२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

जसले दिइन् विद्यार्थीसँगै परीक्षा

१९ वर्षदेखि जहाँ शिक्षक छिन्, ममताले त्यहींबाट आफ्ना विद्यार्थीसँगै बसेर कक्षा १२ को परीक्षा दिएकी हुन्
रमेशकुमार पौडेल

चितवन — उमेर ४९ वर्ष, पेसा शिक्षक तर ममताकुमारी गुरुङले कुनै बेला आफैंले सानो कक्षामा पढाएका विद्यार्थीसँगै बसेर कक्षा १२ को परीक्षा दिएकी छन् । आफू जुन विद्यालयमा १९ वर्षअघि पढाउन आएकी थिइन्, त्यहींबाट उनले शुक्रबार कक्षा १२ को परीक्षा सकेकी हुन् ।

जसले दिइन् विद्यार्थीसँगै परीक्षा

‘मैले शिशु कक्षामा पढाएकै बालबच्चाहरूसँगै बसेर अघिल्लो वर्ष कक्षा ११ र यो वर्ष कक्षा १२ को जाँच दिएँ । कक्षा ११ पास भएँ । १२ को पनि परीक्षा राम्रै भएको छ । १२ पास हुने धोको थियो । ५० वर्ष नपुग्दै धोको पूरा हुने भयो,’ परीक्षा कोठाबाट बाहिरिएलगत्तै शुक्रबार उनले भनिन् ।

उनले भरतपुर–२९ जुगेडीस्थित कविलास माविबाट कक्षा १२ को परीक्षा दिएकी हुन् । उक्त विद्यालयमा उनी २०५९ देखि प्रावि तहको शिक्षकका रूपमा कार्यरत छिन् । त्यसअघि झन्डै ५ वर्षसम्म उनले जुगेडीआडको कुसुमटार प्राविमा पढाएकी थिइन् । २०७५ मा उनको जागिर स्थायी भयो । त्यसको अर्को वर्ष कविलास माविमै कक्षा ११ मा भर्ना भइन् । शिक्षा संकायअन्तर्गत नेपाली उनको मुख्य विषय हो । ‘सुरुमा त पास गर्नै सकिन्छ कि सकिन्न, आफैंले शिशुमा पढाएका भाइबैनासँग बसेर कसरी पढ्ने र परीक्षा दिने होला भन्ने संकोच थियो तर पढ्न थालेपछि यी सबै बिर्सिएँ,’ ममताले अनुभव सुनाइन् ।

उनको जन्म भारत बिहार राज्यको पूर्णिया जिल्ला गढबनैलीमा भएको हो । बाबुआमाको मूलघर धादिङ थियो । काम खोज्दै गढबनैली पुगेका बेला ममता उतै जन्मिएकी हुन् । ‘कक्षा १० सम्म त गढबनैलीमै पढें । २०४६ मा कक्षा १० पास गरेको थिएँ,’ उनले भनिन् । त्यही वर्षको हिउँदमा उनी बाबुआमासँगै नेपाल आइन् । यतै बिहेको मेसो मिल्यो । फागुन २२ मा जुगेडीका भक्तबहादुर गुरुङसँग उनको बिहे भयो । त्यसअघि नेपाल नआएकी उनी नेपाली बोल्न सक्दिन थिइन् । अझै पनि उनको बोलीमा हिन्दी लवज छुटेको छैन । ‘त्यतिबेला नेपाली सिक्नै ठूलो दुःख भयो । अहिले त नेपाली विषय लिएरै ११ र १२ कक्षा पढें । राम्रो गरेकी छु,’ उनले भनिन् । श्रीमान् भक्तबहादुर पनि शिक्षक नै थिए । १० वर्षअघि जनगणनामा खटिएका बेला बिरामी परे । त्यसपछि उनको निधन भयो । उनीहरूका दुई छोरा छन् ।

‘जीवनमा उतारचढावहरू आए । दुःखका क्षणहरू धेरै नै बेहोरियो । तर जागिर स्थायी भएपछि अलि सन्तोष भयो । अनि पढ्ने रहर जागेर आयो,’ ममताले भनिन् । कविलास माविकी शिक्षक सूर्यमाया सुवेदी ममताले पाको उमेर भए पनि पढ्ने रहर राखेर पूरा गरेको देख्दा खुसी लागेको बताउँछिन् । ममताका नेपाली शिक्षक बुद्धिमान केसी पाको उमेर भए पनि ममताले सिक्न, पढ्नमा राम्रो मिहिनेत गरेकाले परीक्षामा सफल हुने विश्वास व्यक्त गरे ।

कक्षा ११ उनले ‘सी प्लस’ ग्रेड ल्याएर पास गरेकी हुन् । परिस्थिति मिले क्याम्पस पनि पढ्ने चाहना राखेकी छन् । ‘सम्भव भए अझै पढ्न किन पछाडि पर्ने र ! तर नजिकमा क्याम्पस छैन । भरतपुर गएर पढ्न टाढा हुन्छ, भ्याइँदैन । हेरौं तैपनि के हुन्छ,’ उनले भनिन् ।

आफूले सानोमा पढाएकाहरू सँगै बसेर कक्षा ११ र १२ परीक्षा दिँदा रमाइलो लागेको उनले सुनाइन् । ‘मेरै विद्यार्थी कक्षाका साथी बने । उनीहरूले सहयोग गरे, हौसला दिए । पूरै समाजले सहयोग र हौसला दियो । त्यस्तो गाह्रो केही परेन,’ उनले भनिन् । पढ्नका लागि उमेरले छेकबार नलगाउने उनको भनाइ छ । त्यसैले मन मारेर यत्तिकै नबस्न उनले सुझाव दिइन् ।

प्रकाशित : आश्विन ९, २०७८ ०९:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?