कतै पानीमाथि, कतै फल्याक राखेर वारपार- वाग्मती - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कतै पानीमाथि, कतै फल्याक राखेर वारपार

बजार, विद्यालय र अस्पताल पुग्न जोखिम मोलेर नदी तर्नुपर्ने बाध्यता
अनिश तिवारी

सिन्धुपाल्चोक — घर पुग्ने हतारोमा देखिएकी हेलम्बु गाउँपालिका–७ महाकाल गाउँकी ६३ वर्षीया सुनमाया तामाङ गोरेखोला छेउ पुगेपछि एकाएक रोकिइन् । पक्की मोटरेबल पुलमाथि नै खोला बगिरहेकाले पार गर्न उनलाई सजिलै आँट आएन । चप्पल हातमा लिइन् अनि पुलको छेउको भाग समात्दै बिस्तारै तर्दै गर्दा उनी आत्तिइन् । ‘पुलभरि खोलाले ढुंगा, गेगर, सिसा थुपारेको छ, कतिखेर खोला बढेर बाढी आउने हो ठेगान छैन, यसरी ज्यान हत्केलामा राखेर यात्रा गर्नुपर्छ,’ उनले भनिन् ।

गत असार १ मा हेलम्बुको भेमेथाङ चौर सोहोरिएर आएको मेलम्ची बाढीले ह्योल्मोभूमिको चनौटे रातो मोटरेबल पुललगायत बजार क्षेत्रमा क्षति पुर्‍याएको थियो । त्यसयता यहाँ हिँडडुल गर्न यसैगरी जोखिम मोल्नुपरेको छ । तामाङ पनि बजार क्षेत्र र अस्पताल जान यसरी नै आउजाउ गरिरहेकी छन् । ‘अरू विकल्प नभएपछि यही पुल नतरी सुख छैन, तर्न यस्तो डर मर्नु छ,’ उनले भनिन् । हेलम्बु–७ का सुरेन्द्र पण्डितलाई विद्यालय छुट्टी हुनासाथ घर पुगिँदैन जस्तै लाग्छ ।

स्थानीय भुमेश्वरी माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत पण्डित गोरे खोलाको मोटरेबल पुल तर्न दाइदिदीको सहारा लिन्छन् । यही पुल पार गर्दै उनी दिनहुँ विद्यालय पुग्छन् र फर्कन्छन् । ‘बर्खामासको ठाडो खोला तर्न निकै गाह्रो हुन्छ, त्यसैले अरू कसैको साथ लिएर तर्ने गरेका छौं, एक्लै तर्दा खोलाले बगाउला जस्तो हुन्छ,’ उनले भने ।

असार १ र साउन १७ मा मेलम्ची खोलामा आएको बाढीको लेदोसहित छालले गोरे खोला तर्ने पुल पुरेको थियो । बाढीमा हेलम्बुका स्थानीय र मेलम्ची खानेपानी आयोजनाको कर्मचारी गरी पाँचले ज्यान गुमाएका थिए । उक्त बाढीमा बेपत्ता भएका २० जना अझै भेटिएका छैनन् । खोलाले पुरिएकाले पुलको सतह देख्न सकिँदैन । बाढी आउँदा यो खोला पार गर्न नसकिने गरी झनै ठूलो हुन्छ । पुल माथिबाट खोला बगेपछि स्थानीयलाई आवतजावतमा अप्ठ्यारो भएको छ ।

हेलम्बुको मुख्य बजारमध्ये चनौटेको रातो पुल बगाएपछि महाकाल हुँदै हेलम्बुको १, २ र ७ नम्बर पुग्न गोरे खोला नतरी अर्को विकल्प छैन । सवारी साधनलाई गुडाउनसमेत समस्या हुने गरेको चालकहरू बताउँछन् । ‘कतै खाल्डा छ कि भन्ने भयले सवारी चलाउनुपर्छ, दुर्घटना हुन सक्ने डर उत्तिकै छ,’ सवारी चालक सुमन लामाले भने ।

पानीलाई पुलमुनिबाट पठाउने गरी व्यवस्थापन गर्न जुटिरहेको गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले बताए । ‘दीर्घकालीन व्यवस्थापनमा जुटेका छौं,’ उनले भने । मेलम्चीबाट हेलम्बुसम्मको बाढीले टुटेको सडक जोड्ने काम गर्न धमाधम सुरु गरिएको उनले बताए । हेलम्बुको चनौटे पुलमा रूखको खाँबो तेर्स्याएर फल्याकको साँघु हाल्न थालिएको छ ।

प्रकाशित : आश्विन ११, २०७८ ११:०३
प्रतिक्रिया
पठाउनुहोस्

सहरकै बालबालिका पढाइबाट वञ्चित

अभिभावक नहुनु, गरिबी र बालविवाह जस्ता कारणले विद्यालयको पहुँचबाहिर
अमृता अनमोल

बुटवल — बुटवलको मैनाबगरकी १२ वर्षीया जानकी कहारका चार भाइबहिनी छन् । पढ्न जाने उमेरका उनीहरू कोही पनि विद्यालय गएका छैनन् । उनीहरू कहिले सडकमा माग्दै हिंडेका भेटिन्छन्, कहिले अभिभावकहरूसँगै गाडी सफा गर्छन् ।

अटोभिलेजमा मजदुरी गर्ने बाबु रामजनमले त्यहींको खाली जग्गा बारेर बसेका छन् । आमा जानकी रोगी छन् । ‘खाने खर्च जुटाउन धौ धौ छ । पढ्न कहाँ पठाउनू,’ रामजनमले भने, ‘काम सिके दाम आउँछ ।’

जानकीजस्ता सहरका धेरै बालबालिका अहिले पढाइबाट वञ्चित छन् । गरिबी, अभिभावकविहीन र जोखिमपूर्ण कामका कारण बालबालिका पढ्नबाट वञ्चित भएका हुन् । बुटवल उपमहानगरमा सन् २०२१ मा गरिएको राष्ट्रिय शिक्षा अभियानको अध्ययनमा २ सय ५६ जना बालबालिका विद्यालयको पहुँचबाहिर भेटिएका छन् । त्यसमध्ये विद्यालय नै नगएका १६ जना थिए । कक्षा ८ पूरा नगरेका १ सय ६४ जना थिए । उनीहरूमध्ये १ सय ८९ जना विवाहित थिए ।

बुटवलमै सन् २०२० मा बालिकाहरूमा गरेको सर्वेक्षणले ३ सय ६ जना बालिका विद्यालयबाहिर भेटिएका थिए । उनीहरू १० देखि १८ वर्ष उमेर समूहका छन् । १४ जना विद्यालय नै नटेकेका हुन् । अरु १ देखि आधारभूत तह पूरा नहुँदै विद्यालय छोडेका छन् । त्यसमध्ये दलित १ सय १९ र जनजाति १ सय १७ जना थिए । पढ्न नजाने बालिकामा १ सय ६६ विवाहित हुन् । पढ्न नजानुको कारणमा गरिबीका कारण १ सय १, बालविवाहका कारण ७६, फेल भएर ४७ र ५९ जनाले पढ्न मन नलागेर विद्यालय जान छोडेको बताए । अति विपन्न अभिभावकका बालबालिका पढ्न जान, पढ्न गएका बालबालिका नियमित हुन र पढाइ पूरा गर्न नपाएको अध्ययनमा संलग्न राष्ट्रिय शिक्षा अभियानका सदस्य कृष्ण मल्लले बताए । ‘अध्ययनमा बुटवलका सामुदायिक विद्यालयमा करिब २० प्रतिशत बालबालिका दैनिक रूपमा अनियमित भएको भेटियो । हाटबजार र चाडपर्वका बेला अनियमित हुने बालबालिका अझ धेरै छन्,’ उनले भने ।

बुटवलको तिनाउ नदी किनारका बस्तीमा गरिबी व्याप्त छ । अस्थायी रूपमा बस्ने र मजदुरी गर्ने पनि छन् । यस्ता बस्तीका बालबालिका पढाइबाट वञ्चित भएका छन् । शिक्षामा यद्यपि पढाइको पहुँच बाहिरका बालबालिकालाई शिक्षामा जोड्न आवश्यकता अनुसार सचेतना र सहयोगका कार्यक्रम थालिएको उपमहानगर प्रमुख शिवराज सुवेदीले बताए ।

गरिबी र विपन्नताका कारण विद्यालय नजाने समस्या लुम्बिनी प्रदेशभर छ । प्रदेशको शिक्षा, विज्ञान युवा तथा खेलकुद मन्त्रालयका अनुसार प्रदेशमा प्राथमिक तहमा पढ्ने उमेरका ११ हजार बालबालिका विद्यालय बाहिर छन् । रूपन्देहीमा मात्रै यस समूहका १ हजार ९ सय २८ जना बालिका छन् ।

माध्यमिक तहमा ५५ हजार बालबालिका विद्यालयबाहिर छन् । त्यसमा रोल्पाका बढी छन् । मन्त्रालयको शिक्षा महाशाखा प्रमुख स्थानेश्वर ज्ञवालीले बालबालिका, अभिभावक, विद्यालय, शिक्षक र सरकारी सहयोगबीचको सामन्जस्य नमिल्दा धेरै बालबालिका पढाइबाट वञ्चित छन् । ‘पढाइबाट वञ्चित बालबालिकालाई विद्यालय पठाउन र बीचमा पढाइ छोड्नेलाई पुनः पढाइमा जोड्न घरदेखि विद्यालय र शिक्षकसम्मको सहयोग र समन्वय हुनुपर्छ । उनीहरूको आवश्यकता पूरा गराउने सरकारी सहयोग हुनुपर्छ,’ उनले भने, ‘हाम्रोमा आवश्यकता र कार्यक्रमले मेल नखाँदा सबै बालबालिका शिक्षामा जोडिन सकेका छैनन् ।’

नेपाल बालश्रम प्रतिवेदन, २०२१ का अनुसार नेपालमा ५ देखि १७ वर्ष उमेरका ११ लाख बालबालिका श्रमिकका रूपमा कार्यरत छन् । श्रमिक बालबालिकामा विद्यालय गए पनि नियमित नहुने र पढाइ पूरा नहुने समस्या छ । यस्तोमा अभिभावकलाई सहयोगका कार्यक्रम गरेर भए पनि बालबालिकालाई शिक्षामा जोड्नुपर्छ । ‘बालबालिका र शिक्षामा तीन तहकै सरकारको लगानी र संवेदनशीलता नहुँदा सबै बालबालिका शिक्षाको पहुँचमा नपुगेका हुन्,’ शिक्षाका लागि राष्ट्रिय अभियान रूपन्देहीकी संयोजक सुमित्रा शर्माले भनिन्, ‘त्यसमा पनि सहरी गरिब र जोखिमपूर्ण काममा वाध्य बालबालिकालाई शिक्षामा जोड्न विशेष कार्यक्रम जरुरी छ ।’

प्रकाशित : आश्विन ११, २०७८ ११:००
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×