रामेछापमा पहिरोले ३ घर पुरिए- वाग्मती - कान्तिपुर समाचार

रामेछापमा पहिरोले ३ घर पुरिए

टीकाप्रसाद भट्ट

रामेछाप — अविरल वर्षापछि आएको पहिरोले रामेछाप नगरपालिका १ गोठगाउँमा मंगलबार राति ३ वटा घर पुरिएका छन् । स्थानीय भिमप्रसाद सापकोटा, विष्णुप्रसाद सापकोटा र दधिराम सापकोटाको घर पुरिएका हुन् । 

गोठगाउँ १ को बाहुनटोल रहेका उक्त घरभन्दा माथिबाट पहिरो झरेको थियो । पहिरोले घर र घरभित्र रहेका सम्पूर्ण सामान नष्ट भएका छन् ।

प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीले घटनामा मानवीय क्षति नभएको बताए ।

रामेछाप नगरपालिकाकी उपप्रमुख सिर्जना खड्काले बुधबार पहिरोले क्षतिग्रस्त क्षेत्रको अवलोकन तथा प्राथमिक तहको राहत वितरण गरेकी छन् । रामेछाप नगरपालिकाले थप पहिरोबाट बस्ती जोगाउन पानी तर्काउने कार्य थालेको छ ।

स्थानीय दीपक सापकोटाका अनुसार पीडितहरु छिमेकीको शरण लिएर बसेका छन् ।

प्रकाशित : आश्विन ६, २०७८ १८:४१
प्रतिक्रिया
पठाउनुहोस्

बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी, बिहीबार मन्त्रिपरिषद् विस्तारको तयारी

कान्तिपुर संवाददाता

काठमाडौँ — सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ । बुधबार साँझ ६ बजेपछि गठबन्धनका शीर्ष नेताहरुको बैठक सुरु भएको हो । बैठक बिहीबारसम्ममा मन्त्रिपरिषद् विस्तार गर्ने विषयमा केन्द्रित रहेको नेताहरुले बताएका छन् । 


बैठकमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई, माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ लगायत उपस्थित छन्

गठबन्धनभित्रका नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी (जसपा) ले मन्त्री हुनेहरुको नाम नदिए पनि बिहीबार कांग्रेस र माओवादी केन्द्रलाघ सहभागी गराएर मन्त्रिपरिषद् विस्तार गर्ने तयारी छ । 'प्रधानमन्त्रीज्यूले अब पर्खिन सक्दैन । योभन्दा ढिला गर्न हुँदैन । तपाईंहरुले नाम नदिने भए हामी कांग्रेस र माओवादीबाट मात्रै भए पनि मन्त्रिपरिषद् विस्तार हुन्छ भन्नुभएको छ,' इकान्तिपुरसँग कांग्रेसका सहमहामन्त्री प्रकाशरण महतले भने ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पनि पार्टी बैठकमा बिहीबारसम्म मन्त्रिपरिषद्ले पूर्णता पाउने जानकारी गराएका छन् । बुधबार बसेको स्थायी कमिटी बैठकमा दाहालले राजनीतिक दलसम्बन्धी अध्यादेशबारे टुंगो लगाएर मन्त्रिपरिषद् विस्तार गर्नेबारे जानकारी दिइएको प्रवक्ता कृष्णबहादुर महराले बताएका छन् ।

राजनीतिक दलसम्बन्धी अध्यादेश प्रतिनिधिसभामा रहेको छ । त्यसलाई फिर्ता नलिएसम्म सरकारमा सहभागी नहुने जसपा अध्यक्ष उपेन्द्र यादवले अडान लिँदै आएका छन् ।

प्रकाशित : आश्विन ६, २०७८ १८:३७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×