२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

जीर्ण पुलले लियो किशोरीको ज्यान

हालसम्म चार जनाले ज्यान गुमाइसक्दा पनि सरोकारवालाको छैन चासो, स्थानीय भन्छन्– 'कतिन्जेल हामी यसरी खोलामा बग्नुपर्ने हो'
अनिश तिवारी

खाग्दल (सिन्धुपाल्चोक) — घाँसपात होस् या बिहे–व्रतबन्ध, घट्टमेल वल्लो–पल्लो गाउँ तर्ने एक मात्रै विकल्प क्षतिग्रस्त तल्लो घट्ट झोलुंगे पुल । तल उर्लिरहेको डरलाग्दो खाग्दल खोला, अघिल्लो र यही बर्खाले झोलुंगे पुललाई चुँडाउन मात्रै बाँकी राखेन् । दुवै गाउँबीच सम्पर्क टुटाइदियो । झोलुंगे पुल पुनर्निर्माणको लागि स्थानीय तहदेखि प्रदेश केन्द्रलाई स्थानीयले खुबै गुहारे । वडादेखि नगरपालिकामा धेरै पटक निवेदन दिए । तर केही भएन ।

जीर्ण पुलले लियो किशोरीको ज्यान

स्थानीय सरकार आएपनि ज्यान हत्केलामा राखेर वारपार गर्न बाध्य बनिरहेकी बाह्रबिसे नगरपालिका वडा–३ की ३० वर्षीया माइली थापा निकै दिक्क थिइन् । बुधबार त्यही पुलबाट वारी गाउँ तर्न खोज्दा खोलामा बगेर १४ वर्षीया छोरी गुमाएपछि उनको धैर्यताको बाँध टुट्यो । आफैलाई सम्हाल्न सकिनन् ।

‘सरकारले पुल नहाल्दा मैले कलिली छोरी गुमाए, सरकार दोषी हो । कतिन्जेल हामी यसरी खोलामा बग्नुपर्ने हो । हाम्रो दुःख कसले पो बुझिदेला ?,’ छोरीको शव र क्षतिग्रस्त पुल हेर्दै खोलाछेउ भक्कानिएकी उनले भनिन् । पल्लो गाउँको गोठमा घाँसपात सकेर फर्किएकी थापालाई वारी तर्न खोज्दा जीर्ण पुलबाट खसेर खाग्दल खोलामा डुबेर घटना घटेको उनले उल्लेख गरिन् । छोरी गुमाएपछि बेहोसझैं बनेकी उनीसहित असन्तुष्ट स्थानीय आक्रोशित भेटिए ।

अघिल्लो ०७७ असारमा जीर्ण पुलबाट पारी तर्न खोज्दा बाह्रबिसे नगरपालिकाकै ४३ वर्षीय अमृत बस्नेतले पुलबाट खस्दा खोलामा डुबेर ज्यान गुमाए । बर्खैपिच्छै बाढीले ध्वस्त बनाइरहने चुडिने अवस्थामा पुगेको घट्टे झोलुंगे पुल तर्न खोज्दा अहिलेसम्म स्थानीय चार जनाले ज्यान गुमाइसकेका छन् । बाह्रबिसे नगर वडा–५ रुम्टारका स्थानीय सुवेश थापाका अनुसार सरकारकै सहयोगमा २०५५ सालमा खाग्दल खोला तर्न तल्लो घट्टेमा झोलुंगे पुल हालिएको थियो । काठ र फलामे तार हालेर प्रयोगमा ल्याइएको पुल मक्किएर जीर्ण बन्यो । स्थानीय युवा क्लब र सामुदायिक वनको सहयोगमा पुल मर्मत गरियो । २०७७ साल असारमा उर्लिएको भोटेकोसी र खाग्दल बाढीले तल्लो घट्टे झोलुंगे पुललाई ध्वस्त बनाउनुका साथै खाग्दलको २१ घरलाई बगर तुल्याइदिएको थियो ।

‘वडा र नगरपालिकामा धेरै पटक निवेदन दिएर यहाँको समस्या बताएर गुहार्‍यौं । तर कसैले वास्ता गरेनन्स । समयमै झोलुंगे पुल पुनर्निर्माण नगर्दा यस्तो अवस्था छ,’ थापाले दु:खेसो पोखे । उनका अनुसार पुल प्रयोग गर्ने बाह्रबिसे नगर वडा ३ र ५ का तामाङ गाउँ, रोक्का गाउँ, बस्नेत गाउँ, कुखुरे, कल्लेरी, सोलीघोप्टे र रुम्टारका पाँच सय परिवार छन् । बाह्रबिसे नगरको पल्लो गाउँ कल्लेरी र रुम्टारबाट नुनतेल खाद्यान्न जस्ता अत्यवाश्यक सामाग्री र उपचारका लागि यही पुल प्रयोग गर्न बाहेक कुनै विकल्प छैन ।

‘कहिलेसम्म यस्तो दु:खद् खबर सुनिरहनुपर्ने हो थाहा छैन । यहाँ पुल बनाइदिने पाए भगवान बनाएर पुज्थेँ,’ बाह्रबिसे नगर वडा ५ सोलीघोप्टेका ६३ वर्षीया बलमाया विकले भनिन् । यसबारे बाह्रबिसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पासँग बुझ्न खोज्दा उनको फोन सम्पर्क हुन सकेन । बाह्रबिसे नगरपालिकाका सूचना अधिकारी ज्ञानेन्द्र महतले भने पुलबारे निवेदन आएको र माथिल्लो निकायमा विवरण पठाएको बताए । ‘पुलबारे माग आएपछि सस्पेन्सन ब्रीज डिभिजनमा पठाएका हौं । त्यहाँबाट केही प्रतिक्रिया आएको छैन,’ उनले भने ।

बाह्रबिसे नगर वडा–३ का अध्यक्ष टेकबहादुर भण्डारीले भने नगरको कार्यपालिकाको बैठकमा पुलको समस्याबारे बारम्बार आवाज उठाउँदा पनि सुनवाई नहुँदा आफै दिक्क भएको बताए । ‘जनतालाई जवाफ दिन सकेको छैन । कार्यपालिका बैठक र प्रत्येक छलफलमा कुरा उठाउँदा केही हुँदैन । अनि कसलाई के भन्ने र ?,’ उनले भने ।

घटना लगत्तै बाह्रबिसे नगरपालिका वडा ३ र ५ का स्थानीयले झोलुंगे पुलको समस्या र यसबाट ज्यान गुमाएको घटनाबारे बुझिदिन जनप्रतिनिधिलाई आग्रह गरेका छन् ।

प्रकाशित : आश्विन ९, २०७८ १३:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?