ज्योति फर्किंदाको खुसी

देख्न सक्ने भएपछि कोही चिकित्सकका औंला गनिरहेका थिए त कोही खुसीले छमछमी नाचिरहेका थिए
केदार शिवाकोटी

दोलखा — कक्षामा शिक्षकले पाटीमा लेखेको साथीहरूले प्रस्ट देख्दा उनलाई अक्षर खुट्याउनै असहज हुन्थ्यो । आँखाको दृष्टि गुम्दै गइरहेकामा कालिञ्चोक गाउँपालिका–७ की १० वर्षीया जेशिका पौडेलले न आफैंले चासो दिएकी थिइन्, न अभिभावकलाई नै भनेकी थिइन् । शिक्षकलाई आफूले पाटीमा लेखेको नदेखेको भनेर बताएपछि मात्र छोरीको आँखामा समस्या रहेकोबारे शिक्षकमार्फत नै उनका अभिभावकले पत्तो पाएका हुन् ।

ज्योति फर्किंदाको खुसी

बाबु विष्णु पौडेलले पनि सुरुमा त सामान्य समस्या मात्रै होला भन्ने सोचे । अस्पताल लगेनन् । तिलगंगा आँखा प्रतिष्ठानले उनको गाउँमै आँखा शिविर राखेपछि जेशिकाको आँखा परीक्षण भयो । तबमात्र उनलाई जन्मजात मोतियाबिन्दु भएको खुलेको हो । चिकित्सकहरूका अनुसार मोतियाबिन्दु अन्तिम चरणमा थियो । बिहीबार दोलखा आँखा अस्पतालमा उनको मोतियाबिन्दुको शल्यक्रिया भएको छ । शुक्रबार दुवै आँखाको पट्टी खोलेपछि उनले चिकित्सकको औंला गन्दै जवाफ फर्काइन् । गुम्नै लागेको दृष्टि पुनः फर्किएपछि उनको अनुहारमा चमक थियो । भनिन्, ‘अब त सरले बोर्डमा पढाएको पनि स्पष्ट देख्छु ।’

छोरीको आँखाको समस्या समाधान भएपछि बुबा विष्णु पनि खुसी देखिन्थे । तर ढिलो गरी मात्रै उपचार गर्न ल्याएकोमा भने उनी खिन्न थिए । ‘देख्न छाडें भनेर कहिल्यै भनिन्,’ उनले भने, ‘हामीले पनि छोरी स्कुल गइराखेकी छे भनेर वास्ता गरेनौं । यही समयमा शिविर पनि आएकाले ढुंगा खोज्दा देवता मिलेजस्तो भएको छ ।’

जेशिकाको शल्यक्रिया संलग्न नेत्र विशेषज्ञ डा. सागर रुइतका अनुसार समयमै शल्यक्रिया नभएको भए उनको दृष्टि गुम्न सक्थ्यो । ‘ठीक समयमा जेशिकाको उपचार भयो,’ उनले भने, ‘एक–दुई महिना तलमाथि भएको भए जीवनभर उनले दृष्टि गुमाउने थिइन् ।’ सामान्यतया बढ्दो उमेरका व्यक्तिमा हुने मोतियाबिन्दु बालबालिकामा भने जन्मजातै पनि देखिन्छ । बालबालिकामा ३ कारणले मोतियाबिन्दु हुने डा. रुइत बताउँछन् । ‘कोहीलाई बिनाकारण हुन्छ, केहीलाई वंशाणुगत र केहीलाई अन्य शारीरिक वा आँखाकै अन्य रोगबाट हुन्छ,’ डा. रुइतले भने, ‘समयमै पहिचान भए आँखाको ज्योति गुम्नबाट जोगाउन सकिन्छ ।’

विशेषगरी ग्रामीण भेगका बालबालिकामा कुपोषणलगायत कारणले पनि दृष्टि गुम्ने जोखिम बढेको उनको भनाइ छ । शिक्षकले कक्षाकोठामा विद्यार्थीलाई यसबारे जानकारी दिए पीडितले बेलैमा उपचार पाउने र केही हदसम्म दृष्टि जोगाउन सकिने उनले बताए । गत वर्ष जिल्लामा एकै परिवारका २ बालिकामा मोतियाबिन्दु भएको पाइएको थियो । शल्यक्रिया गरिएपछि उनीहरू अहिले स्वस्थ छन् । खासगरी बालबालिकाको आँखाको हेरविचारमा अभिभावकले चासो नराख्दा समस्या बढ्दो छ । जानकारी भए पनि बेलैमा उपचार नगराउँदा समस्या थप बढ्दो रहेको डा. रुइत बताउँछन् ।

यसैबीच, मोतियाबिन्दुले आँखाको दृष्टि मधुर भएका वृद्धवृद्धाहरूले दृष्टि फर्किएपछि अस्पतालमा खुसी मनाएको दृश्यले छुट्टै रौनक थपेको थियो । यसैमध्येमा पर्थिन् कालिञ्चोक–५ लापिलाङकी ९० वर्षीया बुधमाया थामी । अस्पतालमा धेरै मान्छे र घाम देखें भन्दै उनी नाचेकी थिइन् । उनीसँगै गौरीशंकर गाउँपालिका–४ रावाकी ८० वर्षीया विष्णुमाया श्रेष्ठ पनि खुसी हुँदै छमछम नाचेकी थिइन् ।

दोलखा आँखा अस्पतालमा मोतियाबिन्दुको शल्यक्रियासहितको शिविर राखिएपछि जिल्लाभरबाट २ सय आँखाका बिरामीले लाभ लिएका छन् । धेरैजसो बिरामी जिल्लाका दुर्गम क्षेत्रबाट आएका थिए । ३ दिनसम्म चलेको शिविरमा १ सय ६० जनाभन्दा बढीको मोतियाबिन्दुको शल्यक्रिया गरिएको छ । शिविरमा तिलगंगा आँखा प्रतिष्ठानका वरिष्ठ आँखा रोग विशेषज्ञ डा. सन्दुक रुइत र डा. सागर रुइतको टोलीले बिरामीको निःशुल्क शल्यक्रिया गरेको थियो ।

प्रकाशित : आश्विन ९, २०७८ १०:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?