कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

पहिरोपीडितले आश्वासन पाए, रकम पाएनन्

घरबारी पूर्ण क्षति भएका १४ परिवारमध्ये केही सामुदायिक भवनको कोठामा र केही गोठमा बस्न बाध्य
केदार शिवाकोटी

दोलखा — घर पहिरोले लगेपछि तीन महिनादेखि सामुदायिक भवनमा अस्थायी रूपमा बस्दै आएकी रुपमाला पोत्रेललाई ६ जनाको परिवारको ओतको चिन्ता छ । उनको परिवार अहिले उक्त सामुदायिक भवनको एउटा कोठामा कोचिएरै निर्वाह गरिरहेका छन् । ऋणधन गरेर बनाएको घर पहिराले लगेपछि उनको परिवारको बिचल्ली भएको हो ।

पहिरोपीडितले आश्वासन पाए, रकम पाएनन्

कालिञ्चोक गाउँपालिका—५ रानीवनका पहिरोपीडितलाई वाग्मती प्रदेशले अस्थायी आवास बनाउन तत्काल २५ हजार रुपैयाँ दिने भनेको २ महिना बितिसक्दा पनि पीडितले पाएका छैनन् । ‘मन्त्रीसहित आएर अस्थायी आवास बनाउन रकम दिने भनेको अहिलेसम्म पाएका छैनौं,’ रुपमालाले दुःख मान्दै भनिन्, ‘हाम्रो अवस्था हेरेर आश्वासन त दिए तर गएपछि सबैले बिर्सदा रहेछन् ।’

छोराछोरी खोला तरेर विद्यालय जाँदा प्रत्येक दिन मनमा चिसो पस्छ रूपमालाको । ‘सामुदायिक भवनमा कति बस्न पाइन्छ थाहा छैन,’ उनले गुनासो गरिन्, ‘चाडबाड नजिक आइसक्यो । सानो आफ्नै कटेरो पनि हाल्न सकिएन ।’ सामुदायिक भवनमै रूपमालाको यस वर्षको चाड बित्ने पक्कापक्की छ । दुवै मृगौला फेल भएर प्रत्यारोपण गरेका प्रेमबहादुर लाम्गादे पनि पहिरोले घर लगेपछि सामुदायिक भवनमै बस्दै आएका छन् । भूकम्पपछि बनेका ३ घर पहिरोको जोखिममा परेपछि कहिले भाइको घर कहिले सामुदायिक भवन चाहरेको ३ महिना वितिसक्यो ।

‘सरकारले घर बनाउन रकम दिन्छ भनेर पर्खेको, उनले भने ‘आएर, हेरेर पनि फर्के । सबैलाई हाम्रो घर पहिरोले लगेको रमिता बनेको छ ।’ जो आए पनि आश्वासन मात्रै दिन थालेपछि केही गर्लान् भन्ने विश्वास पनि लाग्न छाडेको उनले वताए । ‘तीन तहको सरकार छ, मर्दापर्दा कोही हुँदो रहेनछ,’ उनले भने ‘हुने खाने नै थिए । सबै घरजग्गा लगेर सुकुम्वासी बनायो, मासिक २० हजार रुपैयाँको त औषधि नै खानुपर्छ ।’ वाग्मती प्रदेशका तत्कालीन सामाजिक विकासमन्त्री सरस्वती बस्नेत र आन्तरिक मामिला तथा कानुनमन्त्री केशवराज पाण्डेले गत साउन २३ मा स्थलगत अनुगमन गरेर पीडित परिवारलाई अस्थायी आवासका लागि २५ हजार रुपैयाँका दरले सहयोग दिने घोषणा गरेका थिए ।

तर २ महिना बित्न लाग्दासमेत पीडितले अस्थायी आवास निर्माणका लागि रकम पाएका छैनन् । घर पूर्ण क्षति भएका १४ परिवारमध्ये केही सामुदायिक भवन र केही माथिल्लो भेगमा गोठ बनाएर बसेका छन् । बाढी पसेर घर छाडेकाहरू पानी कम भएपछि भने सोही घर फर्केका छन् । कहीं कतैबाट नहेरेपछि बाढीको लेदो सफा गरेर घरै फर्केको उत्तमकुमारी थामीले बताइन् । ‘अर्काको बारीमा गोठ बनाएर बसेको थिएँ,’ उनले गुनासो गरिन्, ‘लामो समयसम्म कोही आएनन्, बारीको चिसोले बच्चा बिरामी भए, पानी थामिएला भनेर सफा गरेर बस्न लागेका हौं । उनीजस्तै ४० परिवार पुरानै घरमा फर्केका छन् ।

रानीवनमा असार पहिलो साताबाट गएको पहिरो अझै थामिएको छैन् । यस क्षेत्रमा पानी पर्‍यो भने डेढ सय परिवार घर छाडेर अन्यन्त्र बास बस्न जाने गरेको वडा अध्यक्ष सुवास थामीले वताए । ‘लगत संकलन पुनः गर्नु भनेपछि विस्थापितलाई फाराम भर्न लगाएका छौं, उनले भने ‘यो सातासम्ममा २० परिवारलाई अस्थायी आवासको रकम निकासा माग्छौं ।’ सुरुमा ९३ परिवारको लगत संकलन भएपनि प्रदेश सरकारले पुनः लगत संकलन गर्न भनेको छ । बाढीसँगै गएको पहिराले सयौं रोपनी धानखेत र बारी बगाएको वडा अध्यक्ष थामीले वताए । ‘रानीवनका ४० घर पहिरोको उच्च जोखिममा छन्,’ उनले भने, ‘पहिराले तानेका घर चर्किएका छन् ।’

वाग्मती प्रदेश सामाजिक विकास मन्त्रालयले पहिरोबाट विस्थापित परिवारलाई वितरणका लागि २ साताअघि १० लाख रुपैयाँ रकम जिल्ला प्रशासनमा पठाएको प्रमुख जिल्ला अधिकारी टेकराज निरौलाले वताए । कार्यविधि नभएकाले वितरण नगरिएको उनले सुनाए ।

प्रकाशित : आश्विन १४, २०७८ ११:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?