माणको जिम्मा लिएको थियो । जसमध्ये ६ वटा हस्तान्तरण भएका हुन् । ४ वटा निर्माणको अन्तिम चरणमा रहेको र २ वटा निर्माणाधीन रहेको इकाइले जनाएको छ ।

हस्तान्तरण कार्यक्रममा पूर्वमन्त्री बाँस्कोटाले भारतसँग राजनीतिक र कूटनीतिक सम्बन्ध मात्रै नभई सांस्कृतिक, धार्मिक र प्राकृतिक सम्बन्ध रहेको तर्क गरे । भारतीय विदेश मन्त्रालयका सहसचिव श्रीवास्तवले नेपालको विकासमा आफ्नो सधैं साथ रहने भन्दै काँधमा काँध मिलाउन तयार रहेको बताए । २०७२ वैशाखको भूकम्पपछि शिक्षा, स्वास्थ्य, आवास, सांस्कृतिक सम्पदा पुनर्निर्माणको क्षेत्रमा सहयोग गरेको स्मरण गर्दै उनले यसबाट दुई देशबीचको सम्बन्ध बलियो बनाउन टेवा पुगेको जनाए ।

केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (शिक्षा) का निर्देशक रामशरण सापकोटाका अनुसार भारत सरकारले देशभरका ७० विद्यालय र त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालय पुनर्निर्माणको लागि सहयोग गरेको छ । देशभर विद्यालय पुनर्निर्माण ९० प्रतिशत सकिएको बताउँदै उनले दातृ निकायको सहयोगले पुनर्निर्माण सहज भएको बताए ।

७ अर्ब ६६ करोडका विद्यालय भवन

भूकम्पयता जिल्लामा विद्यालय पुनर्निर्माणका लागि ७ अर्ब ६६ करोड २० लाख रुपैयाँ खर्च भएको इकाइले जनाएको छ । आर्थिक वर्ष ०७३/७४ बाट पुनर्निर्माण सुरु भएकामध्ये ३ सय ५७ विद्यालयका ४ सय ५५ वटा भवन बनिसकेका इकाइकी सब–इन्जिनियर श्रेया झाले बताइन् ।

उनका अनुसार ५६ विद्यालयका १०१ भवन निर्माणाधीन छन् । विद्यालय पुनर्निर्माणका लागि नेपाल सरकारको एक अर्ब ३५ करोड १३ लाख ८६ हजार, शिक्षा विकास तथा समन्वय इकाइमार्फत सरकारको थप १७ करोड ५० लाख ८० हजार, एसियाली विकास बैंक (एडीबी) को ऋण अनुदानमा आपत्कालीन परियोजनाअन्तर्गत २ अर्ब ७० करोड ४८ लाख, एडीबीकै डीआरएसपी–पहिलोअन्तर्गत ६२ करोड ८८ लाख २८ हजार, डीआरएसपी–दोस्रो अन्तर्गत ५९ करोड ७३ लाख ६० हजार र गैरसरकारी संस्थामार्फत १ अर्ब २३ करोड ६४ लाख ८३ हजार रुपैयाँ खर्च भएको छ । निर्माणाधीन रहेका डीआरएसपी–तेस्रोअन्तर्गतका विद्यालयका लागि २८ करोड ७१ लाख र डीआरएसपीको प्रबलीकरण परियोजनाका लागि ७ करोड ३७ लाख रुपैयाँ विनियोजन भएको छ ।

इकाइ सब–इन्जिनियर झाका अनुसार भूकम्पका कारण ५ सय ८७ विद्यालयका ९ सय ५४ कक्षाकोठा पूर्ण क्षति, ९ सय १४ कक्षाकोठामा अधिक क्षति र १ हजार ४ सय ८३ कक्षाकोठामा सामान्य क्षति भएको थियो । अधिकांश सामुदायिक विद्यालयका भवनहरूमा पूर्ण तथा अधिक क्षति भएकोमा कुनै न कुनै कार्यक्रमबाट भवन निर्माण भएको छ ।

बनेपाका १७ विद्यालयमा २८, बेथानचकेकाका १६ विद्यालयमा २६, भुम्लुका २४ विद्यालयमा ३७, चौरीदेउरालीका २० विद्यालयमा ३१, धुलिखेलका १६ विद्यालयमा २२, खानीखोलाका २६ विद्यालयमा ३२, महाभारतका ३८ विद्यालयमा ७२, मण्डनदेउपुरका २८ विद्यालयमा ४८, नमोबुद्धका २५ विद्यालययमा ४८, पनौतीका १४ विद्यालयमा १६, पाँचखालका २८ विद्यालयमा ४७, रोशीका ४३ विद्यालयमा ६२ र तेमालका २० विद्यालयमा ३६ वटा भवन बनेका छन् ।

प्रकाशित : आश्विन १५, २०७८ ०९:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?